हाइप्रोफाइल माझ योग,पूर्व प्रधानमन्त्री नेपाल निवासमा शिविर, राष्ट्रपति निवासमा पनि हुने

बिजमाण्डू
२०७१ कात्तिक १ गते ००:०० | Oct 18, 2014
हाइप्रोफाइल माझ योग,पूर्व प्रधानमन्त्री नेपाल निवासमा शिविर, राष्ट्रपति निवासमा पनि हुने


रविराज बराल/बिजमाण्डू

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गएका पाँच दिन अलि फरक ढंगले बिताए। विवाद समाधान, संविधान निर्माण, राजनीतिक छलफल र वार्ता उनको दैनन्दिनी हो। तर बितेका पाँच दिनको अनुभव उनको लागि फरक रह्‍यो।  

Tata
GBIME
Nepal Life

पतञ्जली योगपीठको संयोजनमा नेता नेपालको कोटेश्वरस्थित निवासमा असोज २८ देखि १ गतेसम्म आयोजित योग विज्ञान शिविरमा उनी नियमित सहभागी भए। हरेक दिन बिहान साढे ४ बजे नै उनी योगासनमा बसिसकेका हुन्थे। त्यसपछि सुरु हुन्थ्यो प्राणायाम, अनुलोम, विलोम र योगका अन्य आसनहरु।

नेता नेपाल, उनकी पत्नी गायत्री, नेपालका ९९ वर्षीय पिता मंगलकुमार नेपालसँगै उनका निम्तालुहरुले पाँच दिनसम्म बिहान करिब चार घण्टा नियमित योग गर्थे। नेपालका छरछिमेकी, मन्त्री, सभासदहरु, पूर्वमन्त्रीहरु र विभिन्न दलका नेताहरु योग शिविरमा सहभागी थिए। शनिवार योग शिविर समापन कार्यक्रममा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल पनि सहभागी थिए।

पाँच दिने योग शिविर समापन कार्यक्रममा नेता नेपालले आफ्नो योग अभ्यास अनुभवमात्र सुनाएनन्, उनले योगसँग अमेरिकी राष्ट्रपति बाराक ओबामालाई जोडे, उनीसँगका प्रसंग सुनाए, सबै पूर्वप्रधानमन्त्रीहरुलाई योग गराउने योजना सुनाए र नियमित योग गर्न आग्रह गरे।


योग एउटा साधना

नेपालले योगलाई एउटा साधनाका रुपमा व्याख्या गरे। 'लामो समयसम्म कष्ट सहेर मन एकाग्र राखेर कुनै सिद्धि वा सफलता प्राप्तिका लागि गरिने प्रयत्न नै साधना हो', उनले भने, 'यसले मानिसका विभिन्न सवालहरुमा ध्यानकेन्द्रित गर्छ।'

गृहिणी, प्रशासक, विद्यार्थी, सबै उमेर समूह, वर्ग, पेशा, व्यवसाय र सिंगो मानव जातिको सुस्वास्थ्य र कार्यसफलताका लागि योग उपयोगी हुने उनले आफूलाई अनुभूति भएको बताए। 'चित्त स्वच्छ, शान्त र दह्रो बनाउन पनि योग उपयोगी हुन्छ', उनले भने, 'योगलाई झन् लोकप्रिय बनाएर लैजानुपर्छ।'

ओबामाको योग रुचि

अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि योगमा रुचि राखेका छन् भन्ने आफूले सुनेको भन्दै नेपालले त्यहाँ पनि योग शिविर राखेमा अनौठो नहुने बताए।

त्यतिकैमा पतञ्जली योग पीठका सदस्यसमेत रहेका उनका भाइ सरोज नेपालले भने- 'नेपालबाट हामी नै जाँदैछौँ।'

'ऊ नेपालले नै पठाउँदैछ ओबामालाई 'कन्भिन्स' गर्न', नेपालले ठट्यौलो पारामा भने, 'मलाई भनेको भए मै कन्भिन्स गर्दिन्थेँ।' यति भनिनसक्दै नेपालले ओबामासँग भएका दुईओटा भेट स्मरण गरे। अमेरिका न्युयोर्कमा भएको भेटमा ओबामाले आफूसँग गरेको कुराकानीबाट अन्य देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु छक्क परेको नेपालले बताए।

'अमेरिकाको न्युयोर्कमा उहाँ र मबीचको संवाद देखेर पाकिस्तानका राष्ट्रपति, बंगलादेशका प्रधानमन्त्री,  फिनल्यान्डका राष्ट्रपति लगायतले तपाईँलाई त छेउ मै पो राखे भन्दै थिए', उनले सुनाए।

ओबामाले 'ओ मिस्टर नेपाल' भन्दा

ओबामाले आफूप्रति देखाएको सम्मान व्यक्तिगत रुपमा आफूप्रति नभई विश्व शान्तिका लागि नेपालले खेलेको भूमिकाका लागि भएको उनले बताए। यति भन्दाभन्दै पनि उनले ठट्टा गर्न छाडेनन्। 'हुन त म पनि नेपाल नै हो', योग अभ्यासका लागि आफ्नो आँगनमा जम्मा भएकाहरुलाई उनी हँसाइरहेका थिए।

ओबामा र उनको भेटको प्रसंग यतिमै सकिन्न। नेपालले ओबामाको स्मरणशक्तिको प्रशंसा गरे। सेप्टेम्बरमा पहिलोपटक ओबामालाई भेटेका नेपालले त्यसको तीन महिनापछि डिसेम्बर महिनामा फेरि भेटे। उनीहरुको यसपटकको भेट झन् रोचक रहेछ।

