दुई महिनामा नेपालबाट १४ अर्बको मात्रै वस्तु निर्यात, निर्यात घट्दो दरमा, व्यापार घाटा ११२ खर्ब

बिजमाण्डू
२०७१ कात्तिक ६ गते ००:०० | Oct 23, 2014

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको निर्यात ब्यापार ४.८ प्रतिशतले खस्केको छ। यो अवधिमा नेपालको निर्यात ब्यापार १४ अर्ब ४३ करोड रुपैयाँमा सिमित भएको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको यो अवधिमा नेपालको निर्यात ब्यापार १५ अर्ब १८ करोड रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार मासिक रुपमा हेर्दा भने साउनको तुलनामा भदौमा निर्यात ब्यापार १४.७ प्रतिशतले बढेको छ।

यस्तै भारतसँगको निर्यात ब्यापारमा पनि संकुचन आएको केन्द्रीय बैंकले जनाएको छ। गत वर्षको पहिलो दुई महिनामा १८.५ प्रतिशतले वृद्धि भएको भारतसँगको ब्यापार ७.६ प्रतिशतले घटेको छ।

यो अवधिमा जिंक, अलैंची, जुटका सामान, लत्ता कपडालगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात ब्यापार घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै चीनसँगको ब्यापार पनि १५.३ प्रतिशतले घटेको छ। गत वर्षको यो अवधिमा चीनसँगको व्यापार ५१.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। नेपालबाट चीनतर्फ निर्यात हुने प्रशोधित छालालगायतका वस्तुको निर्यातमा कमी आएको छ।

यस्तै अन्य मुलुकसँगको व्यापार भने ०.५ प्रतिशतले सुधार आएको छ। गत वर्षको यो अवधिमा तेस्रो मुलुकसँगको व्यापार ०.६ प्रतिशतले ह्रास आएको थियो।

नेपालबाट अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ११.७ प्रतिशतको ह्रासको विपरीत समीक्षा अवधिमा ३.३ प्रतिशतले वृद्धि भइ ५ करोड ६२ लाख डलर पुगेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात २०.९ प्रतिशतले बढेर एक खर्ब २६ अर्ब ३६ करोड पुगेको छ। गत वर्ष १५.३ प्रतिशतले बढेर एक खर्ब चार अर्ब ५४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। मासिक रुपमा हेर्दा साउनको तुलनामा भदौको आयात १६.५ प्रतिशतले बढेको छ।

कुल आयातमध्ये भारतबाट भएको आयात गत वर्षको पहिलो दुई महिनाको तुलनामा १९.१ प्रतिशतले बढेको छ। गत वर्ष भारतसँगको आयात १९.१ प्रतिशतले बढेको थियो। भारतबाट पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, चामललगायतका वस्तुको आयात बढेको छ।

यस्तै चीनबाट हुने आयात ३९.८ प्रतिशतले बढेको छ। गत वर्ष १८ प्रतिशतले घटेको चीनसँगको आयात यो वर्ष भने उच्च अंकले बढेको हो।

आयातको बृद्धिदर धेरै र निर्यात घट्दो क्रममा रहेपछि दुई महिनामै व्यापार घाटा एक खर्ब ११ अर्व ९३ करोड पुगेको छ ।