सार्कका लागि ४४ वर्षपछि मुहार फेर्दैछ सभा गृह

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
सार्कका लागि ४४ वर्षपछि मुहार फेर्दैछ सभा गृह
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । राजधानीको प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृह (सिटी हल)को मुहार फेर्न लागेको छ । ४४ वर्ष अघि नेपाली इन्जिनियरको डिजाइनमा बनेको यो भवनले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सम्मेलनको पूर्वसन्ध्यामा मुहार फेर्न लागेको हो ।
 
आगामी मंसिर १० र ११ गते हुन लागेको सार्कको १८ औं शिखर सम्मेलन त्यहाँ गरिने भएपछि अहिले दर्जनौँ कामदारले मर्मतसम्भार, रंगरोगन, कार्पेटिङ र सरसफाई गरेर हललाई सिंगारपटार गरिरहेका छन् ।

Tata
GBIME
Nepal Life

संसदको चित्त बुझेन
 

राष्ट्रिय सभा गृह (सिटी हल) ले सार्क सम्मेलनका कारण पुनर्जन्म त पाएको छ तर यहाँको संरचना चित्तबुझ्दो नदेखिएको ठहर संसदीय समितिले गरेको छ।

आइतबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्कको तयारीबारे अध्ययन गर्न सभासद् बलबहादुर केसीको संयोजकत्वमा गठित शान्ति सुरक्षा तथा भौतिक व्यवस्थापन अध्ययन, अनुगमन उपसमितिले धेरै कमजोरी औँल्याएको छ।

बिहान छ बजेदेखि मध्यरात १२ बजेसम्म काम गरेर छिट्टै हललाई चिरिच्याट्ट पारेर परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी द्रुत गतिमा काम भइरहेको सार्क शिखर सम्मेलन कार्यान्वयन ईकाइका प्रमुख काशी गुप्ताले बताए ।

उनका अनुसार हलको ९० प्रतिशत काम सक्किसकेको छ । उनले भने, 'हामी चाँडै सबै काम सकेर परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गर्ने छौँ ।'

जीर्ण अवस्थामा रहेको हललाई छोटो समयमा मर्मतसम्भार गर्न निकै गाह्रो भएपनि भनेको समयमा नै काम सकिने उनले बताए । उनका अनुसार हलको मर्मतसम्भारको काम गएको भदौ महिनादेखि मात्रै सुरु गरिएको हो । उनले भने, 'छोटो समयमा काम गरे पनि हामीले अन्तर्राष्ट्रिय सम्मेलन गर्न सकिने स्ट्यान्डर्डको बनाएका छौँ ।'
 
यसको लागि अर्थ मन्त्रालयले २४ करोड ३१ लाख रुपैयाँ उपलब्ध गराएको थियो । अत्यावश्यक काम गर्दा जम्मा २१ करोड रुपैयाँ खर्च भएको गुप्ताले जानकारी दिए ।

यो रकम सिटी हल र सिंहदरबारभित्र रहेको संसद भवनको ग्यालरी 'रिनोभेसन'को लागि हो । सिटी भवनको लागि करिव १६ करोड रुपैयाँ खर्च हुनेछ भने संसद भवनको ग्यालरी मर्मतको लागि करिव पाँच करोड रुपैयाँ खर्च हुने छ ।

भवन निर्माण सम्भार डिभिजन कार्यालयका वरिष्ठ इन्जिनियर समेत रहेका गुप्ताका अनुसार काम चाँडै सकाउन दुई सिफ्टमा धमाधम काम भइरहेको छ । उनले भने, 'आवश्यकता अनुसार राति २ बजेसम्म पनि हामीले काम लगाएका छौँ ।'

 

उनका अनुसार सिटी हलमा साढे दुई सय र ग्यालरीमा करिव एक सय जना कामदारले काम गरिरहेका छन् ।
 
