बै‌कलार्इ अहिले लिकमा ल्याएका छाै‌, माछापुच्छ्रे बैंकका सिईओ तुलसीराम गौतमको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ कात्तिक ३० गते ००:०० | Nov 16, 2014
बै‌कलार्इ अहिले लिकमा ल्याएका छाै‌, माछापुच्छ्रे बैंकका सिईओ तुलसीराम गौतमको अन्तर्वार्ता
पुँजी वृद्धिका लागि हामीसँग चार उपाय छन् । एउटा कमाएर पुँजी थप्दै जाने, अर्को पुँजी राम्रो भएको संस्थालाई मर्ज गर्ने । थप उपाय भनेका उपाय ऋणपत्र र हकप्रद सेयर विक्री गर्ने । हामी अहिले तीन विकल्पमा अघि बढेका छौं ।  गतवर्षको नाफाबाट बोनस सेयर दिंदैछौं, त्यसपछि हकप्रद सेयर जारी हुन्छ, अर्को भनेको ५० करोडको ऋणपत्र पनि जारी गर्छौं । चौथो विकल्प मर्जमा गत बर्ष पनि हामीले केही ‘एक्सरसाइज’ गरेको हौं, हुन सकेन । अहिले हामीलाई त्यस्तो हतारो छैन  

ऋण लगानीको ब्याजमा पनि हामीले ‘केस टु केस’ गएर ब्याज घटाएका छौं । सबैको घटाएका छैनौं । आज एउटालाई ब्याज घटायो, भोली अर्कोलाई घटायो । घटाउन त घटाउँछौं तर सबै पाँच हजार ऋण खातालाई नघटाएर दुई/तीन सयको हाराहारीमा घटाएका हुन्छौं । यसले पनि मार्जिन बढेको हुन्छ

बैंकमा सुधार धेरै भएको छ । बैंकले ‘लिक’ छोडेको थियो, अब ‘लिक’मा आइसकेको छ । दुई बर्षमा ब्यापार बढेर ३० अर्ब पुगिसकेको छ । अघिल्लो बर्षभरीको १५ करोड नाफा हामीले अहिले एक क्वाटरमै १९ करोड कमाउन थालेका छौं । अहिले हामी ठाडो बृद्धिमा छौं । म यति भन्न सक्छु, अबका दिनमा लगानीकर्ता निरास हुनु पर्दैन, उत्साहजनक हुनेछ

अन्तर्राष्ट्रिय व्यापार गर्न एउटा लोकल बैंकले भ्याउँदैन । एउटा बैंकसँग मात्र गरेर पनि पुग्दैन । अन्तर्राष्ट्रिय व्यापार गर्नका लागि धेरै वटा बैंकसँग सहकार्य गर्नु पर्छ । त्यसमध्येको एउटा आइसिआइसिआइ बैंक हो । अहिले बजारमा भ्रम के परेको छ भने, माछापुच्छ्रे बैंकले आइसिआइसिआइ बैंकलाई संयुक्त लगानीका रुपमा नेपाल ल्याउन लागेको छ भनेर । पाँच/सात बर्षपछि के हो म भन्न सक्दिन तर तत्कालै साझेदारका रुपमा ल्याउन लागेको भन्ने विषय गलत हो


स्ट्याण्डर्ड फाइनान्स माछापुच्छ्रेमा मर्ज भएपछि दुई परिवर्तन भए, एक थियो स्ट्याण्डर्ड फाइनान्सबाट माछापुच्छ्रेमा लगानीकर्ताका रुपमा उपेन्द्र महतो समूहको प्रवेश, त्यसको केही समयपछि दोस्रो परिवर्तन भयो, व्यवस्थापनमा तुलसीराम गौतम । लगानीकर्ता र व्यवस्थापनको ट्युनिङ यस्तोसँग मिल्यो लामो समय समस्यामा परेको बैंकले दुई वर्षमै चमत्कारिक परिवर्तन गर्यो । घाटामा रहने बैंक नाफामा जान थाल्यो, कहिल्यै लाभांस नदिएको बैंकले पहिलोपटक १२ प्रतिशत बोनस सेयर प्रस्ताव गर्यो । अघिल्लो वर्षभरिमा जति नाफा थियो, त्यो अहिले एउटा त्रैमासमा छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले प्रश्न सोधे सञ्चालक र व्यवास्थापनको के त्यो ट्युनिङले आगामी दिनमा अझ फरक नजिताहरु आउलान् ?

