काठमाडौं मल खाली गर्ने संचय कोषको तयारी, तीन सय पसल सञ्चालनमा, एक साता भित्र खाली गर्ने

बिजमाण्डू
२०७१ असोज ३० गते ००:०० | Oct 16, 2014
काठमाडौं मल खाली गर्ने संचय कोषको तयारी, तीन सय पसल सञ्चालनमा, एक साता भित्र खाली गर्ने

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । कर्मचारी संचय कोषले सुन्धारास्थित काठमाडौं मल खाली गराउने भएको छ । भाडा असुली हुन नसकेपछि कोषले मल नै खाली गराउन लागेको हो ।

Tata
GBIME
Nepal Life

कोषको यो मल लिजमा लिएका ललितपुर सानेपाका प्रवीर शम्सेर जबराले समयमै भाडा चुक्ता नगरेको भन्दै पुरै मल खाली गर्ने प्रकृया अघि बढाउन लागेको हो । यस अघि पनि पटक पटक भाडामा समस्या देखिदै आएको थियो ।

राणाले संचय कोषलाई तिर्नुपर्ने बक्यौता रकम समयमै भुक्तानी नगरेको भन्दै संचय कोषले उनीसँग २०६२ भदौ १ गते गरेको करारनामा भंग गर्दै कारबाही प्रकृया अघि बढाउन लागेको संचय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

राणाले धरौटी बापत राखेको बैंक ग्यारेन्टीबाट बक्यौता असुल गर्दासमेत बाँकी भाडा नउठेको र पटक पटक ताकेता गर्दा पनि बाँकी बक्यौता नतिरेको जानकारी कोषले दिएको छ । सम्झौता बमोजिम एक वर्षको अग्रिम भाडा वा बैंक ग्यारेन्टी पेश नगरेकाले करार भंग गरी सपिङ मल खाली गराउने प्रकृया अघि बढाइएको आचार्यले बताए ।

संचय कोषले राणाले बैंक ग्यारेन्टी बापतको १९ करोड ५६ लाख ९९ हजार नौसय ९९ रुपैयाँ आफ्नो बनाइसकेको छ । यो रकम सकार्दा पनि पुरै भाडा र एक वर्षको अग्रिम भाडा नपुगेकाले पटक पटक तिर्न ताकेता गर्दा पनि रकम नतिरेपछि कोषले विहीबार सूचना जारी गरी एक साता भित्र रकम तिर्न वा बैंक ग्यारेन्टीको व्यवस्था गर्न भनेको छ । एकसाता भित्र राणाले बैंक ग्यारेन्टी नबुझाए वा बाँकी बक्यौता नतिरे मल खाली गर्ने प्रकृया अघि बढ्ने आचार्यले बताए ।

राणाले कोषलाई करिब दुई महिनाको भाडाबापतको रकम तिर्न बाँकी रहेको संचय कोष स्रोतले जनाएको छ । स्रोतका अनुसार राणाले पछिल्लो दुई महिनाको भाडा बापत एक करोड ६० लाख रुपैयाँ तिर्नुपर्छ । यस्तै संचय कोष र राणाबीचको हिसाब किताब पुनर्जाँच गर्दा राणाले थप डेढ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको स्रोतले जनाएको छ । यो समेत जोड्दा राणाले कोषलाई करिब तीन करोड रुपैयाँ तिर्नुपर्ने संचय कोष स्रोतले बिजमाण्डूलाई बतायो ।

कोषले पटक पटक पैसा तिर्न ताकेता गर्दा राणाले नयाँ ढंगबाट चलाउछौं भनेकाले कोष केही समय चुप बसेको प्रशासक आचार्यले बताए । 'हामीले तीनसय ब्यवसायीको लगानीलाई हेरेर केही समय चुप पनि बस्यौं,' उनले भने, 'तर उहाँले भने अनुसार काम बक्यौता चुक्ता नगर्नुभएकाले हामीले प्रकृया अघि बढाएका हौं ।'

किन तिरेनन् राणाले पैसा ?
प्रवीर राणाले संचय कोषका तत्कालीन प्रशासक शशी विक्रम राणाको कार्यकालमा २०६२ साल भदौ १ गते १५ वर्षका लागि काठमाडौं मल भवन लिजमा लिएका थिए । उनले त्यतिबेला लिलाम बडाबडमा मासिक ६४ लाख ४४ हजार चारसय ४४ रुपैयाँ भाडा एकमुष्ट बुझाउने सर्तामा मल लिएका थिए । अहिले यो मलको मासिक भाडा ७४ लाख पुगिसकेको छ ।

संचय कोषको मल भाडामा लिएपछि उनले लिफ्ट जडान तथा पानीलगायतका सामग्रीको व्यवस्था गरेको भन्दै आफ्नो १२ करोड रुपैयाँ खर्च भएकाले कोषले उक्त रकम दिनुपर्ने दावी गर्दै आएका छन् । तर संचय कोषले भने उक्त रकम दिने विषय करार सम्झौतामा उल्लेख नभएकाले आफूले दिनु नपर्ने दावी गर्दै आएको छ ।

राणाले उक्त रकम पाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपनि अदालतले कोषले रकम दिनु नपर्ने गरी निर्णय गरेको कोष स्रोतले बतायो । अहिले यो मुद्दा पुनरावेदन अदालत पाटनमा विचाराधीन छ ।

'हामीलाई उक्त मुद्दाले कारबाही अघि बढाउन कुनै रोकतोक गर्दैन,' कोषका एक अधिकारीले भने, 'नियमअनुसार अघि बढेका छौं, अबको सात दिनमा उनले पैसा नबुझाए वा बैंक ग्यारेन्टी नबुझाए करार स्वत भंग हुन्छ ।'

३०० पसल के गर्ने ?
काठमाडौं मलमा तीनसय पसल तथा अरु व्यवसाय संचालनमा छन् । राणाले विहीबारको एक साता भित्र बाँकी बक्यौता चुक्ता गरी आगामी एक वर्षको अग्रीम भाडा वा बैंक ग्यारेन्टी पेश नगरे २०६२ सालको करार स्वत भंग हुन्छ ।

राणाले यो अवधिमा पैसा नबुझाए संचय कोषले भवन भाडामा दिन नयाँ प्रकृया सुरु गर्नेछ । त्यतिबेला पनि सार्वजनिक सूचनामार्फत गरी बडाबडबाट भवन भाडा दिने संचय कोषका अधिकारीले बताए ।

नयाँ प्रकृयामा जाँदा अहिले व्यवसाय गरिरहेका व्यवसायीलाई केही समस्या पर्न सक्छ । 'पछि केही समस्या नदेखियोस भन्नेमा हामी सचेत छौं,' कोष स्रोतले भन्यो, 'हामी अलि सोसल रेस्पोन्सिभ पनि छौं, अहिलेसम्म साना व्यवसायीलाई समस्या नहोस भनेर नै काम गरेका थियौं, उनीहरुको लगानी सुरक्षित हुनुपर्छ भन्नेमा हामी सचेत छौं ।'