जापानी फल्कन टायरको व्यापार नेपालमा सुरु, अमेरिकी गुणस्तरको टायर भित्र्याएको मोरको दावी

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
जापानी फल्कन टायरको व्यापार नेपालमा सुरु, अमेरिकी गुणस्तरको टायर भित्र्याएको मोरको दावी

काठमाडौं। राज इन्टरनेशनल ट्रेडिङले जापानी ब्रान्डको फल्कन टायर नेपाली बजारमा ल्याएको छ। लक्की ग्रुप अफ कम्पनी अन्तर्गतको राज इन्टरनेशनलले नेपाली बजारमा नयाँ टायर ल्याएको हो। जापानी ब्रान्डको फल्कन टायरको विक्री आइतबारबाट सुरु भइसकेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपाली बजारमा सुरुमा कार र जीपका १५ वटा साइजका टायर नेपाली बजारमा भित्र्याएको राज इन्टरनेशनलका ट्रेडिङका अध्यक्ष ऋषिराज मोरले जानकारी दिए। आफूहरुले गएको ३५ वर्षदेखि टायरको व्यापार गरिरहेको भएपनि नेपाली बजारमा गुणस्तरीय फल्कन टायर भने पहिलो पटक नेपालमा ल्याएको उनले बताए।


कम्पनीले जापान, इन्डोनेशिया र थाइल्याण्डमा बनेका टायर नेपाली बजारमा ल्याएको मोरले जानकारी दिए। 'हामीले महँगादेखि सस्ता गाडी चढ्ने ग्राहकलाई लक्षित गरी महँगोदेखि इकोनोमी टायर नेपालमा ल्याएका छौं,' मोरले भने, 'नेपाली बजारमा जस्ता गाडी चढ्ने ग्राहकका लागि पनि उपयुक्त हुने गरी हामी टायर ल्याउँदैछौं।'

कम्पनीले अहिले तीनहजार नौसयदेखि १८ हजार रुपैयाँसम्म पर्ने टायर नेपाली बजारमा ल्याएको मोरले बताए। अमेरिका र युरोपेली बजारस्तरीय टायर नेपाल भित्र्याएको मोरले दावी गरे।

'हामीले टायरको मूल्य भन्दा पनि गुणस्तरीयतालाई ध्यान दिएका छौं,' मोरले भने, 'ग्राहकले पैसा तिरेपछि त्यसको राम्रो रिटर्न पाउनेगरी हामीले नेपालमा टायर बेच्दैछौं।'

फल्कन टायरको बुट्टा र स्पिड रेटिङ राम्रो रहेको पनि उनले बताए। हालै मात्रै एक कन्टेनर टायर नेपाल भित्र्याएको कम्पनीले चालु आर्थिक वर्षभित्रमा १२ कन्टेनर टायर विक्री गर्ने लक्ष्य राखेको मोरले जानकारी दिए। ट्युवलेस टायरहरु नेपालका कच्ची बाटोका लागि पनि निकै उपयुक्त हुने उनले बताए। नेपालमा आफ्ना टायरको मुख्य प्रतिस्पर्धि ब्रिजस्टोनका टायर भएको पनि मोरले बताए।

कम्पनीले काठमाडौंसँगै पोखरा, वीरगञ्ज र विराटनगरमा व्यापार विस्तार गर्ने मोरले बताए। पोखरामा आउँदो जनवरीदेखि र त्यसपछि विस्तारै वीरगञ्ज र विराटनगरमा व्यापार विस्तार गर्ने उनले जानकारी दिए।

यस्तै राज इन्टरनेशनलले अबको पाँच वर्षमा देशका विभिन्न पाँच स्थानमा एक्सक्लुसिभ फल्कन स्टोर खोल्ने भएको छ। कम्पनीले काठमाडौंसँगै पोखरा, वीरगञ्ज, विराटनगर र भैरहवामा एक्सक्लुसिभ फल्कन स्टोर खोल्ने मोरले बताए। स्टोरबाट ग्राहकलाई विभिन्न सुविधा तथा सल्लाह दिने उनले बताए।