पुँजी बजारमा फ्युचर सम्झौता जरुरी : नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७१ असोज ३१ गते ००:०० | Oct 17, 2014
पुँजी बजारमा फ्युचर सम्झौता जरुरी : नीरव पुडासैनीको लेख


अर्थतन्त्रसँग सम्बन्धित सबै विद्धानले यसको लगानी र आर्थिक सम्बृद्धिको चर्चा दिनहु जसो गर्छन् । विदेशी पुँजी भित्राउने र नेपालको अर्थतन्त्रले छलाङ मार्ने कुरा नियमित सुनिन्छ । तर के पुँजीबजारको बिकास बिना विदेशी पुँजी भित्राउन सम्भंव छ ? यो प्रश्न धेरै मननिय छ । कुनै पनि बिदेशीले अरु देशमा लगानी गर्दा सबभन्दा पहिला त्यस देशको पुँजी बजारलाई बुझ्ने कोसिस गर्छ । त्यसैले पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनिएको हो ।

Tata
GBIME
Nepal Life

हामीकहाँ पनि पुँजी बजार आधुनिकीकरण र निजीकरणमा सेमिनार तथा गोष्ठी त थुप्रै भइ सकेका छन् । तर ठोस प्रगति हुन सकेको छैन ।  एकातिर हामी बिदेशी पुँजीको रटान लगाई रहेका छौं भने अर्को तिर त्यसलाई सहजीकरण गर्ने बाटोमा मौन छौं । 
 

पुँजी बजार बिकासको लागी निजी क्षेत्रसँगको साजेदारी अति आवश्यक हुन्छ । साथै यो क्षेत्रमा लगानीका अरु सम्भावना पनि खोजि गर्ने बेला भइ सकेको छ । नेपालमा डेरिभेटीभ बजारको जग खनिसकिएको छ । त्यसकारण नेपालको सेयर बजारमा पनि यसको प्रयोग गरिनु पर्छ । सकिन्छ सरकार आफैले अग्रसरता लेओस् , होइन भने निजि क्षेत्रलाई जिम्मा दियोस् । 
 
विश्व पुँजी बजारले दशकौंं देखि प्रयोगमा ल्याइरहेको लगानीको फरक तरिका हो सेयर फ्युचर सम्झौता । सेयर बजारको दैनिक उतार चढावको आधारमा प्रत्येक सेयरको अलग—अलग वा सिङ्गो नेप्से परिसुचककै मात्र फ्युचर सम्झौता तयार गरि यसको सूरुवात गर्न सकिन्छ । फ्युचर सम्झौता साधारणतया प्रत्येक सेयरको मूल्यको आधारमा सिर्जना गरिएको हुन्छ ।

उदाहरणको लागी नेपाल ईन्भेष्टमेन्ट बैंकको फ्युचर सम्झौता सोही बैंकको दैनिक सेयर कारोवार मूल्यको आधारमा तयार गरिन्छ । फ्युचर सम्झौता एउटा निश्चित अवधि भित्र राफसाफ गरिसक्नु पर्छ । चलन चल्तिको आधारमा तिन महिनाको सम्झौता तयार गर्न सकिन्छ । 
 

सैद्धान्तिक रुपमा फ्युचर सम्झौताको मूल्य सेयरको बजार मूल्य भन्दा केहि बढि हुन्छ र सम्झौता अवधि नजिकिँदै जाँदा त्यसको अन्तर क्रमशः कम हुन्छ । त्यसको प्रमुख कारण आजको मूल्य भन्दा भोलिको मूल्य धेरै हुनु तथा माग र आपूर्तिको सिद्धान्त अनुरुप नै हो । यसैगरि यस्ता फ्युचर सम्झौता अन्तिम मिति भन्दा अगाडि पनि राफसाफ गर्न सकिन्छ ।

तर चाहिएको डेलिभरी भने सम्झौताको अन्त्यमा मात्र प्राप्त हुन्छ । यदी लगानीकर्तालाई यसको स्वामित्व लिनु छैन भने यसको मूल्य अन्तरमा मात्र पनि कारोवार गर्न सकिन्छ । त्यसकारण पनि आफ्नो स्वामित्व नभएका सेयरकामा समेत फ्यूचर सम्झौताको घट्दो मूल्य अन्तरमा लगानीकर्ताले नाफा कमाउन सक्छन् ।
 

सेयर फ्युचर सम्झौताको कारोबार हाल नेप्सेको विध्यमान कारोवारको  समय  तलिका भन्दा केही बढाएर पनि गर्न सकिन्छ । निसन्देह यसले हाम्रो पुँजी बजारको आकारलाई अझ ठूलो बनाइदिन्छ र राज्यले यसबाट धेरै तरलता प्राप्त गर्छ । फ्यूचर सम्झौताको पनि एउटा निश्चित आकार हुन्छ । जस्तै सय कित्ता सेयर बराबर एक सम्झौता । यसको कारोबारको अन्तिम मिति पहिल्यै तोकिएको हुन्छ । यो निश्चित टिक साइजको आधारमा चल्छ जस्तै २ वा ५ को गुणाको आधारमा । 
 
