नेपालमा टेलिफोन प्रयोगकर्ता करिब साढे दुई करोड, ८५ लाखले मोवाइलमा चलाउँछन् इन्टरनेट

बिजमाण्डू
२०७१ कात्तिक १० गते ००:०० | Oct 27, 2014
नेपालमा टेलिफोन प्रयोगकर्ता करिब साढे दुई करोड, ८५ लाखले मोवाइलमा चलाउँछन् इन्टरनेट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालभर विभिन्नखाले फोन प्रयोग गर्ने उपभोक्ताको संख्या करिब साढे दुई करोड हाराहारी पुगेको छ। 
प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) रिपोर्ट अनुसार सबैखाले गरी हाल नेपालमा टेलिफोन प्रयोगकर्ता दुई करोड ४८ लाख २६ हजार छ सय ८४ पुगेका छन्।
 
गत साउन महिनासम्म नेपालमा फिक्स्ड टेलिफोनतर्फ आठ लाख तीस हजार सात सय ८९ उपभोक्ता रहेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा फिक्स्ड टेलिफोन प्रयोगकर्ता घट्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७०/७१ कोसाउनमा आठ लाख ४७ हजार ६२ उपभोक्ता थिए । 
 
यो एक वर्षमा झण्डै १७ हजार उपभोक्ताले फिक्स्ड टेलिफोन सेवा हटाएको देखिएको छ । यसैगरी मोबाइलतर्फ दुई करोड २२ लाख ६५ हजार दुई सय ३६ र अन्य तर्फ १७ लाख ३० हजार छ सय ५९ ग्राहक छन्।
 
ग्राहक संख्याका हिसाबले एनसेल सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक भएको प्राधिकरणको तथ्याङ्कमा छ। 
 
एनसेल ग्राहक संख्या एक करोड १९ लाख ७० हजार छ सय १९ रहेको तथ्याङ्क छ। यसैगरी नेपाल टेलिकमका भने एक करोड १० लाख ७१ हजार दुई सय ८७ ग्राहक छन्। स्मार्ट टेलिकम प्रालिको ग्राहक ११ लाख २१ हजार एकसय छन् भने नेपाल स्याटलाइट टेलिकमको एक लाख ५० हजार ग्राहक रहेको तथ्याङ्कले देखाएको छ ।
 
नेपालका कुल जनतामध्ये ३.१४ प्रतिशतले फिक्स्ड, ८४.०३ प्रतिशतले मोबाइल र ६.५३ प्रतिशतले अन्य खाले टेलिफोन प्रयोग गर्ने गरेका छन्। प्राधिकरणको एमआइएस रिपोर्ट अनुसार नेपालमा ३३.७६ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । जसमा सबैभन्दा धेरै सरकारी स्वामित्वमा रहेको नेपाल दूसञ्चार कम्पनी लिमिटेडले हिस्सा ओगटेको छ । 
 
कूल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको  ५३ प्रतिशत उपभोक्ता छन् भने एनसेलको ४५ प्रतिशत छन् । आइएस्पिएन र युटिएलका १/१ प्रतिशत उपभोक्ता छन् । रिपोर्टमा नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने बढ्दै गएको देखिएको छ । 
 
तथ्याङ्क अनुसार कुल दुई करोड २२ लाख ६५ हजार दुईसय ३६ मोबाइल प्रयोगकर्ता मध्ये ८५ लाख १८ हजार ९४ जनाले मोबाइल मार्फत इन्टरनेट चलाउँछन् । जुन ३८.२५ प्रतिशत हुन आउँछ ।
 
गत असारमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या ८३ लाख ४१ हजार एकसय ७६ थिए ।

Tata
GBIME
Nepal Life