बिअाेके र सिटिजन्सको व्याज आम्दानी बढ्यो, खर्च घट्यो, राइट व्याक पनि कम, कर्मचारी खर्च थपिदै

बिजमाण्डू
२०७१ कात्तिक १० गते ००:०० | Oct 27, 2014

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई वटा बैंकले नाफा बढाएका छन्। त्रैमासिक विवरण सार्वजनिक गर्ने बैंक अफ काठमाण्डू (विओके) र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा बढेको छ।

Tata
GBIME
Nepal Life

अधिक तरलता भएको कारण बैंकहरुमा पैसा थुप्रिएर बसेको भनेपनि बैंकको आम्दानीमा भने यसले ठूलो असर नगरेको देखिएको छ। नाफाको बृद्धिदर थोरै भएपनि दुबै बैंकले व्याज आम्दानी नै बढाएर खुद नाफा थपेका हुन्। यस वर्ष स्प्रेड दर पनि थोरै घटेको छ।

विओकेले गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नाफा साढे चार करोड रुपैयाँ बढाएको हो। यो बैंकले तीन महिनामा १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत वर्षको पहिलो त्रैमासिक अवधिमा यस्तो नाफा १२ करोड २२ लाख रुपैयाँ थियो।

यो बैंकले व्याज आम्दानी बढाएको छ। गत वर्ष २९ करोड नौ लाख रुपैयाँ खुद व्याज  आम्दानी गरेकोमा यस वर्षको पहिलो त्रैमासिक अवधिमा ३४ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ। व्याज खर्च घटाएर खुद व्याज आम्दानी बढेको बैंकको तथ्यांकले देखाउँछ। निक्षेपमा दिने व्याज ३६ करोडबाट घटेर ३१ करोडमा सिमित भएको छ।

बैंकको राइट व्याक र प्रोभिजनिङ दुबै घटेको छ। यो त्रैमासमा बैंकले एक करोड ८० लाख रुपैयाँ सम्भावित नोक्सानका लागि प्रोभिजन गरेको छ भने जम्मा ४५ लाख रुपैयाँ राइट व्याक गरेको छ। कर्मचारीको खर्च भने तीन महिनाको अवधिमा करिब साढे करोड थपिएको छ। यो तीन महिनामा बैंकले १० करोड रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ।

बैंकमा एक वर्षको अवधिमा करिव साढे ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। असोज मसान्तसम्म बैंकमा ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ। त्यस्तै बैंकले लगानी पनि विस्तार गरेको छ। निक्षेपको तुलनामा लगानी केही कम विस्तार भएको तथ्यांकले देखाउँछ। असोज मसान्तसम्म बैंकको कुल कर्जा लगानी २८ अर्ब ९० करोड रुपैयाँ छ। बैंकको कर्जा निक्षेप अनुसार ७६ प्रतिसत छ। बैंकको बार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ छ।

सिटिजन्स बैंकले पनि पहिलो त्रैमासिक अवधिमा ६६ लाख रुपैयाँ नाफा बढाएको छ। यो बैंकको नाफाको बृद्धिदर सुस्त देखिएको छ।

यो बैंकको पनि खुद व्याज आम्दानी बढेको कारण नाफामा बृद्धि देखिएको हो। यो बैंकले सात करोड २७ लाख रुपैयाँ खुद व्याज आम्दानी बढाएको छ। यसले नाफा बढाउन सघायो। व्याज खर्च घटेको र व्याज आम्दानी बढेको कारण खुद व्याज आम्दानीमा सकारात्मक प्रभाव परेको हो। विदेशी विनिमयको कारोबारमा नाफा घटेको छ भने फि, कमिशनमा नाफा थोरै बढेको छ।

बैंकले यो अवधिमा राइट व्याक गरेको छैन। सम्भावित नोक्सान व्यहोर्न नौ करोड ६७ लाख रुपैयाँ प्रोभिजन गरेको छ। यो बैंकको पनि कर्मचारी खर्च चार करोड २२ लाखबाट बढेर पाँच करोड ३९ लाख रुपैयाँ पुगेको छ।

बैंकले एक वर्षको ६ अर्ब ३३ करोड रुपैयाँ बढाएर २९ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै कर्जा लगानी पनि २४ अर्ब ९७ करोड रुपैयाँ पुग्यो। बैंकको कर्जा निक्षेप अनुपात ७६.६१ प्रतिसत छ। बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा छ।