संसदीय समिति- ‘श्रष्टालाई रोयल्टी दिने व्यवस्था मिलाउनु’, आफैंले नपाएको मन्त्रीको गुनासो

बिजमाण्डू
२०७१ मंसिर ३ गते ००:०० | Nov 19, 2014
संसदीय समिति- ‘श्रष्टालाई रोयल्टी दिने व्यवस्था मिलाउनु’, आफैंले नपाएको मन्त्रीको गुनासो
सबिन मिश्र/बिजमाण्डू 
काठमाडौं। संसदको विकास समितिले प्रतिलिपि अधिकार ऐन अन्तर्गत श्रस्टाले पाउने रोयल्टी कडाइका साथ उठाइ सम्बन्धित श्रस्टाले पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिले श्रस्टाले पाउने रोयल्टीको विवरण प्रत्येक तीन/तीन महिनामा समितिमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार बसेको समिति बैठकले रोयल्टीको विवरण आवधिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको सभापति रविन्द्र अधिकारीले जानकारी दिए। यस्तै समितिले ऐनमा भएका व्यवस्था कार्यान्वयनको व्यवस्था मिलाउन पनि सूचना तथा संचार मन्त्रालयलाई निर्देशन दिएको अधिकारीले बताए।

यस्तै समितिले कलाको सार्वजनिक उपयोगबापतको रोयल्टी सम्बन्धित श्रष्टालाई उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ। यस्तै समितिले प्रभावकारी रुपमा रोयल्टी संकलन गरी श्रष्टासमक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।

यस्तै समितिले कलाकारलाई परिचय पत्र उपलब्ध गराउन आवश्यक पर्ने मापदण्ड तयार गरी तीन महिनाभित्र कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिएको सभापति अधिकारीले बताए।

'तीन रुपैयाँको चाउचाउलाई १६ तिर्नेले ५० हजारको गीत सित्तैमा सुन्छन्'
समिति बैठकमा उपस्थित नेपाल रोयल्टी संकलक समाजका अध्यक्ष सुरेश अधिकारीले सरकारले रोयल्टी व्यवस्थापन गर्न नसक्दा ठुलो रकम खेर गइरहेको बताए। उनले आफूहरुको अध्ययनमा मात्रै १७ अर्ब भन्दा धेरै रकम रोयल्टीबाट उठ्न सक्ने बताए।

'तीन रुपैयाँमा बन्ने चाउचाउ १६ रुपैयाँ तिरेर खाने बानी हामीलाई परेको छ,' अधिकारीले भने, '५० हजार पर्ने सुन्न भने पैसा नपर्ने अवस्था आउनु सुखद होइन।'

उनले टेलिकम सेवा प्रदायक कम्पनीहरुले तथ्यांकसहितको रोयल्टीको विवरण सार्वजनिक गर्न माग गरे। बैठकमा उपस्थित गायक रामकृष्ण ढकालले कलाकारितामा भविष्य अझै सुनिश्चित नभइसकेको भन्दै विदेश भासिनु वा वैकल्पिक पेशा खोज्नु अहिलेको बाध्यता भएको बताए।

वार्षिक १ अर्ब ३५ करोडको लगानी
संगीत क्षेत्रमा वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरै लगानी रहेको संगीतकार शान्तिराम राईले बताए। दैनिक ७५ वटा गीत बन्ने भन्दै उनले एउटा गीतको लागत ५० हजार रुपैयाँ रहेको बताए। यस्तै एउटा म्युजिक भिडियो बन्न डेढलाखसम्म लाग्ने राईले बताए। राईका अनुसार अहिले दैनिक सरदर १० वटा म्युजिक भिडियो बन्ने गरेको छ।

उनले यो क्षेत्रमा मात्रै पाँच हजार भन्दा धेरैले रोजगारी पाइरहेको भन्दै रोयल्टी पाउने अवस्था नआउने हो भने अबको १० वर्षमा बजार अहिलेको भन्दा ९० प्रतिशत सानो हुने दावी गरे।

उनले वार्षिक दुई अर्ब रुपैयाँको सिआरबिटी कारोबार हुने गरेको भन्दै त्यसको १५ प्रतिशत मात्रै रोयल्टी दिने हो भने ३० करोड रुपैयाँ श्रष्टाले पाउने बताए।

मैले रोयल्टी नपाको धेरै भोसंचारमन्त्री
बैठकमा उपस्थित भएका सूचना तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले आफूले पनि अमेरिका बस्दा लेखेका पुस्तकको रोयल्टी नपाएको बताए। 'अमेरिका बस्दा लेखेको पुस्तकको रोयल्टी मैले पनि पाएको छैन,' रिजालले भने, 'मलाई दिएका पनि छैनन र मैले पनि मागेको छैन।'

मन्त्री रिजालले नेपाल टेलिकम तथा एनसेलले दिइरहेको रोयल्टी व्यवस्थापनमा मन्त्रालयले प्रभवकारी काम गर्ने प्रतिबद्धता जनाए। उनले अब बन्ने चलचित्र नीति तथा सूचना प्रसारण नीतिमा नै यसबारे स्पष्ट व्यवस्था हुने गरी काम गर्ने पनि जानकारी दिए।

यस्तै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले रोयल्टी नपाएको गुनासो अहिलेसम्म प्राधिकरणमा नपरेको बताए। उनले देखिएका समस्या समाधान गर्न तयार रहेको भन्दै त्यसका लागि सजग हुन कलाकारलाई पनि आग्रह गरे।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पारदर्शी रुपमा काम गरिरहेको बताए। उनले टेलिकमले १५ प्रतिशत रोयल्टी सिधै कलाकारलाई दिने व्यवस्था मिलाइसकेको जानकारी पनि दिए। यस्तै एनसेलका बिटुसी डारेक्टर हुवादात जेहताबले एनसेलले रोयल्टीको रकम भुक्तानीको जिम्मा कन्टेन्ट प्रोभाइडरलाई दिएको बताए।