नेपालमा लगानीको वातावरण बनेको सन्देश अमेरिका पुर्‍याइदिन अर्थमन्त्री महतको आग्रह

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014
नेपालमा लगानीको वातावरण बनेको सन्देश अमेरिका पुर्‍याइदिन अर्थमन्त्री महतको आग्रह
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको सन्देश अमेरिकी लगानीकर्तासमक्ष पुर्‍याइदिन अमेरिकी राजदूतलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयमा अमेरिकी राजदूत पिटर डब्लु बोडेसँगको भेटमा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । 
 
महतले नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व कायम भएको र लगानीको वातावरणमा उल्लेख्य सुधार भएको भन्दै विदेशी लगानी आउन थालेको जानकारी बोडेलाई गराएका थिए ।
 
नेपालमा जलविद्युतको क्षेत्रमा लगानीको वातावरण राम्रो भएको भन्दै अर्थमन्त्री डा महतले भारतसँग बिद्युत व्यापार सम्झौता भइसकेकोले उत्पादित विद्युतको ठूलो बजार प्राप्त हुने भएकोले यस क्षेत्रमा ढुक्कसँग लगानी गरी लाभ लिन सकिने बताए । 
 
लगानीकर्तालाई सहज वातावरण बनाउन सरकारले तीन दर्जन कानुनहरुमा सुधार गर्ने व्यापक तयारी गरिरहेको महतले जानकारी दिए । महतले संसदको आउँदो अधिवेशनले ती बिधेयकहरु पारित गर्ने बताए । 
पछिल्लो समयमा लगानीको वातावरणमा भएको सुधारबारे अन्तर्राष्ट्रिय निकायहरुले समेत प्रतिवेदनहरु सार्वजनिक गरिरहेको उनको भनाइ थियो । 
 
भेटमा राजदूत बोडेले एमसीसीमार्फत सहयोगको लागि आफूले सदासयतापूर्वक आफ्नो सरकारसमक्ष कुरा राख्ने जानकारी दिए । नेपालमा भैरहेको राजनीतिक तथा आर्थिक प्रगति र विकासका घट्नाक्रमलाई सकारात्मक भन्दै राजदूत बोडेले बिद्युत व्यापार सम्झौता र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौताले राम्रो सन्देश दिएको उल्लेख गरे ।
 
संविधान समयमै बन्ने गरी भैरहेको तयारीबारे पनि उनले आफूलाई उत्साहित बनाएको उल्लेख गरे । नेपालमा अहिले लगानीको वातावरण राम्रो भएको भन्दै राजदूत बोडेले आगामी दिनमा थप लगानी आउने आशा व्यक्त गरे । 

Tata
GBIME
Nepal Life