यि नियमले यस फ्युचर सम्झौतालाई आर्थिकरुपमा अनुशासित  गराइदिन्छन् र यसको कारोवार पनि धेरै अनुशासित हुन्छ । फ्यूचर सम्झौताको मूल्य त्यसको सेयर मूल्य भन्दा माथि हुनुको कारण फ्यूचर सम्झौतामा अन्य लागत जस्तै व्याज र कम्पनीले त्यस वर्ष प्रदान गरेको लाभांस पनि जोड्नु पर्छ । यसरी निकालिएको मूल्यको आधारमा फ्युचर कारोवार गरिन्छ ।

उदारणको लागी  नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य एक हजार छ सय रुपैयाँ छ र हाम्रो त्यस बेलाको ब्याजदर ७ प्रतिशतको छ, अब उक्त बैंकको फ्युचर सम्झौताको मूल्य १६२७.६१ को हाराहारीमा पुग्छ । त्यती मात्र होइन यदी त्यस बखत कुनै लाभांस घोषणा गरेको छ भने सो पनि त्यस सम्झौतामा जोडेर त्यस बेलाको फ्युचर मूल्य तोक्नुपर्छ । 
 

सेयर फ्यूचर को एउटा महत्वपूर्ण पाटो यसले लगानीकर्ताको आर्थिक बोझलाई कम गर्न सघाउँछ । किनभने फ्यूचर सम्झौताको सुरुमै सम्पूर्ण पुँजी लगाउनु पर्दैन । अर्थात कम पुँजीबाट ठूलो कारोवार गर्न सकिन्छ । चलन चल्तिमा ५ देखि २० प्रतिशतको हाराहारीमा प्रारम्भिक मार्जिन रकम जम्मा गरेर गर्न सकिन्छ । र यसमा समेत दोहोरो कारोवारको व्यवस्था गर्न सकिन्छ । जस्तै आफूसँग नभएको सम्झौतालाई मूल्य घट्दो अुनमानको आधारमा पहिला विक्रि गरेर पछि खरिद गरी राफसाफ गर्न सकिन्छ । 
 
यसको साथै लगानिकर्ताले आफ्नो फ्युचर कारोवारलाई राफसाफ गर्न त्यसको अन्तिम कारोवार दिनको प्रतिक्षा गर्नु पदैन । खरिद बिक्रि गरेको केहि समय पछि आफ्नो अनुकूलताको आधारमा राफसाफ गर्न सक्छन् ।

यसरी फ्युचर कारोवारमा मार्जिनको व्यवस्था हुने हुँदा यसमा जोखिम पनि साधारण सेयरमा भन्दा धेरै हुन्छ । तसर्थ लगानिकर्ता यसमा सजक हुनु पर्छ । किनभने यही मार्जिन सुविधाको कारण सेयर फ्युचर कारोवारमा अन्य साधारण कारोवारको तूलनामा धेरै गुणा बढी कारोवार हुन्छ । फ्युचर कारोवारले सेयर बजारका लगानीकर्तालाई आफ्नो जोखिम न्यूनिकरण गर्न एउटा अवसर प्रदान गर्छ । तर यसको आफ्नै जोखिमलाई भने लगानीकर्ताले विर्सनु हुँदैन ।
 

हाम्रो पुँजी बजार सँग सम्बन्धित नियामक निकायहरुले यसमा ध्यान दिन सके राज्य र लगानीकर्तामाझ धेरै ठूलो अवसर सृजना हुने थियो । यसका लागी एउटा अलग निकाय, जो निजि क्षेत्र पनि हुन सक्छ, लाई केहि अधिकार प्रत्यायोजन गर्न सकिन्छ । जस अनुसार त्यस सँस्थाले प्रत्येक एक सय वा त्यो भन्दा बढी सेयरको एउटा फ्युचर सम्झौता तयार गर्छ र सँगै त्यसको प्रारम्भिक मार्जिन पनि तोक्छ । जस्तै एबिसी कम्पनीको सेयर मूल्य तीन सय रुपैयाँ छ । जस अनुसार एक सय वटाको तीस हजार रुपैयाँ हुन आउँछ । यसको पाँच देखि २० प्रतिशत सम्मको मार्जिन तोकिन्छ र सोहि अनुसार कारोवार गरिन्छ । 
 
यसरी कारोवार गरेको सम्झौताको खरिद र बिक्रि मूल्य बिचको अन्तरको आधारमा नाफा, घाटा तय गरिन्छ । यस किसिमका लगानीका अवसरले देशको पुँजी बजारलाई चूस्त गर्नुको साथै पुँजी निर्माणमा कोसेढुङ्गा साबित हुनेछ । साथै रोजगारीका नयाँ अवसर पनि खुल्दै जानेछन् । विदेशी लगानीकर्तालाई आकर्षित गर्ने बाटो समेत सहज बन्नेछ । यसका जोखिमहरु केलाएर एबं विदेशका अभ्यासबाट सिकेर मुलुकमा यसको ढोका खोल्न अब नियामक निकायहरुले पछि पर्नु हुँदैन ।