'कति सम्झना रहेछ भने उहाँलाई', उनले कुरा सुरु गरे, 'ठूलो हल थियो। उनी आइपुगे। उतैबाट फर्किन खोज्दै थिए। मैले पनि हात उठाएँ। त्यसपछि उनी 'ओ मिस्टर नेपाल!' भन्दै मेरो छेउमा आइपुगे। र, पुरानो प्रसंग सुरु गरे।'

नेपाल र ओबामाबीचको यो भेट २०६६ साल मंसिरमा डेनमार्कको कोपनहेगनमा भएको रहेछ। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय शिखर सम्मेलनमा भाग लिन गएका तत्कालीन प्रधानमन्त्री नेपालले ओबामालाई एउटा कालो पत्थर उपहार लगिदिएछन्। 'सगरमाथाको देशबाट हिउँ पो लानुपर्ने, किन कालो पत्थर? भन्नुहोला', उनले फेरि ठट्यौलो शैलीमा भने, 'मैले कालो पत्थर उपहार दिएँ। तर ओबामाले बुझिहाले। प्रकृतिमा प्रतिकूल असर पर्‍यो। हिमालको टाकुराबाट हिउँ हैन पत्थर आयो। अब हिमाल पग्लेर कालोपत्थर देखिँदैछ।'

पूर्वप्रधानमन्त्रीहरुलाई योग गराउने योजना

नेपाल आफूमात्र योगमा रमाएका रहेनछन्। उनीले सबै पूर्वप्रधानमन्त्रीहरुकहाँ योग साधना शिविर राख्नका लागि सहयोग गर्ने वचन पतञ्जली योग पीठलाई दिइसकेका रहेछन्। त्यतिमात्र हैन, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा लगायतलाई त योगका लागि सहमत नै गराएछन्।

'अब हामी सबै पूर्वप्रधानमन्त्रीकहाँ योग शिविर अभियान लिएर जाँदैछौँ। राष्ट्रपति निवासमा योग शिविर लगाएपछि समापन गर्नेछौँ', पतञ्जली योगपीठ नेपालका संयोजक सालिग्राम सिंहले भने, 'तपाईँहरु अघि लाग्नुस् म तपाईँहरुलाई सहयोग गर्छु। तपाईँहरुका पछि लाग्छु भन्नुभएको छ।'

त्यसो त यो अभियान पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासबाट गर्न चाहेका रहेछन् माधव नेपालले। चन्द सहमत पनि भैसकेका थिए तर यसकै बीचमा चन्द बिरामी भएपछि अन्यत्र लैजानुपर्ने अवस्था आएछ।  

नेपालले पूर्वप्रधानमन्त्रीहरुकहाँ मात्र नभएर मन्त्रीहरुको सरकारी निवास रहेको ललितपुर पुल्चोकमा पनि योग शिविर सञ्चालन गर्न आग्रह गरे। 'दायाँबायाँ नलागिकन देश र जनताको सेवामा उहाँहरुको मन लागोस्। त्यहाँ पनि शिविर लगाउनुस्', उनले भने।

पतञ्जली योग पीठका अध्यक्ष शम्भु दाहालले पतञ्जलीका ४० हजार योग गुरुहरुलाई नेपाललाई सफा बनाउने अभियानमा लाग्ने बताए।


'भारतलाई सफा बनाउने अभियानमा योग गुरुहरु रामदेव र बालकृष्ण पनि जोडिनुभएको छ', उनले भने, 'हामीले पनि नेपाल सफा बनाउने अभियान सुरु गरेका छौँ। हाम्रा ४० हजार शिक्षक छन्। उहाँहरु पनि सरसफाइका जुट्नुहुनेछ।'

नियमित योग गरौँ

नेपालले आफू २३/२४ वर्षको लक्का जवान हुँदा हरेक दिन योग गर्ने गरेको स्मरण गरे जतिबेला उनी कम्युनिष्ट पार्टीमा लागेको केही वर्षमात्र भएको थियो। 'यो ३३/३४ सालतिरको कुरा हो। म हरेक दिन योग गर्थेँ। पछि ब्यस्तता बढेपछि योग गर्न छुट्यो', उनले भने, 'छोड्नु हुने रहेनछ तर त्यति बेला गरेको योगले अहिलेसम्म थामिरहेको छ।'  

देशभक्तिको भावनासँग योगलाई जोडेर लैजान र सम्पूर्ण मानवजातिको हितको पक्षमा योगलाई उपयोग गर्नुपर्ने नेपालको आग्रह थियो।
त्यसो त पाँच दिनसम्म योग शिविर सञ्चालन गर्न त्यति सजिलो भने भएन। सुरुका दुई दिन मुसलधारे पानी पर्‍यो। बलेटी कसेर योगमा बसेकाहरुलाई मौसमले साथ दिएन। तर पछिल्ला तीन दिन भने योग कार्यक्रम निकै राम्रो भएको नेपालले बताए।

नेपालले भारतको नयाँ दिल्ली जाँदा पतञ्जलीका संस्थापक स्वामी रामदेवसँग भेट नभएपनि आचार्य बालकृष्णसँग कुराकानी भएको उनले बताए। 'उहाँले नेपालको विकाससम्बन्धि परियोजना बनाउँ भन्नुभएको छ', उनले भने, 'कस्तो किसिमको परियोजना स्थापना गर्दा नेपाललाई फाइदा हुन्छ भन्नेबारे सबैले सोचौँ।'