त्रिभुवन विमानस्थलमा पनि कम भिजिबिलिटिमा उडान भर्ने सिस्टमसहितका एयरलाइन्स थपिंदै

बिजमाण्डू
२०७१ कात्तिक ९ गते ००:०० | Oct 26, 2014
त्रिभुवन विमानस्थलमा पनि कम भिजिबिलिटिमा उडान भर्ने सिस्टमसहितका एयरलाइन्स थपिंदै

काठमाडौं । हवाई उड्डयनमा 'रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड' (आरएनपी-एआर) प्रविधिमा आधारित भएर जहाज अवतरण गराउन छ विदेशी वायुसेवा कम्पनी इच्छुक भएका छन्।

Tata
GBIME
Nepal Life

ग्लोबल पोसिनिङ सिष्टममा आधारित रहेर उडान गरिने यस्तो प्रविधिबाट नेपालमा जहाज अवतरण गर्न फ्लाई दुबाई, मलेसिया एयरलाइन्स, टर्किस एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज र सिल्क एयर लगायतका वायुसेवा कम्पनीले रूचि देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप-निर्देशक महेशकुमार बस्नेतले जानकारी दिए।

आरएनपी-एआर भनेको जहाज जडान गरिएको जिपिएस र स्याटेलाइटमा आधारित'नेभिगेसनल' प्रणालीबाट सफल अवतरण गरिने प्रविधि हो । यो प्रणाली जडान गरेपछि स्याटेलाइटबाट प्राप्त निर्देशनअनुसार जहाज आफैं अवतरण हुन्छ ।

'यो प्रणाली अटो पाइलट सिस्टममा आधारित प्रविधि हो । आरएनपी-एआर मोडमा जहाजलाई राखेपछि पाइलटले परम्परागत तरिकाले स्विचहरु दबाइराख्नु पर्दैन,'बस्नेतले भने,' दायाँ, बायाँ, अगाडि कतै हेर्नुपर्दैन, मौसम कस्तो छ, जहाजको गति,उचाइबारे पाइलटले चिन्तै लिनुपर्दैन।'

चाहे बाक्लो कुहिरो लागेको होस् या ठूलो पानी परेर 'भिजिबिलिटी' कम भएको होस् यस्तो बेला पनि यो प्रविधिमा राखेर जहाज अवतरण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई अवतरण गर्न २ हजार ८ सय मिटर भिजिवलिलिटी चाहिने त्रिभुवन विमानस्थलको नियम छ। तर यो प्रविधिमा आधारित जहाजलाई अवतरण गर्न एकहजार १ सय मिटर मात्रै भिजिविलिटी भए पुग्छ ।

बस्नेतले भने, 'बाक्लो हुस्सु र खराव मौसमले गर्दा अहिले धेरै जहाजहरु त्रिभुव विमानस्थलमा अवतरण गर्न सक्दैनन् । तर यो प्रविधिले गर्दा जहाज डाइभर्ट गरिराख्नु पर्दैन । तर यसको लागि टावरमा भएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले स्याटेलाइट प्रणालीमा अवतरण गर्न आइरहेका जहाजलाई सहज वातावरण बनाइदिनुपर्छ।'
 
त्यसो त एटिसीले ती जहाज आउने बाटोमा अन्य जहाजलाई जान दिनु भने हुँदैन। बाँकी काम आरएनपी-एआर प्रविधि आफैंले गर्छ।
 
बस्नेतका अनुसार २०१२ अक्टोवरदेखि कतार एयरवेजले एयरबसमार्फत नेपालमै पहिलोपटक यस्तो प्रविधिबाट जहाज अवतरण गरेको थियो भने २०१४ को जुलाईबाट कोरियन एयरले पनि सो प्रविधिमा आधारित जहाज उडाउन सुरु गरिसकेको छ ।

यही अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुदेखि मलेसिया एयरलाइन्सले पनि अटो पाइलटयुक्त प्रविधिमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्नको लागि नेपाल प्राधिकरणमा निवेदन दिइसकेको छ । बस्नेत भन्छन्, 'हामीले उनीहरुको जहाजमा यो प्रविधि जडान गरेको छ कि छैन भनेर अनुगमन गरिसकेका छौँ । चाँडै मलेसिया एयरलाइन्सले आरएनपी-एआर प्रविधिमा अवतरण गर्छ ।'