सिटीहलको भित्र रंगरोगन, एसी जडान, इलेक्ट्रिफिकेसन, सिसी क्यामरा जडान, कार्पेटिङ, टिभी जडान, फर्निसङ, चेयर राख्ने काम पुरा भइसकेको छ ।

भवन बाहिरको रंगरोगन कार्य, फाउन्टेन मर्मत, जेनेरेटर जडान,  पब्लिक ट्वाइलेट निर्माण र नयाँ होल्डिङ रुम तयार बनाइसकिएको छ । उनले भने, 'सिटी हलमा पाँचवटा प्याकेज बनाएर काम गरिएको थियो । छोटो समयमा काम गर्न कठिन भएपनि र चुनौतीसँगै काम गरेर देखाउने अवसर मिलेको छ।'

उनका अनुसार सिटी हलमा प्रत्येक देशका राष्ट्राध्यक्षलाई दुई तीन मिनेट रिफ्रेस गराएर बल्ल हल भित्र लाने गरी रिफ्रेस कोठा तयार पारिएको छ । जसलाई होल्डिङ रुम भनिएको छ । यहाँ चिया वा कफिको सुविधा पनि छ । होल्डिङ रुममा आरामदायी र उच्च गुणस्तरको सोफा राखिएको छ ।
 
राष्ट्राध्याक्ष र उनको स्क्वासको लागि छुट्टाछुट्टै कोठा बनाइएको छ । उनले दुईवटा रुममा महिला र पुरुषको लागि ट्वाइलेटको व्यवस्था समेत गरिएको बताए ।

गुप्ताले यहाँ प्रयोग गरिएको सबै सामाग्रीहरु स्थानीयस्तरमा नै तयार पारिएको जानकारी दिए ।

सिटी हलमा पाँचसय दुई डेलिगेडट्स अट्न सक्ने गरी सिटहरु राखिएको छ । जसमा सबैभन्दा अगाडिको लाइनमा राष्ट्राध्यक्षको स्क्वासहरुको लागि आठ, बीचमा मन्त्रीलाई आठ र विदेशी अवलोकनकर्ताहरुको लागि नौ वटा गरी २५ वटा सिट फ्रान्टमा तयार पारिएको छ ।

जिर्ण अवस्थामा रहेको भवन अगाडिको फाउन्टेनलाई पनि नयाँ बनाइएको छ । रंगीन फोहोरा फाल्ने गरी २७ वटा नोजल राखेर फाउन्टेन तयार पारिएको छ । उनले भने, 'रातको समयमा यहाँ रंगीविरंगी पानीका फोहोरा देखिन्छ । जुनबेला अत्यान्तै मनमोहक र आकर्षक देखिन्छ ।'

गुप्ताले सिटी हल नेपालको पहिलो आर्केटेक्ट भवन भएकोले मुहारै परिवर्तन नगरिएको बताए । 'यो भवन नेपालीपन झल्कने भएकोले रिनोभेट मात्रै गरिएको छ,' उनले भने ।

सिटी हल वरपर बाघबगैचा पनि बनिसकेको उनी बताउँछन् । बाँकी रहेका केही कामहरु एकदुइदिन भित्रै सकिने उनले जानकारी दिए ।

'यति धेरै काम गर्ने पर्‍यो । नेपाली प्राविधिकले यति छिटो काम गर्न सकिँदोरहेछ भन्ने देखाएका छौँ,' उनले भने ।
गुप्ताले नेपालमा काम गर्ने इच्छाशक्ति भए काम गर्न सकिँदोरहेछ भनेर प्रस्ट पारेको दबी गरे । उनले भने, '७५/८० दिनमा नयाँ विल्डिङ बनाउन सफल भएका छौं । जुन नेपालमा उदाहरणीय काम हो ।'

