एपका प्रतिस्पर्धीले पाए व्यवसायिक रणानीतिबारे तालिम, एपनिर्माण गर्दैमा व्यवसाय पूरा नहुने

बिजमाण्डू
२०७१ मंसिर २ गते ००:०० | Nov 18, 2014
एपका प्रतिस्पर्धीले पाए व्यवसायिक रणानीतिबारे तालिम, एपनिर्माण गर्दैमा  व्यवसाय पूरा नहुने

काठमाडौं । एनसेलले एप क्याम्पका प्रतिस्पर्धीले निर्माण गरेका एपको व्यवसायिक रणनीति तयार पार्न सघाउने उद्देश्यले एक तालिमको आयोजना गरेको छ ।

एक सय ५० जना सहभागी रहेका सो तालिममा व्यवसायिक रणनीति राम्रो भए मात्र कुनै पनि एपले राम्रो व्यापारिक लाभ हासिल गर्न सक्ने अवगत गराइएको थियो । सहभागीलाई आफ्ना अवसरहरु पहिल्याउन प्रेरित गर्दै थ्री एच म्यानेजमेन्ट प्रालिका कार्यकारी प्रमुख सोहनबाबु खत्रीले एपको दिगो व्यापारिक सफलताका लागि गर्नुपर्ने मूलभूत कार्यहरुबारे बताएका थिए ।

Tata
GBIME
Nepal Life

'एउटा एपनिर्माण गर्दैमा मात्रै तपाईंको व्यवसाय पूरा हुँदैन। त्यसलाई बजारमा प्रतिस्पर्धा गर्न सुरुदेखि नै उपयुक्त रणनीति अवलम्वन गरेको हुनुपर्छ,' खत्रीले भने, 'व्यवसायिक दिगोपन उद्यमशीलको कडी हो।'

अवसरलाई राम्ररी केलाए व्यवसायमा धेरै लगानीकर्ता पछि लाग्ने खत्रीले बताए । एउटा सिपालु उद्यमीले उसले भेट्टाउने भन्दा धेरै अवसरहरु सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।

'अरुको पनि समस्या, चिन्ता, भोक वा दुविधामा व्यवसायीले आफ्नो अवसर पत्ता लगाउँछ। ती बाहेक अन्य सकारात्मक स्थितिहरुमा पनि अवसर हुन्छन्,' खत्रीले भने ।

तालिममा सहभागीले व्यवसायमा सिर्जनशील कसरी बन्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। जवाफमा खत्रीले सम्भावित उपभोक्ताहरुको स्थानमा आफूलाई राखेर सोच्ने र उपभोक्ताहरुको आवश्यकता, बानी व्यवहार र उनीहरुको निर्णय गर्ने तरिकाबारे पर्याप्त अध्ययन गर्नुपर्ने सुझाए ।

'सिर्जनशील बन्ने एउटा उपाय भनेको आफ्नो व्यवसायबारे धेरैभन्दा धेरै अध्ययन गर्नु हो। त्यसका साथै आफ्नो सिर्जनालाई सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ,' खत्रीले भने ।

उनले एप निर्माणलाई एउटा व्यवसायका रुपमा चिन्नसक्नु, सफलता पाएपछि के गर्ने भन्ने बारे पहिल्यै तयारी नगर्नु र प्रयोगकर्ताका गुनासोहरु नसुन्नु उद्यमशील बन्न उद्यत जोकोहीका साझा कमजोरीहरु भएको बताए ।

तालिममा सहभागीहरुले व्यवसायका अवसर तथा मूल्य निर्धारण जस्ता विषयमा विभिन्न अभ्यास गरेका थिए।

एप क्याम्पका प्रतिस्पर्धीहरु हाल एप निर्माणका साथै त्यसको व्यसायिक मोडेल तय गरिरहेका छन्। मंसिर ५ माहुने अवधारणा प्रस्तुति विषयको तालिमपछि सहभागीहरुले आफ्नो एपको नमुना बुझाउनुपर्नेछ।

त्यसपछि पर्यटन, कृषि, शिक्षा र कर्पोरेट प्रत्येक विधाका छ वटा समूह गरी जम्मा २४ वटा समूह थप प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। एनसेलका अनुसार प्रतिस्पर्धाबाट बाहिरिने समूहहरुलाई समेत आफ्नो एप एनसेल एपस्टोरमा राख्ने सुविधा दिइनेछ।

प्रतिस्पर्धामा जित्ने विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले दुई लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।