नेपालको जलस्रोतमा लगानीको अवसर नगुमाउन चौधरीको आग्रह, फोर्ब्स सिईओ कन्फ्रेन्सलाई सम्बाेधन

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014

काठमाडौ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा सामान्य जोखिम लिएर लगानी गर्नेले जोखिमको तुलनामा उच्च मुनाफा हासिल गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

बुधबार सिंगापुरमा आयोजित 'फोर्ब्स ग्लोबल सिईओ कन्फ्रेन्स'मा बोल्दै अध्यक्ष चौधरीले बाहिरबाट हेर्दा केही फरक महशुस गरिए पनि नेपाल लगानीका लागि उपयुक्त गन्तब्यमा परिणत भईसकेको जानकारी अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई गराए।

'कुनै समय श्रीलंकामा यस्तै जोखिम महशुस गरिन्थ्यो। तर, जसले त्यो जोखिम उठाएर लगानी गरे उनीहरु श्रीलंकामा पहिलो श्रेणीका लगानीकर्ताका रुपमा स्थापित भएका छन्', अध्यक्ष चौधरीले भने, 'अहिले नेपालको अवस्था पनि त्यस्तै हो। जसले सामान्य जोखिम लिएर लगानी गर्छ उसले उच्च मुनाफा हासिल गर्नेछ।' विगत द्वन्दको समयमा नेपालमा लगानी विस्तार गर्नेहरुले त्यसको प्रतिफल पाईरहेको उनले बताएको ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विकसित मुलुकहरुमा लगानीको वातावरण सहज भए पनि प्रतिफल न्युन रहेको उदारहण प्रस्तुत गर्दै अध्यक्ष चौधरीले उच्च प्रतिफल हासिल गर्न सकिने देशका रुपमा नेपाल रहेकाले यो अवसरलाई नगुमाउन पनि विश्वका लगानीकर्ताहरुलाई आव्हान गरे।

अध्यक्ष चौधरीले नेपालको जलस्रोतमा लगानी गर्ने महत्वपूर्ण समय आएकोे जानकारी गराउदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई यस क्षेत्रमा लगानी केन्द्रित गर्न विशेष आग्रह गरे। नेपाल र भारतबीच हालै विद्युत् ब्यापार सम्झौता (पिटिए) सम्पन्न भएपछि नेपालमा उत्पादन हुने विजुलीको छिमेकमै विशाल बजार तयार भएकाले ठूला लगानीकर्ताहरुका लागि यो निकै आकर्षक समय रहेको उनले बताए।

माथिल्लो कर्णाली जल विद्युत् आयोजना विकासका लागि भारतीय कम्पनी जिएमआरसँग विद्युत् विकास सम्झौता (पिडिए) भईसकेको र निकट भविष्यमा केही मेगा प्रेजेक्टहरुको पिडिए हुने वातावरण तयार भएको जानकारी पनि उनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई गराए। नेपालको जलस्रोतमा लगानीका लागि विगतको तुलनामा सन्तोषजनक सुधार आएको पनि उनले बताए।   

कार्यक्रममा सिंगापुर, मलेसिया, म्यानमार, इन्डोनेशिया लगायत मुलुकका ख्यातीप्राप्त उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको थियो। अध्यक्ष चौधरी नेपालका एक मात्र फोर्ब्स अर्बपति हुन्।

नेपाल आर्थिक विकासमा लम्किदै गरेको केही ठोस प्रमाणहरु प्रस्तुत गर्दै अध्यक्ष चौधरीले नेपाललाई अब हिजोकै आँखाले नहेर्न पनि विश्व समुदायलाई आग्रह गरे। 'काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाक, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र रक्सौल– अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण प्रकृया अगाडि बढ्नु केही यस्ता संकेत हुन् जसले नेपालको आर्थिक गतिलाई नयाँ अध्यायमा प्रवेश गराउनेछन्', अध्यक्ष चौधरीले भने, 'नेपाल निकट भविष्यमा आर्थिक विकासमा ठोस उपलब्धी गर्दै दक्षिण एसियामा एक उदीयमान अर्थतन्त्रमा रुपान्तरण हुनेछ।'