मुहुरत ट्रेडिङ गराउने नेप्सेको दुई वर्षदेखिको लक्ष्य सफल भएन, भारतमा साँझ ७५ मिनेट कारोबार

बिजमाण्डू
२०७१ कात्तिक ६ गते ००:०० | Oct 23, 2014
विजयराज खनाल/बिजमाण्डू
 
भारतीय पुँजीबजार नेशनल स्टक एक्सचेन्ज र बम्बे स्टक एक्सचेन्जले विहीबार सार्वजनिक बिदाको दिन भएपनि करिब एक घण्टा १५ मिनेट बजार खुला गर्दै छन् । लक्ष्मी पुजाको दिन हरेक वर्ष झैं हुने मुहुरत कारोबारको लागि त्यहा केही समय बजार खुला हुन्छ ।
 
नेपालमा पनि गत वर्ष नै मुहुरत कारोबार गराउने लक्ष्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लिएको थियो । तर यस वर्ष पनि कारोवार गराउन नेप्से असफल भएको छ । ‘पोहर निकै कम समयमा योजना बनेकोले सफल हुन सकेनौं, यसपटक भने डिम्याट कारोबार गराउने प्रक्रिया चलिरहेकोले यो विषयमा ध्यान दिन सकिएन,’ नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने । 

Tata
GBIME
Nepal Life


 

गत वर्ष नेप्सेले धितोपत्र बोर्डसँग पनि यस्तो कारोबार गराउने विषयमा छलफल गरेको थियो । बोर्ड पनि यसमा सकारात्मक नै रहेको थियो । ‘हुनतः यहाँ यस्तो परम्परा नै छैन, तर सुरु गर्न नसकिने भने होइन, एक पटक कुरा चलेको पनि हो,’ बोर्डका प्रवक्ता निरज गिरीले भने । ‘सबैले आत्मसाथ नगर्दासम्म कारोबार खासै नहुन सक्छ तरपनि नयाँ ट्रेण्ड बसाउन भने सकिन्छ,’ गिरीले भने । 
 
भारतीय बजारमा पनि लक्ष्मी पुजाको दिन कारोबारको आकार भने घट्ने त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घरघरमा नै लक्ष्मी पुजा गर्ने चलन र साइत हेर्ने नेपालीहरुको बानी भएकोले बजारमा निकै कम सेयर किनबेच हुने अनुमान ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष नरेन्द्रराज सिजापतीको पनि छ । ‘यहाँ अनलाइन ट्रेडिङको सुविधा छैन्, सार्वजनिक बिदा पर्ने हुँदा लगानीकर्ताले पनि यातायातको सुविधा पनि खासै पाउँदैन्न, यसले गर्दा समस्या छ,’ सिजापति भन्छन । 
 
भारतमा रहेका गुजराती र मारवाडी समुदायको आर्थिक वर्ष दिपावलीसँगै सुरु हुन्छ । भारतका सेयर ब्रोकर कम्पनीहरुमा यिनै समुदायको बाहुल्यता रहेकाले पनि वर्षाैंदेखि त्यहाँ लक्ष्मी पुजाको दिन मुहुरत कारोबार हुँदैै आएको छ ।

यस समयमा ब्रोकर कम्पनीहरुको अगाडी रंगोली बनाइन्छन, छेपडा पुजा वा श्रद्धा पुजा पनि गर्ने चलन छ । दियो बत्तीले वा विद्युतीय बत्तीले कार्यालय पनि झिलिमिलि पार्छन । भारतीय बजारमा यस दिन कारोबारमा कमि आएपनि त्यहाँको सूचकमा भने उच्च वृद्धि देखिने गरेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । त्यस्तै, यसदिन सेयर खरिद गर्न विज्ञहरुले विभिन्न कम्पनी सुझाउँछन् । 
 

नेपाली बजारमा पनि मारवाडी समुदायको राम्रै उपस्थिति छ । यहाँको ब्रोकर कम्पनीहरु अग्रवाल सेक्युरिटीज, एबिसी सेक्युरिटीज प्राइभेट लिमिटेड, श्रीकृष्ण सेक्युरटीज र साउथ एसियन बुल्स प्राइभेट लिमिटेडका सञ्चालकहरु यही समुदायकै हुन । लगानीकर्ताहरुमा पनि मारवाडी समुदायकै बाहुल्यता रहेको ब्रोकर एशोसिएशनका अध्यक्ष सिजापती बताउँछन। 
 
‘संस्थापकको रुपमा वा सामान्य लगानीकर्ताको रुपमा सूचीकृत कम्पनीहरुमा रहेको कुल लगानीमा ५० प्रतिशत मारवाडी समुदायकै रहेको छ,’ सिजापती भन्छन । निरञ्जन कुमार टिवरेवाला र टिवरेवाला समूह, मनोज केडिया र केडिया समूह, दुगड समूह, अग्रवाल समूह, जयकिसन शारदा, सुरेन्द्र गोयल, मनोज गोयल, राकेश अडुकिया, राजेन्द्र खेतानलगायतका व्यक्तिहरु बजारमा नाम चलेका मारवाडी लगानीकर्ता तथा व्यवसायी हुन ।
 
तर यहाँकै मारवाडी समुदायलाई मुहुरत कारोबारको बारेमा थहा छैन । ‘यस्तो कारोबारको बारेमा मैले तपार्ईंबाटै पहिलो पटक थाहा पाएँ,’ बिजमाण्डुले राखेको प्रश्नमा ठुला सेयर लगानीकर्ताको परिचय बनाएका निरञ्जनकुमार टिवरेवालाले भने । तर यस्तो कारोबार गर्न सकिने र मरवाडी वाहेक अन्य समुदाय पनि यो समयमा लगानी गर्न आकर्षित हुनसक्ने टिवरेवालाको धारणा छ । नेप्सेले अर्काे वर्ष भने मुहुरत ट्रेडिङ गराउने लक्ष्य लिएको बताएको छ ।