छायाँ सेन्टरभित्र यस्तो बन्दैछ बिजिनेस होटल

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
छायाँ सेन्टरभित्र यस्तो बन्दैछ बिजिनेस होटल

Tata
GBIME
Nepal Life

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । ठमेलमा बनिरहेको छायाँसेन्टर भित्र सञ्चालनमा आउने पाँच तारे होटल स्टारउडकै अलफ्ट ब्रान्डको नाममा सञ्चालनमा आउने भएको छ ।

छाँयाँ सेन्टर र अलफ्ट होटल्‍सबीच आगामी मंसिर आठ गते सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । स्टरउडले अलफ्ट, मेरिडियन, द लक्जरी कलेक्सनलगायत विश्वभर नौवटा ब्रान्ड मार्फत होटल संचालन गर्दै आएको छ ।  

ठमेलको अमित मार्गमा बनिरहेको यो सेन्टरको लगभग ४० प्रतिशत काम सकिइसकेको छ । भवन निर्माण एक वर्षभित्र सकिने भएपनि अगामी सन् २०१७ बाट सञ्चालनमा ल्याउने हिसाबले काम भइरहेको छ । यहाँ पाँच तारे होटल सहित विभिन्न अन्य सुविधाहरु पनि उपलब्ध हुनेछ ।

पहिले नै मौखिक सम्झौता भएपनि मंसिर ८ गते भने अलफ्ट र छायाँ सेन्टरबीच आधिकारिक सम्झौता हुन लागेको छायाँ सेन्टरका बजार निर्देशक सुमन पाण्डेले बताए । उनले भने, 'पहिले नै सम्झौता भएपनि अलफ्टका पदाधिकारी आएर आधिकारिक रुपमा हामीले होटल लन्चिङ गर्न लागेका हौँ ।'

सम्झौतापछि होटलको नाम अलफ्ट विजनेश होटल हुने पाण्डेले जानकारी दिए । अलफ्टले सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता हुनेछ । छायाँ सेन्टर १५ तलाको हुनेछ । होटलमा एक सय ७५ कोठा हुने छ । होटलको सबै सुविधा डिलक्सको हुने पाण्डेले बताए ।

स्टारउड समूहको अलफ्ट ब्रान्डबाट अमेरिका, युरोप, क्यानडा तथा एसियामा गरि ८५ वटा होटलहरु सञ्चालनमा छन् । नेपालको प्रमुख पर्यटकीय ठाउँ ठमेलमा बन्ने यो होटल सञ्चालनमा आएपछि पर्यटकहरु बास खोज्दै हिँड्नु पर्ने समस्याबाट मुक्त हुने पाण्डेले बताए । 'हाम्रो यो परियोजना सम्पन्न भएपछि उक्त समस्या स्वतः हल हुनेछ, होटलले नै अन्तर्राष्ट्रिय मार्केटिङ गरेर गुणस्तरीय पर्यटक भित्र्याउने योजना छ,' उनले भने ।

होटल र कम्प्लेक्समा गरी पाँच अर्ब रुपैयाँ भन्दा बढी लगानी हुनेछ । कम्प्लेक्स करिव १५ रोपनी क्षेत्रफलमा बनिरहेको छ । १५ तले भवनमा दुई सय ५० वटा पसल, सातवटा रेष्टुरेन्ट, तीनसय सय ८६ वटा कार पार्किङ गर्न मिल्ने ठाउँ र पाँचवटा कन्फ्रेन्स हल हुने छन् ।

यसैगरी कम्प्लेक्समा तीनवटा सिनेमा हल पनि हुने छ भने एकहजार दर्शक क्षमताको हल र फुड कोर्ट समेत रहने पाण्डेले बताए ।
छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठको लगानी छ ।

मुलुकमै पहिलोपटक हाइड्रोलिक सिष्टमको पार्किङस्थल हुनेछ । जुन सिष्टमबाट एउटै तल्लामा तल र माथि गरी दुई तहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ । छायाँ सेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ ।

कम्प्लेक्समा अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेष्टुरेन्ट, एयरलाइन्स कम्पनी, पश्मिना र क्यूरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा तथा सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्प्लेक्सको लक्ष्य छ । नमुना कम्पलेक्सको रुपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुल्ला रहनेछ ।

कुन तलामा के ?
छायाँ सेन्टरको अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङ स्थल, डिस्को थेक रहने छ । लोअर ग्राउन्ड तलामा डिपार्टमेन्टल स्टोर, क्यासिनो, डिस्को थेक, गाडी तथा मोटरसाइकल पार्किङ रहनेछ ।

ग्राउन्ड तलामा पसल र एउटा रेष्टुरेन्ट रहने छ । नाङ्लोले ग्राउन्ड तलामा स-साना दुई वटा बेकरी राख्ने बताइएको छ । पहिलो तलामा तीनवटा रेष्टुरेन्ट र पसलहरु रहनेछन् । पहिलो तलामा नाङ्लोको रेष्टुरेन्ट रहनेछ ।

दोस्रो तलामा पनि तीनवटा रेष्टुरेन्ट र पसलहरु रहनेछन् । तेस्रो तलामा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखा, एयरलाइन्स तथा ट्राभल एजेन्सीका कार्यालय रहनेछन् । तेस्रो तलामा यति एयरलाइन्सले आफ्नो अफिस राख्ने भएको छ ।

चौथो तलामा तीनवटा सिनेमा हल र फुड कोर्ट, बैक्वेट हल, मिटिङ हल, पसलहरु रहनेछन् । पाँचौ तलादेखि १५ औं तलासम्म पाँचतारे होटल रहने छ ।

सेन्टरमा एभरेस्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकले सहवित्तीयकरणमा कर्जा प्रवाह गरेका छन् । भवन नेपाली वास्तुकलामा आधारित रहेर नेपाली इन्जिनियरहरुले डिजाइन गरेका छायाँ सेन्टरको वेबसाइटमा उल्लेख छ ।