फरक हुने भयो यसपालिको तिहार – साँझमा न झिलिमिली बत्ती, न देउसीभैलो, देउसी समय २ घन्टा थप

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
फरक हुने भयो यसपालिको तिहार – साँझमा न झिलिमिली बत्ती, न देउसीभैलो, देउसी समय २ घन्टा थप

Tata
GBIME
Nepal Life

काठमाडौँ । न झिलिमिली बत्ती बल्नेछन्, न देउसी र भैलो खेलिनेछ। साँझ झिलिमिली बत्ती अनि देउसी र भैलो – नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको विशेषता हो, तर यसपालि दुवैमा रोक लगाइएको छ।

विद्युत प्राधिकरणले इतिहासमै पहिलोपल्ट तिहारको अवसरमा झिलिमिली उत्सव बत्ती बाले लाइन काट्ने चेतावनीसहित सूचना जारी गरेको छ। सूचनामा बुधबार कुकुर तिहारदेखि नै साँझ ५ बजेदेखि १० बजेसम्म विद्युत प्राधिकरणको विद्युत प्रणालीबाट घर, सडक, पसल, मलमा झिलिमिली बत्तीमात्र हैन, फ्रिज, आइरन, राइस कुकर, एसी आदि पनि नचलाउन भनिएको समाचार पहिलोपोस्ट अनलाइनले लेखेको छ ।

'अन्यथा ती उपभोक्ताहरुको विद्युत सेवा विच्छेद हुनसक्नेछ', प्राधिकरणले गोरखापत्रको पहिलो पेजमा छापेको चेतावनीयुक्त सूचनामा भनिएको छ।

पिक आवरमा बढी विद्युत खपत हुने उपकरण नचलाउन यसअघि पनि प्राधिकरणले सूचना जारी गर्ने गर्थ्यो, तर तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परालाई नै चुनौति दिँदै उपभोक्ताको लाइन समेत काट्ने धम्की भने यसअघि कुनै पनि सरकारको पालामा प्राधिकरणले दिन सकेको थिएन।

तिहारमा यसरी बल्थ्यो काठमाडौँमा बत्ती। फाइल फोटो

तिहारमा लोडसेडिङ हटेका दिन
बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा २०६९ सालमा ऊर्जा मन्त्रालय पनि भट्टराईकै मातहतमा रहेको बेला तिहारका मुख्य तीन दिन लक्ष्मीपूजा, गोवर्द्धन पूजा र भाइटीकामा लोडसेडिङ नगर्ने घोषणा भएको थियो।

त्यतिबेला तिहारका बेला कलकारखाना, उद्योगधन्दा बन्द हुने र धेरै विद्युत खपत नहुने भएकाले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजना चौबीसै घन्टा चलाएर भए पनि तीन दिन लोडसेडिङ हटाइएको थियो।

यस पटक भने विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा गएको पहिरोका कारण ६८ मेगावाट विद्युत उत्पादन न्यून भएकोलाई तिहारमा बत्ती बाल्न नदिने मुख्य कारण बताएको छ। तर तिहारका विदामा कलकारखाना र उद्योगधन्दा बन्द भएर विद्युत खपत कम हुने तथ्यमा भने आँखा चिम्लिएको छ। त्यस्तै जलाशययुक्त आयोजनालाई थप क्षमताका साथ चलाउने विकल्पमा सोचिएको छैन।

देउसीको समय ७ बाट बढेर ९ पुग्यो
उता, गृह मन्त्रालयले साँझ ७ बजेपछि देउसी भैलो नखेल्न जारी गरेको उर्दी चौतर्फी विरोधपछि समय वढाएको छ ।  शान्ति सुरक्षाको जिम्मा लिने मन्त्रालयले यसका लागि दिएको तर्क पनि अनौठो छ – 'रातको समयमा यस्ता कार्यक्रम सञ्चालन गर्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने' भएकोले।

देेउसी भैलो साँझ नै खेल्नुपर्ने भएकोले गृहको यस्तो सूचना विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। 

यद्यपि, तिहारको बेलामा गृहले यस्ता सूचना जारी गर्नु  नौलो भने होइन। खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा माधवप्रसाद घिमिरे मन्त्री छँदा गृह मन्त्रालयले यसपालि भन्दा एक घण्टा अघि अर्थात् साँझ ६ बजेपछि नै देउसी भैलो नखेल्न उर्दी जारी गरेको थियो।

स्थानीय प्रशासनले पनि आफ्नो क्षेत्रमा देउसी भैलो खेल्ने समय निर्धारण गर्ने गर्छन्। दुई वर्षअघि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले राति ११ बजेसम्ममात्र देउसी भैलो खेल्न पाउने समयसीमा तोकेको थियो।