लुक्ला र बेसक्याम्पमा सुटिङ गरिएको भारतकै महँगो सिरियल ‘एभरेस्ट’ आजदेखि प्रसारण हुने

बिजमाण्डू
२०७१ कात्तिक १७ गते ००:०० | Nov 3, 2014
लुक्ला र बेसक्याम्पमा सुटिङ गरिएको भारतकै महँगो सिरियल ‘एभरेस्ट’ आजदेखि प्रसारण हुने

काठमाडौँ :  नेपालको लुक्ला र सगरमाथा आधार शिविरमा समेत सुटिङ गरिएको हिन्दी भाषाको टेलिशृङ्खला ‘एभरेस्ट’ आजदेखि स्टार प्लस च्यानलमा प्रसारण हुँदैछ।

Tata
GBIME
Nepal Life

लगान, स्वदेश, जोधा अकबर जस्ता चर्चित हिन्दी फिल्महरुको निर्देशन गरेका आशुतोष गोवारिकरले निर्माण गरेको यो टेलिनोभेलाको निर्देशन ग्लेन बारेटो र अंकुश मोहलाले गरेका हुन्।

पिताबाट अपहेलित एक छोरी अन्जलीले उनलाई नै देखाउन उनी सफल हुन नसकेको सगरमाथाको शिखर चुम्ने लक्ष्य बोकेको कथा यसमा छ।

१०० भागको यो सिरियलका मुख्य अंश ५ हजार ३ सय ६० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरमा सुटिङ गरिएको थियो। यसका केही अंश भारतकै ३ हजार ७ सय मिटर उचाइमा रहेको डोक्रियानी ग्लेसियरमा पनि खिचिएको छ।

गोवारिकरको यो पहिलो टेलिभिजन प्रोडक्सन हो। फिल्ममा अट्न नसक्ने भएकोले उनले टेलिभिजन फरम्याटमा यसलाई बनाइएको उनले बताएका छन्।

‘तपाईँलाई अचम्म लाग्छ होला किन मान्छेले हिमाल आरोहण गर्छ। हिमालको शिखरमा पाइला टेक्दा के पाइन्छ? वास्तवमा पाइने भित्री सन्तुष्टि हो। यो भित्री सन्तुष्टिलाई कसरी स्क्रिनमा देखाउने? यही सन्तुष्टिलाई नाटकीय रुपमा देखाउन हामीले ड्रामा र युवतीको कथालाई जोडेका छौँ,’ उनले टाइम्स अफ इन्डियासितको अन्तर्वार्तामा भनेका छन्।

एआर रहमानले पहिलो पटक टेलिभिजन सिरियलका लागि संगीत भर्दा यही सिरियल छानेका छन्।  

महँगो लगानी, महत्त्वाकांक्षी योजना

नयाँ महाभारत, सत्यमेव जयते जस्ता फरक किसिमका शोका साथ दर्शकको ध्यान तान्न भरमग्दुर प्रयास गरिरहेको स्टार प्लसले यसै क्रममा १०० भागको यो सिरियलमा लगानी गरेको हो।

स्टार प्लसका जनरल मेनेजर गौरव बेनर्जीले यसलाई भारतीय टेलिभिजनकै सबैभन्दा महँगो  र अरु कुनै पनि शोभन्दा ठूलो स्तरको भएको दावी गरेका छन्।


किन लाग्यो त यति धेरै लगानी?

उच्च हिमाली क्षेत्रमा गरिएको सुटिङले नै यसको लगानी आकाशिएको हो। सगरमाथा आधार शिविरसम्म पुग्न एक्लो ज्यानलाई पनि धेरै खर्च लाग्छ।

सुटिङका क्रममा १०० जना जतिको समूह थियो जसलाई पर्वतारोहणको बारेमा कुनै पनि अनुभव थिएन। मुम्बईबाट भान्सेहरु लगेर सय जना जति शेर्पाहरुलाई खानेकुरा र अरु बन्दोबस्तीका सामान ओसार्नेदेखि लिएर भैपरी आउने केही अवस्थाका लागि चिकित्सकहरु समेत तयारी अवस्थामा राखिएको थियो।

हाइ अल्टिच्युडमा भएकोले दिनमा बढीमा चारदेखि पाँच घण्टामात्र सुटिङ गर्न सकिन्थ्यो। यसले सुटिङ गर्ने समयअवधि पनि बढेको थियो।
स्टार प्लसले यो महत्त्वाकांक्षी सिरियलका लागि सिनेमा हलहरुमा विज्ञापन समेत प्रसारण गरेको थियो। भारतीय सिनेमा हलहरुमा शाहरुख खानको ह्यापी न्यु इयर प्रदर्शनका क्रममा साढे दुई मिनेटको विज्ञापन देखाइएको थियो।

आधार शिविरका गजबका दृश्य

गोप्रो क्यामेराहरु र फोरके क्यामेरा उपयोग गरी खिचिएको सिरियलमा लुक्ला र सगरमाथा क्षेत्रका यस्ता दृश्यहरु छन् , जसले ती ठाउँ नपुगेका दर्शकलाई लोभ्याउनेछ।  

यसले सगरमाथाप्रति चासो बढाउने र पर्यटनमा सहयोग पुग्ने आशा पनि गरिएको छ।

यसै पनि लोन्ली प्लानेटले सार्वजनिक गरेको सन् २०१५ मा घुम्नै पर्ने विश्वको उत्कृष्ट दश क्षेत्रमा नेपालको खुम्बु क्षेत्र पनि परेकै छ।  
 
एभरेस्टको प्रसारण सोमबारदेखि स्टार प्लसमा नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ। (फोटो साभारः एभरेस्टको फेसबुक पेज)