एओसी नपाउँदा दुई महिना देखि थन्कियो सौर्यको जहाज, दैनिक पाँच लाख १८ हजार पार्किङ शुल्क

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014
एओसी नपाउँदा दुई महिना देखि थन्कियो सौर्यको जहाज, दैनिक पाँच लाख १८ हजार पार्किङ शुल्क

काठमाडौं । उडान सञ्चालन अनुमति (एओसी) नपाउँदा निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको एउटा जहाज झण्डै साढे दुईमहिनादेखि पार्किङमा थन्किएको छ ।

Tata
GBIME
Nepal Life

बम्बार्डर कम्पनीद्वारा निर्मित क्यानेडियन रिजनल जेट टीआरजे २०० सिरिजको ५४ सिटे यो जहाज त्रिभुवन विमानस्थलमा दुई महिना देखि त्यत्तिकै थन्किएको हो । सौर्यले गत भदौं २ गते जहाज नेपाल ल्याएको थियो ।

 

एओसी नपाएपछि यो जहाजलाई दैनिक पाँच लाख १८ हजार आठ सय १२ रुपैयाँ पार्किङ शुल्क तिरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क विनियामावली २०६७ अनुसार नेपाली वायुसेवा कम्पनीले एओसी पाउनु भन्दा पहिले जहाज ल्याएमा दैनिक प्रतिकेजी ३७ रुपैयाँ ५० पैसाको दरले पार्किङ शुल्क तिर्नुपर्ने उल्लेख छ ।

सौर्यले ल्याएको सो जहाज १३ हजार आठ सय ३५ किलो छ । यो हिसाबमा बुधबारसम्ममा सौर्यले विश्राम शुल्क वापत मात्रै तीन करोड ३१ लाख छ हजार आठ सय ७५ रुपैयाँ तिरिसकेको छ ।

यो वायुसेवाले दशैँ लगत्तै माउन्टेन फ्लाइटसहित विराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी र भद्रपुरमा उडान गर्ने बताएपनि प्राधिकरणबाट एओसी नपाउँदा त्यत्तिकै थन्किएको छ ।
 
एओसी पाउन गाह्रो
नेपाली वायुसेवालाई युरोपेली युनियन (इयू)ले कालोसूचीमा राखेपछि नेपालमा नयाँ वायुसेवाले उडान सञ्चालन अनुमति (एओसी) दिन कडाइ गरिएको छ । यही कारण नयाँ आएका एयरलाइन्सले एओसी पाउन कठिन भएको हो । इयुले गत वर्षको मंसिर तेस्रो साताबाट नेपाली वायुसेवालाई कालोसूचीमा राखेको थियो ।

नेपालमा दर्ता भएका वायुसेवाले एओसी पाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पाँच वटा चरण पार गर्नुपर्छ । सौर्यले भर्खर तेस्रो चरण पार गरेकोले अब चाँडै नै एओसी पाउने हवाइ उड्डयन सुरक्षा विभागले जनाएको छ ।

प्रि एप्लिकेशन, फर्मल एप्लिकेशन, डकुमेन्ट इभ्यालुएसन, डेमोन्स्ट्रेसन तथा इन्पेक्सन र सर्टिफिकेसन चरण पारगरेपछि मात्रै वायुसेवा कम्पनीले एओसी पाउँछन् ।

प्राधिरणका अनुसार सौर्यले डकुमेन्ट इभ्यालुएसन चरण पार गरेको छ । सुरक्षा विभागमा उप प्रवन्धक विष्णु नेपालका अनुसार डेमोन्स्ट्रेसन तथा इन्पेकस्न र सर्टिफिकेसन चरण पार गर्न एक महिना जति लाग्छ । त्यसपछि सौर्यले एओसी पाउँछ ।

प्राधिकरणका अनुसार नियमित काम भएर र सबै विवरण उपलव्ध गराउँदै गयो भने सौर्यले एओसी पाउन एक महिना अझै कुर्नुपर्ने छ ।

इयुले कालोसूचीमा राखेपछि प्रक्रियागत हिसाबमा काम गर्नु भएकोले समउ धेरै लागेको विभागका एक कर्मचारीले बताए । उनका अनुसार पहिला केही हप्तैमा हुने काम अहिले महिनादिन लाग्ने गरेको छ । त्यही भएर पनि नयाँ आउने वायुसेवा कम्पनीले एओसी पाउन समय लाग्छ ।
 
हिमालय एयरलाइन्सले आगामी पुसमा मात्रै उडान सुरु गर्ने

हिमालय एयरलाइन्सले गत मंगलबारबाट नै उडान गर्ने तयारी गरेको भएपनि प्राधिकरणको नयाँ नियम अनुसार सबै प्रक्रिया पूरा गर्न थप समय लाग्ने भएपछि उडान तालिका पर धकेलेको छ ।

हिमालय एयरलाइनसले एओसी पाउन थप दुई महिना थप लाग्ने जनाएको छ । हिमालय एयरलाइन्सका एक निर्देशक सुमन पाण्डेले भने, 'आवश्यक प्रक्रिया पूरा गर्ने काम द्रुत गतिमा गरिहेका छौं।'

हिमालयले सन् २०१५ को जनावरी अन्तिम साताबाट उडान गर्ने गरी नयाँ कार्यतालिका तयार पारिरहेको छ । विभागका अनुसार एओसी पाउने पाँचवटा चरण मध्ये दोस्रो चरण पार गरेर भर्खर तेस्रोमा लागेका छ।
 
'तेस्रो चरण भनेको हामीले दिएको डकुमेन्ट प्राधिकरणले मूल्याङक गर्ने र त्यसपछि थप काम अगाडि बढाउन निर्देशन दिने समय हो' निर्देशक सुमन पाण्डेले भने । हिमालयले राजधानीको गैह्रीधारामा कार्यलय राखेर काम सुरु गरिसकेको छ ।

यती इन्भेष्टमेन्ट ग्रुपले हिमालय एयरलाइन्सको नामबाट अन्तर्राष्ट्रिय उडान गर्नको लागि चिनियाँ वायुसेवा कम्पनी तिव्वत एयरलान्ससँग साझेदारी गरेको छ।

साढे दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको दिएको हिमालय एयरमा ५१ प्रतिशत नेपाली कम्पनी यती वर्ल्डको र एचआइएफको र ४९ प्रतिशत तिव्वत एयरलाइन्सको लगानी छ ।