उनका अनुसार यो प्रविधि जोडेर सेवा दिइरहेका वायुसेवा कम्पनीले पहिला सम्बन्धित देशको उड्डयन प्राधिकरणबाट अवतरण अनुमित लिनुपर्छ । त्यसपछि कुन देशमा यो प्रणालीबाट कुन देशमा अवतरण गर्न लागिएको हो सो देशको प्रधिकरणसँग अनुमति लिनुपर्छ ।

कतार र कोरियन एयरले सफल उडान गरेपछि नेपालमा आरएनपी–एआर प्रविधिलाई आत्मासाथ धेरै वायसेवा इच्छुक रहेका निर्देशक बस्नेतले बताए । उनका अनुसरा संयुक्त अरव इमिरेट्को वायुसेवा कम्पनी फ्लाई दुबाईले औपचारिक रूपमै प्रक्रिया अगाडि बढाइसकेको छ भने अरुले पनि छलफल गरिरहेका छन् ।

फ्लाई दुबाईले आगामी जनवरीबाट यस्तो प्रविधिमा जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्ने बताएको छ। आरआएपी–एआर एयर ट्राफिक व्यवस्थापन गर्न सहज हुने र सामान्यता मौसमको खराबीमा पनि जहाज अवतरण गराउन सकिने प्रविधि हो ।

हाल प्रयोगमा आएको जहाजको दुरी र दिशा निर्देशित गर्ने प्रणाली (राडार) को सहायताबाट हुने उडानलाई पनि आरएनपी–एआरले सहज बनाउँछ। बस्नेतले भने, 'हाम्रो परम्परागत अवतरण प्रणाली भन्दा यो निकै उत्कृष्ट छ । जसले गर्दा जहाज र यात्रु दुवै सुरक्षित हुन्छन् ।'

परम्परागत शैलीमा जहाजले राडारकै वेभका आधारिट सिधा रुटमा उडान गर्नुपर्छ भने आरएनपी–एआरको प्रविधिबाट भने डाँडाकाँडालाई छलेर उडाउन सकिन्छ । जिपिएस र स्याटलाइटको सहयोगबाट नागबेली रुटमा समेत उड्न सक्छ । बस्नेतले भने, 'यो प्रविधिमा जहाज उडाएपछि सर्प हिँडे जस्तै जहाज पनि नागबेली उड्न सक्छ ।'

आरएनपी-एआर प्रणालीमा उडेका जहाजले अब नेपाल छिरेपछि सिमराबाट सिधैँ भट्टेडाँडा आउनुपर्छ भन्ने छैन । बस्नेतका अनुसार अब ती जहाज बागमती नदी करिडोर नै करिडोर माथिबाट उडाएर एयरपोर्टमा अवतरण गर्न सकिन्छ ।

सन् २००९मा अमेरिकी मुलुकबाट सुरु भएको यस्तो प्रविधि जहाज अवतरणमा मात्र प्रयोग हुँदै आएको छ। यो प्रविधिबाट जहाज अवतरण गर्दा हवाई सुरक्षा वृद्धि,प्रविधिको प्रयोग हुने भएकोले चालक दलका सदस्यलाई सहज हुने बताइएको छ ।

आरएनपी–एआरमा जहाज अवतरण गरिएको अवस्थामा सामान्य भन्दा बढी तौल बोक्न सक्ने, इन्धनको बचतहुनुका साथै आर्थिक लाभ समेत हुन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आईकाओ)को मापदण्ड अनुसार यस्तो प्रविधि हालसम्मकै सुरक्षित र भरपर्दा भएको प्राधिकरणको भनाइ छ।

यस्तो प्रविधिलाई आत्मसाथ गर्न जहाजको  क्षमता, सम्बन्धित मुलुकले दिएको अनुमति, आरएनपीएआर सिमुलेटर (हुबहु अभ्यास)गरेको, सम्पूर्ण चालक दलका सदस्यनै तालीमप्राप्त गरी दक्ष भएको हुनुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय उडानका वायुसेवाले नेपालमा यस्तो प्रविधिको प्रयोगमा सफलता पाउनु भनेको अवतरण गर्न जोखिम विमानस्थल मध्ये एकबाट सफल पाउनु भएको पनि बस्नेतले जानकारी।

त्यसो त यो मोडमा जहाजलाई राखेपछि पाइलटको कामै नहुने भने होइन । बस्नेतका अनुसार पाइलट सक्रिय र चनाखो भने सधैँ रहिरहनुपर्छ । यो प्रणाली आन्तरिक उडान गर्ने साना जहाजमा भने हुँदैन।