Tata
GBIME
Nepal Life

चालु बर्षको पहिलो क्वाटर (साउनदेखि असोजसम्म) को व्यालेन्सिट निकै राम्रो आयो । के के प्रगति भएछन् ?
पोहोर यतिबेलाको नाफा छ करोड रुपैयाँ थियो । पुरानोसँग तुलना गरेर हेर्दा निकै राम्रो भएको हो । तर कम्पनीको कारोबार आकार, व्यवसाय विस्तारसँग तुलना गरेर हेर्दा ठिकठिकै भएको हो । अहिलेको नाफा वृद्धि नियमित व्यवसायबाट भएको हो । यसपालीको नाफामा एउटा पुरानो सम्पति बिक्री गरेका कारण पनि बृद्धि भएको छ । अब आगामी दिनमा नियमित कारोबारबाट पनि यतिको आम्दानी हुनेछ ।

व्यापारको आकार भनेपछि निकै बढेको छ ?
हो, व्यापारको आकार बढेको छ । धेरै कमाइ हुने भनेको ऋण लगानीबाटै हो । आजको दिनमा ३० अर्ब ७० करोड रुपैयाँको हाराहारीमा ऋण लगानी गरेका छौं । यसले गर्दा व्याजको आम्दानी बढेको छ ।

पछिल्लो समय स्प्रेडका कारण बैंकको ब्याज आम्दानी घट्न सक्छ भन्ने प्रतिक्रिया आइरहेका थिए । यसका बाबजुद पनि तपाईलगायत अन्य बैंकको पनि ब्याज आम्दानी बढेकै देखिन्छ ?
पहिलो कुरा त व्यवसाय बढेको छ अर्थात कर्जा लगानी बृद्धि भएको छ । अर्को मुद्दति निक्षेप वाहेक अरुको ब्याज घटाउन सकिन्छ । ऋण लगानीको ब्याजमा पनि हामीले ‘केस टु केस’ गएर ब्याज घटाएका छौं । सबैको घटाएका छैनौं । आज एउटालाई ब्याज घटायो, भोली अर्कोलाई घटायो । घटाउन त घटाउँछौं तर सबै पाँच हजार ऋण खातालाई नघटाएर दुई/तीन सयको हाराहारीमा घटाएका हुन्छौं । यसले पनि मार्जिन बढेको हुन्छ । कहिले काँही केही समय नउठेको ब्याज अर्को क्वाटरमा उठ्यो भने पनि ब्याज आम्दानी बृद्धि भएको देखिन्छ । समग्रमा भन्दा कर्जा विस्तार भएका कारण ब्याज आम्दानीमा बृद्धि भएको हो ।

माछापुच्छ्रेसँग केही बर्षदेखि निरन्तर एभ्को इन्टरनेशनल जोडिएर आइहाल्छ । अहिले त्यो ऋणको स्टाटस कस्तो छ ?
‘पर्टिकुलर क्लाइन्ट’को कुरा नगरौं । यसलाई पुराना खराव ऋणीहरु भनेर हेरौं । त्यो ऋणमा प्रगति भएको छैन । हामीले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेका छौं । पैसा उठेको छैन ।


अस्ति लिलामीमा पनि निकाल्नु भएको छ ती कम्पनीको गाडीहरु । त्यसमा के प्रगति भयो ?
ती गाडीहरु अझै पनि भारतमै छन् । त्यो यता ल्याउन सकिएको छैन । हामीले त्यसलाई लिलाम पनि गर्न सकेका छैनौं र ऋणीले पनि त्यसलाई सकारेको अवस्था छैन ।

