प्याजपछि आलुले रुवायो उपभाेक्तालाई, मुल्य धार्नीको दुई सय नजिक, अझै दुई महिना भाउ नघट्ने

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014
प्याजपछि आलुले रुवायो उपभाेक्तालाई, मुल्य धार्नीको दुई सय नजिक, अझै दुई महिना भाउ नघट्ने

काठमाडौं । बजारमा नयाँ आलु आए पनि खुद्रा ब्यापारीहरुले आलु अझै दुईसय रुपैयाँ धार्नीमा बेचिरहेका छन्। थोक ब्यापारीहरुले आलुको भाउ घट्न थालेको बताए पनि उपभोक्ता भने अझै महँगोमा आलु किन्न बाध्य छन्। केही महिना अघि प्याजको भाउ यसैगरी उच्च विन्दुतिर पुगेको थियो ।

Tata
GBIME
Nepal Life

आलुको कारोबार गर्दै आएका व्यवसायी महेन्द्र धितालले अहिले काठमाडौंमा थोक आलुको मूल्य घट्न थालेको बताए। उनले थोकमा अहिले आलुको मूल्य ५५ रुपैयाँ किलो पर्ने भएपनि खुद्रा ब्यवसायीहरुले भने अझै महँगोमा आलु बेचिरहेको बताए।

'अहिले पनौति, मुलपानीलगायतका ठाउँबाट आलु बजार भित्रिएकाले थोरै भाउ घटेको छ,' धितालले भने, 'अहिले आलु थोकमा एकसय ३० रुपैयाँसम्म धार्नीको पर्छ, तर खुद्रामा भने एकसय ८० सम्ममा कारोबार भइरहेको छ।'

कालीमाटी, बल्खुलगायतका थोक बजारमा आलु धार्नीको ८०/९० मा ब्यापार भएको समयमा समेत खुद्रा ब्यापारीहरुले धार्नीको दुईसयमा आलु बेचेका थिए ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक टिकाराम शर्माले आलुको भाउ अझै दुई महिनासम्म नघट्ने बताए। 'नेपालमा आलु धेरै उत्पादन हुने भनेको मंसिरदेखि फागुनसम्म हो,' शर्माले भने, 'नेपाली आलु बजारमा नआएसम्म भाउ घट्ने संभावना छैन।'

धान खेती हुने अधिकांश क्षेत्रमा भर्खरै धान काट्ने मौसम भएकाले पनि अब आलु रोपेर त्यसको उत्पादन बजारमा आउन कम्तिमा दुई महिना लाग्छ । त्यसैले यो अवधिमा भाउ घट्न कठिन हुन्छ ।

समितिका अनुसार गत बुधबार ५५ रुपैयाँ प्रति किलो रहेको रातो आलुको मूल्य बुधबार ४० रुपैयाँ छ। यस्तै बल्खु तरकारी बजारमा पनि बुधबार रातो आलुको मूल्य ४० रुपैयाँ प्रतिकिलो नै रहेको छ। यस्तै गत बुधबार सेतो आलु ६० रुपैयाँ किलोमा कारोबार भएकोमा यो बुधबार ३५ रुपैयाँमा किलोमा थोक कारोबार भइरहेको छ।

भुटानी आलु आउन छोड्यो
दशैं सकिएलगत्तै काठमाडौंको बजारमा भुटान तथा भारतबाट आलु आयात हुन छोडेको व्यापारीहरुले बताएका छन्। व्यवसायी महेन्द्र धितालले दशैं पछि भारतीय तथा भुटानी आलु काठमाडौं नभित्रिएको बताए। भारतमा पनि केही समय अघि आलु निकै बढेको थियो ।

धितालका अनुसार अहिले काठमाडौंको बजारमा नेपाली नयाँ आलु भित्रिएको छ। 'अहिले काठमाडौंमा नेपाली नयाँ आलु नै पाइन्छ,' उनले भने, 'अब भारत र भुटानको आलु अर्को वर्षा याममा मात्रै आउँछ।'