काठमाडाै‌मा दुईदिने पूर्वाधार सम्मेलन हुने, पूर्वाधारमा विदेशी लगानी भित्रिने विश्वास

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014
काठमाडाै‌मा दुईदिने पूर्वाधार सम्मेलन हुने, पूर्वाधारमा विदेशी लगानी भित्रिने विश्वास
काठमाडौं। नेपालको पूर्वाधार पविकासमा विदेशी लगानी भित्र्याउने उद्देश्यले काठमाडौंमा दुई दिने नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिषंघ सिएनआईले कात्तिक २५ र २६ गते पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो।

नेपालमा पूर्वधार विकासको क्षेत्रमा लगानी हुन नसकिरहेको अवस्थामा त्यसलाई माथि उठान सकिन्छ भन्ने उद्देश्यले यो सम्मेलनको आयोजना गर्न लागिएको सिएनआईका वरिष्ठ उपाध्यक्ष एवं सम्मेलन स्टेरिङ कमिटीका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।

Tata
GBIME
Nepal Life

नेपालमा पूर्वाधार विकासको अवस्था निकै कमजोर रहेको भन्दै शर्माले यसलाई दक्षिण एसिया स्तरको बनाउनु पर्नेमा जोड दिए। 'पूर्वाधारको विकास निकै पछि परेको छ र नेपालमा पूर्वाधारमा लगानी पनि कम भइरहेको छ,' शर्माले भने, 'यसलाई दक्षिण एसिया स्तरको बनाउनु पनि सम्मेलनको उद्देश्य हो।'

नेपालमा नीतिगत सुधार नहुँदा लगानी भित्रिन नसकेको भन्दै शर्माले सम्मेलनको जोड त्यसतर्फ पनि हुने उनको भनाइ थियो। 'नेपालमा नीतिगत सुधार हुन नसक्दा विदेशी लगानी आउन सकेन,' शर्माले भने, 'नेपालको विकास कम्तिमा पनि भारतको तह जस्तो हुनुपर्छ।' नेपालको पर्यटन, सडक तथा रेलमार्ग, कृषि तथा ऊर्जा क्षेत्रमा पूर्वाधारमा लगानी भित्रिन सकेमात्रै देश समुन्नत हुने उनले बताए ।

सिएनआईका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले सम्मेलनमा स्वदेशी तथा विदेशी गरी चारसयभन्दा धेरैको सहभागिता रहने जानकारी दिए। सम्मेलनमार्फत नेपालका लगानीकर्तालाई विदेशी भएका लगानी तथा विकासका बारेमा जानकारी दिइने र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सक्ने क्षेत्रका विषयमा जानकारि दिइने बस्न्यातले बताए।

सम्मेलनमा भारत, चीन, जापानलगायतका देशका सरकारी निकायका प्रतिनिधि तथा विकास साझेदार निकायहरुको सहभागिता रहने उनले जानकारी दिए।

'नेपालमा पूर्वाधार विकासको क्षेत्रमा विदेशी लगानीकर्तालाई यहाँको वातावरणबारे जानकारी गराउनु हाम्रो उद्देश्य हो,' बस्न्यातले भने, 'हामीले यो वर्ष सुरु गर्न लागेको अभियान वर्षै पिच्छे कुनै न कुनै रुपमा अघि बढाउने छौं।'
२००७ देखि २०१२ सम्मको अवधिमा नेपालको पूर्वधार क्षेत्रमा निजी क्षेत्रको लगानी जिडिपीको ०.६६ प्रतिशत मात्रै रहेको भन्दै बस्न्यातले यो दक्षिण एसियाकै सबैभन्दा कम भएको बताए।

नेपालमा पूर्वाधारको क्षेत्रमा लगानीको अन्तर उच्च रहेको भन्दै बस्न्यातले यो अन्तरलाई कम गर्न पनि विदेशी लगानीमा जोड दिनु अत्यावश्यक भएको बताए। नेपालमा व्यवसायिक वातावरणमा सुधार आएका प्रतिवेदन सार्वजनिक भए पनि व्यवहारिक रुपमा लगानी बढ्न नसकेकाले सम्मेलनले त्यसलाई चिर्ने उनले बताए।

दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन्। सम्मेलनमा अर्थमन्त्री डा रामशरण महत, ऊर्जा मन्त्री राधा ज्ञवाली, भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल, उद्योगपति विनोद चौधरीलगायतले नेपालमा लगानी र विकासबारे धारणा राख्नेछन्। यस्तै सम्मेलनमा भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले पनि विशेष संबोधन गर्ने कार्यक्रम छ।