मूल्य घटेपनि यसपालीको धनतेरसमा कम सुन बिक्री हुने आंकलन, ३५ केजी सुन र २५० केजी चाँदी बिक्री हुने

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
काठमाडौं। सुनको मूल्य घटेपनि यसपटक धनतेरसमा कम परिमाणमा सुनको कारोबार हुने अनुमान नेपाल सुन चाँदी व्यवसायी महासंघको छ । मंगलवार धनतेरसको दिन करीब २५० केही चाँदी र ३० देखि ३५ केजी सुनको बिक्री हुने हाम्रो अनुमान छ, महासंघका बरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । उनको अनुसार गत बर्षको तुलनामा हाल सुनको मूल्यमा १० प्रतिशतले घटेपनि उपभोक्ताको क्रय शक्ति कमजोर देखिएकोले सुनचाँदीको बिक्री घट्ने देखिएको हो । 
शाक्यका अनुसार गत बर्ष धनतेरसको दिन ४० केजी सुन र २५० केजी चाँदीको बिक्री भएको थियो । तिहार लागेपछि सुनचाँदीको कारोबार भने नियमित दिनको तुलनामा बढेको छ । दैनिक २५ केजी सुनको कारोबार र दुई सय केजीभन्दा कम चाँदीको कारोबार हुने गरेको छ । आइतवार ३० केजी सुन र दुई सय केजी चाँदीको कारोबार भएको महासंघले उल्लेख गरेको छ । नेपालमा लक्ष्मी पुजाको दिन सुन, चाँदी लगायतका सामान खरिद गर्ने चलन पुरानै हो । तर ५,६ बर्षयता नेपालमा धनतेरसमा यस्ता सामान खरिद गर्ने चलन बढेको छ । 
 
भारतमा रहेको यस्तो चलन नेपालमा पनि अनुसरण गर्न थालिएको छ । भारतमा यसपटक धनतेरसको दिन (मंगलवार) स्टक मार्केट्समा सुनको कारोबारको समय थपिने भएको छ ।
त्यहाका दुवै स्टक एक्सचेज बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले समय थप्ने भएका हुन । बिहान नौं बजेदेखि तीन बजेर ४० मिनेटसम्म नियमित कारोबार चलने र साढे चार बजेदेखि सात बजेसम्म सुन (एक्सचेन्ज ट्रेडेड फण्ड गोल्ड) को कारोबार गरिने भएको हो ।  

 
सोमवार पनि सुनको मूल्य अघिल्लो दिनको भन्दा दुई सय रुपैयाँले सस्तिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा खासै अन्तर नदेखिएपनि डलरको बिनिमय (बिक्री दर) घटेकोले सुनको मूल्य घटेको महासंघले बताएको छ ।

Tata
GBIME
Nepal Life

महासंघको अनुसार आइतवार मूल्य तोक्ने समयमा अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुन एक हजार दुई सय ३८ डलरमा कारोबार भएको थियो । सोमवार भने त्यही परिमणको सुन एक हजार दुई सय ३६ डलरमा कारोबार भइरहेको छ ।