दुई दिनमा नेप्सेले जोड्यो १८ अंक, सुचकले पार गर्यो ८६० अंक, २१ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
काठमाडौं। बुधवार नेप्सेमा देखिएको सुधारले विहीवार पनि निरन्तरता पाएको छ। विहीवार ८.५५ अंकले बढेपछि दुई दिनमा नेप्से परिसूचकले १८ अंक जोड्न सफल भएको छ। बीमा कम्पनीहरुले सर्वसाधारण सेयरमा लगानी गर्न पाउने सिमा बढेपछि र डिम्याट सेयरको धितोमा पनि कर्जा दिने व्यवस्था तत्काल गर्ने राष्ट्र बैंकको भनाइले बजारलाई रिभाइभ गरेको छ।

Tata
GBIME
Nepal Life

लगातार घटिरहेको बजारमा लगानीकर्ताहरु सकारात्मक सुचनाको प्रतिक्षामा थिए, यी सुचनाले लगानीकर्तालाई मोटिभेट गरेको छ, अब चाँडै राष्ट्र बैंकले पनि डिम्याट सेयरको धितोमा कर्जा दिने व्यवस्था गर्नुपर्दछ, एक लगानीकर्ताले भने।

अधिंकाश कम्पनीहरुको सेयर मूल्य एक बर्षकै न्युन तहमा आएपछि पनि यी कम्पनीमा लगानी बढ्दै गएको छ। चिलिमे जलविद्युत्, नबिल बैंक, नेपाल बैैंक, नेपाल बंगलादेश बैंक लगातकाको मूल्य एक बर्षको न्युन्तम बिन्दु वा त्यस नजिक रहेको छ।
३५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५४ रुपैयाँले बढेको छ। नोक्सान घटेको वित्तीय विवरण प्रकासित गरेको यती डेभलपमेन्ट बैंकको मूल्य पनि एक रुपैयाँले बढ्यो।

साहरा बिकास बैंकको मूल्य बढ्ने क्रम जारी रहेको छ। बैंकले पहिलो करोबारको लागि चार सय ७९ रुपैयाँसम्मको ब्याण्ड पाएको बैंकको विहीवारसम्म मूल्य बढेर चार सय ३५ रुपैयाँ पुगिसकेको छ।  

यस दिन ट्रेडिङ पिरसूचक घट्यो, ‘अन्य’ परिसूचक स्थिर रह्यो भने बाँकी सबै परिसूचक बढेको छ। प्राइम लाइफ, प्रुडेन्सियल, सूर्यालाइफ, एनएलजी इन्स्योरेन्स लगायतका बीमा कम्पनीको मूल्य बढेको छ।

करिब एक बर्षपछि कारोबारमा आएको साल्ट ट्रेडिङको सेयर मूल्य चार रुपैयाँले बढेर दुई सय आठ रुपैयाँ पुगेको छ। कम्पनीको एक पटक भएको कारोबारमा छ सय ६३ कित्ता सेयर किनबेच भयो।

यस दिन २८ करोड रुपैयाँको कारोबार भयो।