कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै कृषि बैंकको सिइओ हटाइए, जनक शाहले राखे असहमति

बिजमाण्डू
२०७१ कात्तिक २ गते ००:०० | Oct 19, 2014
कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै कृषि बैंकको सिइओ हटाइए, जनक शाहले राखे  असहमति
काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतबाट तेजवहादुर वुढाथोकीलाई बर्खास्त गरेको छ । बैंक सञ्चालक समितिले वुढाथोकीको कार्यसम्पादन चित्तवुझ्दो नभएको भन्दै शनिवार रातीको बैठकबाट बर्खास्त गर्ने निर्णय गरिएको हो । 

Tata
GBIME
Nepal Life

बैंकले वुढाथोकीको कार्यसम्पादन चित्त वुझ्दो नभएपछि छानबिनका लागि  सञ्चालक क्षेत्रवहादुर सेजुवालको नेतृत्वमा अन्य दुई सञ्चालकसहितको छानविन समिति गठन गरिएको थियो । समितिले तयार पारेको कार्य सम्पादक मूल्यांकन प्रतिवेदनका आधारमा वुढाथोकीलाई वर्खास्त गर्ने निर्णय गरिएको हो ।
 

समितिले प्रतिवेदन वुझाएपछि प्रमुख कार्यकारी वुढाथोकीसँग सात दिने स्पष्टीकरण सोधिएको थियो । उनले स्पष्टीकरणको चित्तवुझ्दो जवाफ दिन नसकेपछि सञ्चालक समितिले कार्यकाल करिव १३ महिना वाँकी छँदै उनलाई हटाउने निर्णय गरेको हो ।
 
उनलाई वर्खास्त गर्न नहुने भन्दै बैंक सञ्चालक जनक शाहले लिखित रुपमै असहमति जाहेर गरेका छन् । शाहले यसअघि वुढाथोकीको नियुक्तिको बेलामा पनि उनलाई नियुक्त गर्न हुँदैन भनेर लिखित असहमति जाहेर गरेका थिए । बाँकी सदस्यहरुले भने हटाउने बिषयमा एकमत प्रकट गरेका छन् ।
 
वुढाथोकीलाई बर्खास्त गरेपछि सञ्चालक समितिले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका बरिष्ठ नायव महाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको छ । 
 
वुढाथोकीलाई डा. बाबुराम भट्टराईको सरकारले बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । सार्वजनिक विज्ञापन गरिएको तीन दिनभित्रै उनलाई नियुक्त गरिएको थियो । 
 
बुढाथोकीले सरकारले किसानलाई मिनाहा गरेको ऋण वापतको रकमलाई नाफा देखाउँदै आफ्नो कार्यसम्पादन राम्रो भएको स्पष्टीकरण दिएका थिए ।