गाढीमाई मेलामा गरिन लागेको पशुबलीले नेपाली पर्यटन क्षेत्र प्रभावित, नेपाल भ्रमण नगर्न आग्रह

बिजमाण्डू
२०७१ मंसिर ३ गते ००:०० | Nov 19, 2014
काठमाडौं । बारा जिल्लाको गाढीमाई मेलामा गरिन लागेको पशुबलीले नेपाली पर्यटन क्षेत्र प्रभावित भएको छ । गढीमाई मेलामा हजारौ पशुलाई बली दिन लागिएको भन्दै नेपालमा आफ्ना पर्यटकलाई नजान आग्रह गरेकोले पर्यटन क्षेत्र नै प्रभावित बनेको सरोकारवालाले बताएका छन् ।

Tata
GBIME
Nepal Life

विभिन्न देशका विदेशी नियोगहरुले पशुबलीबारे गम्भीर चासो दिँदै यस्तो हिंस्रक कार्य नगर्न नेपाल सरकारसँग माग समेत गरेको छन् । बेलायतले गाढीमाइको विषयलाई लिएर आफ्ना नागरिकलाई विश्वमा सबैभन्दा बढी हिंस्रक र क्रुर नेपालीहरु रहेका भन्दै नेपाल भ्रमण नगर्न आग्रह सहितको प्रचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताए ।

उनले भने, 'गढीमाईमा हुने पशुबलीलाई लिएर बेलायतले बढी चासो देखाएको  छ । नेपाललीलाई विश्वकै हिंस्रक नागरिकको रुपमा चित्रण गरेको छ ।'    

गढीमाईमा हुने पशुबलीलाई लिएर बेलायतमा हस्ताक्षर अभियान समेत चलाइएको थियो। ७६ हजार भन्दा बढी पशु अधिकारकर्मीले हस्ताक्षर अभियानमा सहभागिता जनाएको जानकारी मन्त्रालयलाई आएको सचिव श्रेष्ठले बताए ।

उसले आफ्ना नागरिकलाई नेपालीहरु क्रुर र हिंस्रक हुन्छन् भने गलत प्रचार गराइरहेकोले नेपालको पर्यटन क्षेत्रमा यसले गम्भीर असर पार्ने श्रेष्ठले बताए ।  'हामीले यसबारेमा सबै सरोकारवाला निकायमा जानकारी र सुझाव दिएका छौ,' सचिव श्रेष्ठले भने ।

गत साता वर्ल्ड ट्राभल्स मार्केट २०१४ मा सहभागी हुन गएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई समेत ज्ञापन पत्र बेलायत सरकारले बुझाएको पाइएको छ । मन्त्री फर्के लगत्तै पर्यटन मन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री कार्यलय सहित मन्त्री परिषद्मा समस्या र त्यहाँ उठाइएको विषयमा जानकारी गराइसकेको सचिव श्रेष्ठले जानकारी दिए ।

गढीमाई मेलाको विषयमा मंगलबार मात्र एमालेकी सभासद राज्य लक्ष्मी गोल्छाले पशुबली रोकि पाऊ भनेर मुद्दा दायर गरिसकेकी छिन् भने भारतीय सर्वोच्च अदालतले आफ्ना नागरिकलाई यसअघि नै पशुबली गर्न गढीमाई मेलामा नलैजान फैसला सुनाइसकेको छ । गढीमाई मेला प्रत्यके पाँच/पाँच वर्षमा लाग्ने गर्दछ । जसमा करिव पाँच लाख पशुलाई बली दिने गरिन्छ ।