बैंकको आकार वढ्यो, कारोबार बढ्यो, नाफा पनि बढ्यो तर बैंकको पुँजी बढ्न सकेन । अहिलेको पुँजीबाट कारोबार विस्तार गर्न पुग्छ ?
यसमा चार वटा उपाय छन् । एउटा कमाएर पुँजी थप्दै जाने भन्ने हो । अर्को  पुँजी राम्रो भएको संस्थालाई मर्ज गर्ने हो । गत बर्ष पनि हामीले मर्जरका लागि केही ‘एक्सरसाइज’ गरेको हौं । अर्को उपाय ऋणपत्र र हकप्रद सेयर विक्री गर्ने भन्ने हो । यसमध्ये तीन वटा विकल्पमा हामी गएका छौं ।
गत बर्ष कमाएको ४५ करोड रुपैयाँ पनि बैंकको पुँजी नै हो । हामीले गत बर्षको नाफाबाट १२ प्रतिशत वोनस सेयर दिने निर्णय गरिसकेका छौं । त्यससँगै हामीले भर्खरै मात्र २० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्ने निर्णय गरेका छौं । साधारणसभाबाट पारित भएपछि हामी हकप्रद विक्री गर्छौं । भोलीका लागि कारोबर वढाउँदै जानु पर्ने अवस्था आउँछ भनेर हामी ऋणपत्र जारी गर्ने योजनामा छौं ।
हामीले सात बर्ष अवधिको ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने योजना बनाएका छौं । राष्ट्र बैंकसँग स्वीकृति माग गरेका छौं । सबै प्रकृया सकेर आउँदा आगामी छ÷सात महिनामा हामी ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छौं । यसबाट पनि कारोबार विस्तार गर्न पुँजीको रुपमा परिचालन गर्न सकिन्छ ।
हामीले अहिले बृद्धि गरेको पुँजीले कारोबार बढाउन सकिन्छ । जति पुँजी छ त्यसको १० गुणा व्यापार गर्न सकिन्छ । हकप्रद, वोनस सेयर, ऋणपत्र र अहिलेकै चुक्ता पुँजी र रिजर्भबाट हामी कारोबार विस्तार गर्न सकिन्छ । अहिले हाम्रो दुई अर्ब ४७ करोड पुँजी छ । अब वोनस सेयर, हकप्रद दिएपछि पुँजी थप वढ्छ । त्यसपछि पनि ५० करोडको डिबेन्चर जारी गरेपछि पैसा थपिन्छ ।

बैंकले निकै बर्षपछि बल्ल १२ प्रतिशत वोनस सेयर प्रतिफल घोषणा गरेको छ । लगानीकर्ताको तर्फबाट हेर्दा उनीहरु माछापुच्छ्रे बैंकबाट निकै निरास भएका थिए । अब नियमित हुन्छ ?
बैंकमा सुधार धेरै भएको छ । बैंकले ‘लिक’ छोडेको थियो, अब ‘लिक’मा आइसकेको छ । दुई बर्षमा ब्यापार बढेर ३० अर्बको पुगिसकेको छ । अघिल्लो बर्षभरीको १५ करोड नाफा हामीले अहिले एक क्वाटरमै १९ करोड कमाउन थालेका छौं । अहिले हामी ठाडो बृद्धिमा छौं ।
यो बर्ष १२ अर्को बर्ष १८ भन्ने अवस्थामा म छैन । त्यो भन्न पनि मिल्दैन । यति भन्न सकिन्छ, अबका दिनमा लगानीकर्ता निरास हुनु पर्दैन, उत्साहजनक हुनेछ । म आफै पनि सन्तुस्ट छ । यति समयमा अझ बढी गर्न सकिन्थ्यो होला तर जति गरियो त्यो सन्तोषजनक छ । अब ठूलो ‘स्केल’मा जाने योजना छ ।


तपाईहरुको सञ्चालकले पाँच बर्षभित्र टप फाइभ बैंक हुन्छौं भन्नु भएको थियो । तपाई आफैले पनि यस्तो अन्तर्वार्ता दिनु भएको थियो । योजना सार्वजनिक भएकै करिव करिव दुई बर्ष भइसकेको छ । टप फाइभ पुग्ने योजना के हो ?
लक्ष्य ठूलै राख्नु पर्छ । हामीले असम्भव लक्ष्य राखेको पनि होइन । म आउने वित्तिकै ‘टप फाइभ’मा पु¥याउने भनेका हौं । त्यस बेला सञ्चार माध्यममा ३२ वटा बैंकमध्ये हामीलाई २८ नम्बरको स्थान दिइएको थियो । अहिले बैंक ३० मा घटेका छन् । असोजसम्मको विवरण हेर्दा हामी सातदेखि नौं अर्थात १० भन्दा तल आइसकेका छौं ।
व्यापार, नाफाका हिसावले अहिले हामी १० स्थानभन्दा तलनै छौं । दुई बर्षमा २८ बाट १० भन्दा तल आइसकेका छौं भने अझै तीन बर्ष बाँकी छ । यो तीन बर्षमा हामी ‘टप फाइभ’मा पर्न सक्छौं । हामीभन्दा केही बैंक निकै ठूला छन् लगभग दोब्बर ठूला । उनीहरुलाई तत्काल भेट्छौं भन्ने होइन । तर तीन बर्षको अवधिमा धेरै बढ्न सकिन्छ । हामी त्यहीअनुसार अगाडि वढिरहेका छौं ।
फेरी पनि हामीले विशेष, उल्लेख्य केही गर्छौ भन्ने होइन । यहीँ भएको कुरालाई हामीले राम्रो तरिकाले सेवा दिने हो । ग्राहकमैत्री सेवा दिएर नै हामी टप फाइभमा पर्न खोज्ने हो । छुट्टै सेवा प्रडक्ट भन्ने होइन । त्यही सेवालाई छिटो छरितो तरिकाले दिन हामी लागिरहेका छौं । हामी सहजै उपलब्ध हुन्छौं । कसैले हामीलाई भेट्न खोज्यो भने सजिलै भेट्न पाउँछ । हामी बढीभन्दा वढी ग्राहकमैत्री छौं । यही नै हाम्रो विशेषता पनि हो ।