उनका अनुसार सार्वजनिक खरिद ऐन अनुसार ६८ दिन एउटा टेन्डरलाई अवार्ड गर्न लाग्ने भए पनि मन्त्रीस्तरीय निर्णयमा चाँडै काम अगाडि बढाइएकोले यो काम पनि चाँडै सकिएको हो ।

सामान्य टेन्डर प्रक्रियामा जाँदा ६८ दिन लाग्ने भएपनि यो काम सुरु गर्दा जम्मा २१ दिनमै टेन्डर प्रक्रिया सकाएर काम सुरु गरिएको हो ।

गुप्ताले भने, 'सामान्य टेन्डर आव्हान गर्दा नोटिसको लागि ३१ दिन समय दिनुपर्थ्यो हामीले १० दिनमात्रै बोलपत्रको नोटिस दियौँ । मूल्यांकन ३ दिनमा सकाइयो । अरु बेला सातदिन समय दिनुपर्थ्यो । यसैगरी दाबीविरोधको लगि तीन दिनसयम दिइयो भने १५ दिनभित्र सम्‍झौता गर्नु पर्नेमान ५ दिनमा सम्झौता गरिसकेकर काम सुरु भयो।'
 
त्यसो त हतारमा टेन्डर भएपनि काम भने सजिलो ढंगले भएको बताए । उनले भने, 'क्वालिटीमा कम्प्रमाइज भएको छैन । फर्निसिङको काममा केही कमजोरी छैन । गुणस्तर खस्केको छैन ।'
 
पार्किङ पुरानो बसपार्कमा
सार्क सम्मेलनमा आउने पाहुनाहरुको गाडि पार्किङको लागि हल परिसर, महेन्द्र पुलिस क्लव, भृकुटीमण्डप र पुरानो बसपार्क छुट्ट्याइएको  छ।

हलको परिसरमा भीभीआइपीको लगभग २४ गाडी पार्किङ गरिनेछ । एकसय वटा महेन्द्र पुलिस क्लवमा, पाँचसयभन्दा बढी भृकुटीमण्‍डप र बसपार्कमा पार्किङ गरिने व्यवस्था मिलाइएको गुप्ताले बताए ।
 
सिटी हलमा आठ वटा र ग्यालरीमा ४ वटा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् ।
 
सिंहदरबार भित्र रात्री भोज
सिंहदरबार भित्र रहेको संसद भवनको ग्यालरी हलमा नेपाल सरकारले मन्त्रीस्तरीय रात्री भोज दिने तयारी गरेको  छ ।

ग्यालरीमा फर्निसङ, रंगरोगनको काम भइहरेको छ । 'ग्यालरीमा मन्त्रीस्तरीय डिनर हुने भएकोले यहाँ विशेष सिंगारपटार गरिएको छ,' गुप्ताले भने ।
 

नयाँ वत्ति जडान गर्ने, कुर्सी राख्ने, डाइनिङ टेबल राख्ने, फर्निसिङ गर्ने, भित्रको डेकोरेसनको काम भइरहेको छ ।
प्रतिनिधि सभा भंग भएपछि अहिलेसम्म सरसफाइ तथा रंगरोगन नगरिएको सो ग्यालरीमा ढोकाको कापमा चराले गुड लगाएर बसेका र धुलैधुलोले भरिएको थियो ।

यस्तै पुरानो विद्युतीय जडानलाई नयाँ हिसावमा तयार पारिएको छ । एयर कन्डिस्नर (एसी) पनि राखिएको छ ।
यस्तै साउन्ड सिस्टम, बाहिर पेन्टिङ, सडकको काम, पार्किङ, गर्डनिङको  काम पनि धमाधम भइरहेको छ । 'पहिले सुख्खा भएको ठाउँमा अहिले फूलफूलेका छन् । बाहिर हराभर देखिएको छ,' गुप्ताले भने ।

रात्री भोजमा आउने पाहुनाका लागि ग्यालरी अगाडि पार्किङ व्यवस्था गरिएको छ ।