​नरेन्द्र मोदी भ्रमणको भद्रगोल राजनीति, गृह सचिव भन्छन्, ‘मोदीको जनकपुर भ्रमण रोकिन्न’

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
  • सविन मिश्र/बिजमाण्डू
  • काठमाडौँ : गृह सचिव सूर्य सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द नभएको बताएका छन्। सरकारले मोदीको स्वागतका तीव्र रुपमा तयारी गरिरहेको भन्दै भ्रमण रद्द नभएको उनले स्पष्ट पारे।

    पहिलोपोष्टसँगको कुराकानीमा गृहसचिव सिलवालले भ्रमणको तयारी भइरहेको र आफू बिहीबारदेखि त्यसैका लागि जनकपुरमै रहेकोसमेत बताए।


    'भ्रमण रोकिएको कुरा कसरी बाहिर आयो मलाई थाहा छैन,' सिलवालले भने, 'सबै सुरक्षा निकायका प्रमुखसँग म जनकपुरमा नै छु। भ्रमणको तयारी रोकिएको छैन।'

    आफ्नो अघिल्लो नेपाल भ्रमणकै क्रममा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने इच्छा व्यक्त गरेको भन्दै सिलवालले यसपाली मोदी तोकिएकै समयमा जनकपुर पुग्ने बताए।

    'भारतीय दुतावासले अहिलेसम्म औपचारिक रुपमा मोदी भ्रमण रद्द भएको जानकारी गराएको छैन,' सिलवालले भने, 'औपचारिक जानकारी नआई तयारी रोक्ने कुरा हुँदैन, हामी तयारी गरिरहेका छौं।'

    कसरी आयो भ्रमण रद्दको कुरा?

    यसअघि बिहीबार मोदीको जनकपुर भ्रमणको तयारीका लागि खटिएका मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर मोदीको भ्रमण रद्द भएको बताएका थिए।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले आफूलाई परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार नै आफूले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण स्थगित भएको जानकारी गराएको बताएका छन्।

    पहिलोपोस्टसँग कुरा गर्दै मन्त्री निधीले परराष्ट्र मन्त्रालयका दक्षिण एसिया हेर्ने डेस्कका अमृतकुमार राईले दिएको जानकारी अनुसार नै आफूले विज्ञप्ति निकालेको बताए।

    'मलाई परराष्ट्र मन्त्रालयका अमृतकुमार राईले दिएको जानकारी अनुसार नै विज्ञप्ति निकालेको हुँ,' मन्त्री निधीले भने, 'मैले जे जानकारी पाएँ त्यही भन्दिएँ।'

    तपाईंले लिखित जानकारी पाउनु भो कि मौखिक भन्ने प्रश्नमा मन्त्री निधीले भने, 'लिखित आओस् कि मौखिक त्यो सरकारको कुरा भो, जानकारी पाए भैगो नि।'

    निधिले एमाओवादी र मधेसवादी दलहरुलाई दोषारोपण गरी विज्ञप्ति नै निकालेकोमा प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्टि जनाएका थिए। नेपाल समाचारपत्रले जनाए अनुसार मर्यादाविपरीत विज्ञप्ति निकालेको भन्दै प्रधानमन्त्री र परराष्ट्रले असन्तुष्टि जनाएका थिए।

    राससका अनुसार बिहीबार साँझ पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेले भनेका थिए – “प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा मात्र भाग लिने कुरा छ, त्योभन्दा अर्काे गतिविधिमा उहाँ अहिले सरिक नहुने कुरा भएको छ।” 

    'भ्रमण स्थगनको कुरालाई लिएर आआफ्नो ढङ्गले व्याख्या गरिए तापनि त्यो हाम्रो सुरक्षा व्यवस्थाको कारणले होइन, हाम्रातर्फबाट शान्ति सुरक्षामा कुनै तलमाथि नपर्ने गरी बडो राम्रोसँग व्यवस्था मिलाएका छौँ' भन्दै परराष्ट्रमन्त्री पाण्डेले 'लामो समयदेखि  भारतीय प्रधानमन्त्री मोदी मुलुक बाहिर रहेको र भारतका दुई प्रान्तमा अहिले निर्वाचन भइरहेको हुँदा त्यहाँ जानुपर्ने भएकाले उहाँ शिखर सम्मेलनमा मात्र सहभागी हुने भन्ने भर्खर सूचना प्राप्त भएको' बताएका थिए। 
     
    यस्तै शुक्रबार बिहान रिपोर्टर्स क्लबमा भएको सार्क सम्मेलन तयारी सम्बन्धी कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भएको विषयमा दूतावासलाई कुनै जानकारी नभएको बताएका छन्। 

    Tata
    GBIME
    Nepal Life