एभ्कोका कारण बैंक निकै बर्षसम्म समस्यामा देखियो । कति बर्षपछि बल्ल लगानीकर्ताले लाभांस पाउँदैछन् । अहिले व्यवसाय ह्वात्त बढेको छ । व्यापार बढ्नुमा बैंकमा ख्याति प्राप्त प्रमोटरको कतिको भूमिका हुने रहेछ ?
म आउँदा पुराना खराव ऋणहरु सत् प्रतिशत नोक्शानी व्यवस्था गरेर, ऋणको हरहिसाव वासलातबाट हटाइ सकिएको थियो । बैंकमा त्यसको अब कुनै तुस बाँकी छैन । अब त्यो पैसा नउठे पनि बैंकलाई केही फरक पर्दैन तर उठ्यो भने नाफामा देखाउन पाइन्छ ।
मर्जर भएपछि कर्मचारी थपिए, शाखा थपियो । यसले पनि कारोबार विस्तार भएर गयो । मर्जरसँगै केही ख्याति प्राप्त प्रमोटरहरु पनि थपिए । व्यवस्थापन परिवर्तन भयो । सबै कुराबाट बैंकको ‘आउटलुक’ नै परिवर्तन भयो । यी सबै कारणले गर्दा बैंकको व्यवसाय विस्तार भएको हो । अहिले बैंक पूर्ण रुपमा अगाडि वढिरहेको छ ।

अघि पुँजी बृद्धिमा मर्जर पनि विकल्प हुन सक्छ भन्नु भएको थियो । त्यो विकल्पमा हामी अगाडि वढिरहेकै छौं ?
जुन स्केलमा हाम्रो व्यापार वढिरहेको छ त्यसलाई अहिलेको पुँजीले पुग्दैन । त्यही भएर अन्य विकल्पमा जानुपर्छ भनिएको हो । त्यही विकल्पमध्ये मर्जर पनि एउटा हो भन्न खोजेको हो । हामीले आन्तरिक रुपमा छलफल पनि गरेका हौं । तर यो संस्थासँग मर्जरमा जाने भन्ने केही पनि भएको छैन । नहुन पनि सक्छ । तर हामी मर्जर हुँदैन पनि भन्दैनौं भोलीका दिनमा हुन पनि सक्छ । पुँजी बृद्धिको अन्य विकल्पमा गइसकेकाले मर्जरमा त्यस्तो हतार भने अब छैन ।


भनेपछि पुँजी वाहेक अरु कारणले मर्जरको आवश्यकता देख्नु हुन्न ?
पुँजी बृद्धिको योजनामा हामी गइसकेका छौं । अरु कारण भनेको अहिलेलाई शाखा सञ्जाल हो । अहिले हाम्रो आफ्नै ५६ वटा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । चाँडै सात वटा शाखा विस्तार गर्दैछौं । नयाँ थपिएपछि ६३ वटा शाखा पुगिहाल्छ । व्यापारिक केन्द्र सबैतिर हामी पुगिसकेकै छौं ।
अब यसभन्दा तल जाने कि नजाने भन्ने हो । त्यो तल भनेको गाउँ हो । हिजो कृषि विकास बैंकका तीन सय वटा पनि शाखा थिए होलान् । शाखा खोलेर मात्र भएन त्यसलाई आत्मनिर्भर बनाएर राख्न पनि सक्नु पर्छ । अहिलेको शाखा हामीलाई काफी छ त भन्दिन तर यसले अहिलेलाई हामीलाई पुग्छ । हरेक बर्ष चार÷पाँच वटा शाखा वढाइहाल्छौं । सञ्जालका कारणले मर्जर हामीलाई आवश्यकता छैन ।

