इन्फ्रास्टक्चर बैंक स्थापनाका लागि हस्ताक्षर गर्न अर्थमन्त्री बेइजिङतर्फ, २२ मुलुक सहभागि

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014

काठमाडौं। एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि हस्ताक्षर गर्न अर्थमन्त्री डा. रामशरण महत चीन प्रस्थान गरेका छन्। आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने कार्यक्रम छ। हस्ताक्षर गर्न अर्थमन्त्री बुधबार बेइजिङ गएका हुन्।

Tata
GBIME
Nepal Life

चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न लागेका हुन। एसियाली मुलुकहरुमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकमा नेपालले पनि संस्थापक बन्ने निर्णय गरिसकेको छ।

अर्थसचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका उच्च पदाधिकारीहरुले अर्थमन्त्री डा महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे। अर्थमन्त्रीका साथमा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी पनि बेइजिङ गएका छन्।

सो बैंक स्थापनाका लागि धेरै पटक तयारी बैठकहरु भैसकेका छन् । यो बैंक सन् २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना छ। चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भैसकेको छ। अर्थमन्त्री डा महत शनिबार स्वदेश फर्किने कार्यक्रम छ।