आज तिहारको पाँचौँ दिन भाइटीका मनाइँदै, उत्तम साइत ११ बजेर ३५ मिनेटमा

बिजमाण्डू
२०७१ कात्तिक ८ गते ००:०० | Oct 25, 2014

काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
 
भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा रहेको छ ।
 
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएको राससले जनाएको छ।
 
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
 
सप्तरङ्गी टीका भनेर विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा भनि उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।
 
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।
 
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको मन्दिर खुलाउने प्रचलन पनि रहिआएको छ । यो मन्दिर आजैका दिनमात्र खुल्दछ । दिदीबहिनी नहुनेहरू आज यसै मन्दिरमा गई टीका लगाउने गर्दछन् । 

Tata
GBIME
Nepal Life