माछापुच्छ्रे बैंकमा अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएका सञ्चालक तथा प्रवद्र्धक छन् । एक पटक एक जना सञ्चालकले त आइसिआइसिआइ बैंकलाई भित्राउन पहल भइरहेको छ पनि भन्नु भएको थियो । त्यो प्रकृया कहाँ पुगेको छ ?
अन्तर्राष्ट्रिय व्यापार गर्न एउटा लोकल बैंकले भ्याउँदैन । एउटा बैंकसँग मात्र गरेर पनि पुग्दैन अन्तर्राष्ट्रिय व्यापार गर्नका लागि धेरै वटा बैंकसँग सहकार्य गर्नु पर्छ । त्यसमध्येको एउटा आइसिआइसिआइ बैंक हो । अरु पनि केही बैंकहरु छन् ।
अहिले बजारमा भ्रम परेको छ माछापुच्छ्रे बैंकले आइसिआइसिआइ बैंकलाई जोइन्ट भेन्चर (संयुक्त लगानी) का रुपमा नेपाल ल्याउन लागेको छ भनेर । पाँच÷सात बर्षपछि के हो म भन्न सक्दिन तर तत्कालै साझेदारका रुपमा ल्याउन लागेको भन्ने विषय गलत हो । विदेशमा भएको व्यापारलाई अझ वढाउने भनेर सहकार्य गर्न लागेको पक्कै हो ।

आइसिआइसिआइ बैंकसँग कस्तो खालको सहकार्य गर्न लाग्नु भएको हो ?
हामीले मात्र होइन अरु बैंकले पनि गरेका होलान् । एउटा आइसिआइसिआइ मात्र होइन अरु बैंकसँग पनि यस्ता सहकार्य भइरहेका छन् । व्यापार, रेमिटेन्स र ठूला परियोजनामा लगानी गर्नका लागि सहकार्य गर्न खोजेका हौं । ठूला परियोजना आए भने हामीले मात्र सक्दैनौं । त्यस बेला उनीहरुबाट पनि लगानी गराउन सकिन्छ । अहिलेलाई हामी  रेमिटेन्समा संयुक्त रुपमा काम गर्दैछौं । आईीसआईसिआई मात्रै होइन् रेमिट्यान्सका लागि साउदी अरबको बैंकसँग पनि काम गर्दै छौं ।

जोइन्ट भेन्चरमा जाने तपाईहरुको योजना त हो नि ?
हामी सँधै खुला छौं त्यसका लागि । तर आइसिआइसिआइ बैंकसँग जोडिएर तत्काल हुनेजस्तो हल्ला छ नि त्यो चै गलत हो ।

यो बैंकसँग उपेन्द्र महतो जोडिनु भएको छ । उहाँ भएका कारणले पनि कुनै न कुनै विदेशी बैंकहरु जोइन्ट भेन्चरका रुपमा भित्रिन्छन् भन्ने छ । आइसिआइसिआइको कुरा सार्वजनिक हुनु । केही त पक्का भइरहेको छ नि ?
उहाँहरुको व्यक्तिगत सम्बन्धका कारण वाहिरका बैंक नआउने भन्ने होइन । आउँछन् । उहाँहरु मूख्य प्रबद्र्धक पनि हो । उहाँहरुका कारण कतै सम्भावना छ भने पहिल्याउनका लागि बाटो पनि खुलेको छ । तर बाहिरको ठूलो बैंक नेपाल आउनका लागि यहाँको वातावरण पनि हेर्छ । यहाँ आएर लगानीको वातावरण हुनु प¥यो । उनीहरु यहाँ ठूला आयोजना आए भने आउन सक्छन् । उनीहरु बजार पहिल्याएर मात्र आउने हुन् ।

