कृषि बैंकमा नयाँ सिइओको खोजी, तलव साढे दुई लाख, अन्य चार बैंक पनि प्रमुख कार्यकारी विहिन

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
कृषि बैंकमा नयाँ सिइओको खोजी, तलव साढे दुई लाख, अन्य चार बैंक पनि प्रमुख कार्यकारी विहिन


काठमाडौं। कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको छ। बैंकले सोमबार सार्वजनिक विज्ञापनबाटै नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको हो।
 
कार्य सम्पादन चित्त वुझ्दो नभएको भन्दै अघिल्लो प्रमुख कार्यकारी अधिकृत तेजवहादुर वुढाथोकी बर्खास्त गरेपछि बैंकले नयाँ सिइओ खोजेको हो। बैंक सञ्चालक समितिले वुढाथोकीको कार्यसम्पादन चित्तवुझ्दो नभएको भन्दै केही साताअघि बर्खास्त गरेको थियो।
 
बैंकले नयाँ प्रमुख कार्यकारीको योग्यता स्नातक उत्तिर्णका साथै बैंक तथा वित्तीय संस्था वा संगठित क्षेत्रमा आठ बर्ष कार्यअनुभव हुनु पर्ने तोकेको छ। 
 
कार्यकारी प्रमुख हुनलाई शैक्षिक योग्यता र अनुभवका साथै कृषि विकास बैंकलाई अगाडि वढाउने व्यवसायिक कार्ययोजना पनि पेस गर्नु पर्ने हुन्छ। नियुक्त भएमा प्रमुख कार्यकारी अधिकृतले मासिक तलब सुविधा दुई लाख ५० हजार रुपैयाँ पाउने छन्। 
 
बैंकले अघिल्ला प्रमुख कार्यकारी वुढाथोकीको कार्यसम्पादन चित्त वुझ्दो नभएपछि छानबिनका लागि  सञ्चालक क्षेत्रवहादुर सेजुवालको नेतृत्वमा अन्य दुई सञ्चालकसहितको छानविन समिति गठन गरिएको थियो। समितिले तयार पारेको कार्य सम्पादक मूल्यांकन प्रतिवेदनका आधारमा वुढाथोकीलाई वर्खास्त गर्ने निर्णय गरिएको थियो।
 
समितिले प्रतिवेदन वुझाएपछि प्रमुख कार्यकारी वुढाथोकीसँग सात दिने स्पष्टीकरण सोधिएको थियो। उनले स्पष्टीकरणको चित्तवुझ्दो जवाफ दिन नसकेपछि सञ्चालक समितिले कार्यकाल करिव १३ महिना वाँकी छँदै उनलाई हटाउने निर्णय गरेको थियो।
 
उनलाई वर्खास्त गर्न नहुने भन्दै बैंक सञ्चालक जनक शाहले लिखित रुपमै असहमति जाहेर गरेका थिए। शाहले यसअघि वुढाथोकीको नियुक्तिको बेलामा पनि उनलाई नियुक्त गर्न हुँदैन भनेर लिखित असहमति जाहेर गरेका थिए। बाँकी सदस्यहरुले भने हटाउने बिषयमा एकमत प्रकट गरेका थिए। 
 
वुढाथोकीलाई बर्खास्त गरेपछि सञ्चालक समितिले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका बरिष्ठ नायव महाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको छ। 
 
वुढाथोकीलाई डा. बाबुराम भट्टराईको सरकारले बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। सार्वजनिक विज्ञापन गरिएको तीन दिनभित्रै उनलाई नियुक्त गरिएको थियो। 
 
बुढाथोकीले सरकारले किसानलाई मिनाहा गरेको ऋण वापतको रकमलाई नाफा देखाउँदै आफ्नो कार्यसम्पादन राम्रो भएको स्पष्टीकरण दिएका थिए। वुढाथोकीले आफूलाई अन्याय पूर्ण ढंगले हटाएको भन्दै अदालत गएका छन्। 
 
अरु बैंक पनि खाली
कृषि विकास बैंकसँगै अन्य केही वाणिज्य बैंक पनि प्रमुख कार्यकारी अधिकृत विहिन छन्। आज (सोमबार) बाट ग्रान्ड बैंक नेपाल नेतृत्व विहिन भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र नयाव प्रमुख कार्यकारी अधिकृत विजय पन्तले राजिनामा गरेपछि बैंक नेतृत्व विहिन भएको हो।
 
यसैगरी सनराइज बैंकमा पनि प्रमुख कार्यकारी छैनन्। सुरेन्द्रमान प्रधानको चार बर्षे कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी नियुक्त गरिसकेको छैन। बजारमा भने प्रभु बैंक छाडेका कुमार लम्साल सनराइजमा जाने चर्चा छ।
 
यसैगरी प्रभु बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत खाली छ। लम्सालले छाडेपछि नायव प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ। सेन्चुरी कमर्सियल बैंक लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ।

Tata
GBIME
Nepal Life

गणेशकुमार श्रेष्ठको करार नवीकरण नभएपछि बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत राख्न सकेको छैन। अहिले अनुजमणि तिमल्सिनाले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापनको नेतृत्व गरिरहेका छन्।