भाषाले धोखा दियो प्राधिकरणलाई ! कर्मचारी भन्छन् ठाडो भाषाले ग्राहक रिसाए, लोडसेडिङ बढ्न सक्ने

बिजमाण्डू
२०७१ कात्तिक ५ गते ००:०० | Oct 22, 2014
भाषाले धोखा दियो प्राधिकरणलाई ! कर्मचारी भन्छन् ठाडो भाषाले ग्राहक रिसाए, लोडसेडिङ बढ्न सक्ने


काठमाडौं । तिहार लागेसँगै सरकारका दुई अंग गृह मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सामाजिक संजालमा ब्यापक आलोचना भयो। साँझ सात बजे पछि देउसी भैलो नखेल्नु भन्ने गृहको सूचना र प्राधिकरणको उत्सव बत्ती नबाल्ने अनुरोधसहितको सूचनाको चर्को विरोध भयो ।

Tata
GBIME
Nepal Life

गृह मन्त्रालयले साँझ सात बजेसम्मको सीमामा दुई घण्टा थपेर देउसी खेल्ने सयम नौ बजेसम्म बनायो । विद्युत प्राधिकरणले भने यस वर्ष भाषाले 'धोखा' दिँदा यसपाली सूचनाको व्यापक विरोध भएको जनाएको छ। प्राधिकरण स्रोतले बिजमाण्डूसँग भन्यो, 'सूचना त हरेक वर्ष आउँथ्यो तर यसपाली भने भाषा अलि ठाडो भएकाले समस्या भयो।'

प्राधिकरणले निकालेको सूचनामा बुधबार कुकुर तिहारदेखि नै साँझ ५ बजेदेखि १० बजेसम्म विद्युत प्राधिकरणको विद्युत प्रणालीबाट घर, सडक, पसल, मलमा झिलिमिली बत्तीमात्र  नभइ फ्रिज, आइरन, राइस कुकर, एसी आदि पनि नचलाउन भनिएको छ। विद्युत बढी खपत गरे लाइन काट्ने चेतावनी पनि प्राधिकरणले दिएको थियो ।

भार बढी हुना साथ स्वत फ्युज झर्छ । प्राधिकरणबाट लाइन दिँदा नै यति क्षमता भनेर उल्लेख गरिएको हुन्छ । ग्राहकले तोकिएको भन्दा बढी यम्पाएर प्रयोग गर्न पाउँदैन । तर, प्राधिकरणले ग्राहकको घरमै गएर लाइन काटिदिने खालको सूचना गर्यो् । कुन ग्राहकले कति विद्युत उपभोग गरिरहेको छ भनेर रियल टाइम जाँच्ने संयन्त्र पनि प्राधिकरणसँग छैन । प्राविधिक पक्षमा थोरै पनि विचार नगरी सूचना जारी हुँदा प्राधिकरण आलोचनाको सिकार भएको हो ।  

'हामीले सूचनामा अत्यावस्यक नपरी उच्च विद्युत खपत गर्ने उपकरण प्रयोग नगरी विद्युत खपत कम गर्न सहयोग गरिदिनुस भनेर भन्न खोजेका हौं,' स्रोतले भन्यो,'तर यसपटक भाषा अली ठाडो हुँदा भन्न खोजेको कुरा अलि फरक ढंगबाट बाहिर आयो ।'

प्राधिकरणले भने धेरै बत्ती बाल्दा स्थानीय ट्रान्सफर्मर जल्ने तथा फ्यूज जान सक्ने भएकाले त्यसतर्फ सचेत गराउन यस्तो सूचना निकाल्ने गरेको जनाएको छ। तर, बत्ती बाल्नुलाई अपराध गरे सरह हुनेगरी सूचना जारी भएको थियो ।

लोडसेडिङ बढ्न सक्ने
प्राधिकरणले तिहारको लक्ष्मी पुजाको रात १३ सय मेगावाट विद्युत माग हुने जनाएको छ। १३ सय मेगावाट माग भएपनि प्राधिकरणले आठसय मेगावाट मात्रै सप्लाइ गर्न सक्ने स्रोतको भनाइ छ । प्राधिकरणले तिहारको बेला विद्युत खपत उच्च हुने हुँदा त्यसलाई व्यवस्थापन गर्न नियमित लोडसेडिङ समयको अतिरिक्त समयमा पनि बत्ती काट्न सक्ने 'सेड्युलुसमेत तयार गरेको जनाएको छ।

प्राधिकरणले तिहारमा राष्ट्रिय प्रसारण लाइनमा करिब एकसय ३० मेगावाट विद्युत थप हुने पनि जनाएको छ। प्राधिकरणले तिहारकै लागि भनेर ९२ मेगावाटको कुलेखानी सञ्चालनको तयारी गरेको छ भने हेटौंडाको डिजेल प्लान्टबाट पनि १० मेगावाट विद्यु थप्न लागेको छ। यसका साथै विद्यु उत्पादन हुने सबै पावर प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्राधिकरणको छ।

सामान्य अवस्थामा नेपालमा करिब ११ सय मेगावाट विद्युत आवश्यक भएपनि प्राधिकरणले सातसय मेगावाट मात्रै खपत गर्न सकिरहेको छ। प्राधिकरणले अहिले हप्तामा साढे ५८ घण्टा लोडसेडिङ गर्दै आएको छ।

नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई मिटर वितरण गर्ने समयमा निश्चित एम्पिएर विद्युत खपत गर्ने गरी मिटर दिएको हुन्छ तर प्राधिकरणसँग भने ग्राहकले के कति बत्ती खपत गर्योच भनेर नाप्ने कुनै संयन्त्र छैन। ग्राहकले धेरै बत्ती बालेर घरमा जडान गरेको मिटर बक्सले त्यसको भार बहन नगरेर फ्यूज गए मात्रै बत्ती जान सक्छ तर प्राधिकरणले भने तोकिएभन्दा धेरै बत्ती बालेको भन्दै लाइन काट्ने संयन्त्र नभएको प्राधिकरणका अधिकारी बताउँछन् ।