यी बैंकसँग रेमिटेन्स सेवा कहिलेबाट सुरु हुन्छ ?
केही बैंकहरुसँग त भइनै रहेको छ नि । तर नयाँ ढंगबाट के गर्न सकिन्छ भनेर हामी पनि हेरिरहेका छौं । यो फाइनल चरणमा छ । यसमा कानुनी कुराहरु पनि आउने रहेछ । त्यहाँको सरकार, केन्द्रीय बैंकबाट स्वीकृति लिनु पर्छ । हामी कहाँ पनि प्रकृया पुरा गर्नु पर्छ । तर यो अन्तिम चरणमा छ । धेरैमा एक दुई महिना लाग्ला ।

आइसिआइसिआइमा रेमिटेन्स मात्र त पक्का होइन । जोइन्ट भेन्चर नभए पनि अरु नै खालको सहकार्य होला नि ?
पक्का पनि । नेपालमा दुई सय मेगावाटको आयोजना आयो । त्यसका लागि हामीले मात्र लगानी गर्न सक्दैनौं । त्यो बेला आइसिआइसिआइको पैसा लगानी गर्न सकिन्छ । हामी उसको नेपालस्थित एजेन्ट भएर काम गर्न सक्छौं । यसरी लगानी गरिरहेका धेरै वटा बैंक छन् । अहिले हामीले आइसिआइसिआइ बैंकसँग राम्रो सम्बन्ध बनाउन सक्यौं भने यहाँका ठूला आयोजनामा लगानीका लागि पहल गर्न सकिन्छ ।


पछिल्लो चरणमा अधिक तरलताको कुरा आइरहेको छ । तर लगानीतिर हेर्दा भने एउटा सामान्य खालको आयोजनामा पनि धेरै वटा बैंक मिलेर पैसा लगाउनु पर्ने अवस्था छ ?
तरलता हुँदैमा लगानी गर्न सकिन्छ भन्ने होइन । ऋण लगानी भनेको पुँजीसँग पनि जोडिन्छ । तरलता नहुँदा लगानी गर्न सकिन्न तर तरलता हुँदैमा लगानी गर्न सकिन्छ भन्ने होइन । हामीले कुल प्राथमिक पुँजीको ५० प्रतिशत मात्र जलविद्युत् आयोजनामा लगानी गर्न सक्छौं । पैसा छ भन्दैमा लगानी गर्न सकिँदैन । लगानीको सीमा छ । फेरी ठूलो लगानी एउटै आयोजनामा लगाउनु पनि भएन । त्यहाँ जोखिमलाई पनि हेर्नु पर्छ । हामीसँग करिव करिव दुई सय ५० करोड पुँजी छ । हामीले एक अर्ब १५ करोड एउटा आयोजनामा लगानी गर्न सक्छौं । तर हामी त्यत्रो लगानी एउटै आयोजनामा गर्दैनौं । हामी २०/३० वा ५० करोडसम्म जान्छौं । यसमा जोखिम मूल्यांकन पनि गर्नु पर्छ ।

अहिले हामीसँग तरलताको अवस्था कस्तो छ ?
अधिक तरलताको अवस्था छैन । तर तरलता कम हुँदा जुन किसिमले विभिन्न ऋणपत्र तथा बैंक ब्याज दर वढ्नु पर्ने हो त्यो पनि वढेको छैन । तर केही महिनाअघिजस्तो अधिक भने छैन ।

कर्जाको माग बढेको हो ?
माग भनेको सिजनल पनि हुन्छ । कतिपय समूदायले वर्षामा लगानी गर्दैनन् । यहीबेला ठूला चाडपर्व पनि पर्छन् । यो बेला खासै लगानीको माग हुँदैन । हिउँद लागेपछि पक्का पनि माग बढ्ने गरेको छ । तर अहिले ठूला परियोजनाका लागि ऋण माग भएको छैन । अस्पताल, शिक्षा क्षेत्रमा वाहेक लगानीको माग आएको छैन । औद्योगिक क्षेत्रमा त माग नै छैन । कही समयअघि सिमेन्टमा माग थियो ।
जलविद्युत्मा माग छँदैछ । तर यसमा पैसा जान समय लाग्छ । अहिले भनेको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको माग भइरहेको छ । सानातिना मदिरा उद्योगमा अलिअली कर्जाको माग आएको छ । बिजुली नभएका कारण पनि माग नआएको हुन सक्छ । कुनै पनि परियोजना सुरु गर्दा सुरुमै विजुली आवश्यक पर्छ । त्यही भएर पनि होला ।