नक्कली एटीएम कार्डबाट झिकियो ३० लाख रुपैयाँ, टर्कीका नागरिक पक्राउ, कतै तपाईँको त परेन ?

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
नक्कली एटीएम कार्डबाट झिकियो ३० लाख रुपैयाँ, टर्कीका नागरिक पक्राउ, कतै तपाईँको त परेन ?


काठमाडौँ । नेपालका विभिन्न बैंकको एटीएम मेसिनबाट नक्कली एटीएम कार्ड प्रयोग गरी रकम निकाल्ने टर्कीका २४ वर्षीय मेहमत गुलेनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय एटीएम कार्डहरू प्रयोग गरी अनधिकृतरूपमा एपेक्स विकास बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम प्रयोग गरी उनले रुपैयाँमा निकाल्दै आएका थिए।

विभिन्न व्यक्तिको खाताबाट पैसा निकाल्नेक्रममा रहेका उनलाई दरबारमार्गस्थित होटल उड्ल्याण्डबाट पक्राउ परेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए।

उनको साथबाट नेपाली रुपैयाँ २६ लाख, अमेरिकी डलर पाँच हजार, एटीएम कार्ड ४२ थान, सीमकार्ड, ल्यापटपलगायत सामान प्रहरीले बरामद गरेको छ ।

गुलेनले हालसम्म विभिन्न बैंकका एटीएम कार्ड प्रयोग गरी नेपाली रु पाँच हजार, १० हजार  र १५ हजारका दरले पैसा निकाल्ने गरेको तथा विभिन्न व्यक्तिको एटीएम, डाटा र पिन नम्बरसमेत चोरी गरी कम्प्युटर सफ्टवेयर प्रयोग गरी मास्टरकार्ड, भिसा कार्ड र डेविट कार्ड तयार गरी रकम निकाल्ने गरेका थिए ।

उनले नेपालसहित भारत, थाइल्याण्डलगायत देशमा गई रकम निकाली ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कार्ड तथा डाटा र पिन दुवै नम्बर चोरी गरी नयाँ कार्ड तयार पारेको देखिएकाले यसमा सङ्गठित गिरोह संलग्न भएको आशंका प्रहरीले गरेको छ।

नेपालबाट रु पचास लाखभन्दा बढी रकम निकालिसकेपछि  भाग्ने तयारीमा रहेको प्रारम्भिक बयान उनले दिएका छन्। उनी साउनमा दुई पटक थाइल्याण्ड र कतार गएको, असोजमा भारत गएकोमा कात्तिक २७ गते नेपाल आई होटल याक एण्ड यतिमा बस्दै आएकामा कात्तिक २९ गतेबाट उड्ल्याण्ड होटलमा बस्दै आएका थिए।-रासस

Tata
GBIME
Nepal Life