एनलोकेट डट कम: एउटा शब्द टाइप गर्दै दिन्छ सबै जानकारी

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
एनलोकेट डट कम: एउटा शब्द टाइप गर्दै दिन्छ सबै जानकारी
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । 'इन्टरनेटको माध्यमबाट मोबाइल र कम्प्युटरमा आफूले चाहेको कुरा खोज्ने तरिका फरक हुन थालेका छन् । केही वर्ष पहिले लामो वाक्य नै टाइप गरेर आफुलाई चाहिएको कुरा खोज्नेहरु अहिले एउटा शब्दमा खोज्न थालेका छन् ।'

Tata
GBIME
Nepal Life

इलेक्ट्रोनिक्स इन्जिनयिर तथा एनलोकेट प्रालिका सिइओ मनोज घिमिरेको अनुभव हो यो ।

दिनदिनै सहरी मानिसहरु बेफुर्सदिला भएका छन् र इन्टरनेटमा आफूलाई चाहेको कुरा खोज्न धेरै समय लगाउन चाहँदैनन् । त्यसैले एनलोकेटले सजिलो, छिटो र छरितो तरिकाले आफूले चाहेका आफ्नै वरपर भएका जानकारी खोजी गर्न मिल्ने गरी 'सर्च बार' तयार पारेको छ ।

'पहिला मानिसहरु अब्जेक्ट खोज्थे । अहिले सब्जेक्ट खोज्न थालेका छन्,' सिइओ घिमिरे भन्छन्, 'मनले सोचेको कुरा टाइप गरेर खोज्दा भेटियोस् भन्ने भइसकेका छन् । यही भएर शब्द टाइप गर्दा आफ्नो वरपरका कुराहरु तुरुन्तै पाइयोस् भनेर हामीले सर्च बारलाई अपडेट गरेका छौं ।'

उनका अनुसार एनलोकेटमा सर्च गर्ने मानिसले उसकै वरपर भएका कुराहरुलाई खोजी गर्छ नकी टाढाको । घिमिरे भन्छन्, 'उपत्यकावासीले जे खोज्छन् उपत्यकाकै भेट्टाउँछन् । पोखराको भेट्टाउन्नन्। त्यसैले यो लोकल सर्च बार हो।'

उनले उपत्यकामा भएको इन्टरनेटको विस्‍तार, भिडभाड, बाक्ला घरहरु र मानिसहरु बढी नै व्यस्त हुन थालेपछि यस्तो सर्च बार ल्याइएको बताए । उनले भने, 'मानिसहरु मोबाइल र कम्प्युटरमा आफूलाई चाहिएको र दिमागमा आएको कुरा तुरुन्तै पाइयोस् भन्ने चाहन्छन् । त्यसैले हामीले यही कुरामा जोडतोडका साथ लागेका छौँ ।'
 
खोजी मान्छेको आवश्यकता हो व्यापार होइन भनेर एनलोकेटमा प्रयोगकर्तालाई खोजी गर्न सजिलो बनाएका छन् । उनले भने ,'हामीले काठमाडौँबासीलाई सजिलो तरिकाले आफूले खोजेको कुरा आफू नजिक रहेको जानकारी दिन सक्छ ।'

जस्तै कि तपाइँ दरबारमार्गमा हिँडिराख्नु भएको छ । अब तपाइँलाई कफि खान मनलाग्यो । तपाइँलाई दरबारमार्गमा कफिसप कहाँ छ भनेर ठ्याक्कै थाहा नहुन सक्छ । तर एनलोकेटमा गएर 'कफि' शब्द सर्च गर्नु भयो भने तपाइँ रहनुभएको सबैभन्दा नजिकका कफि शपहरु सरर देखाउँछ ।

घिमिरेले एनलोकेटले अहिले मानिसले बढी खजी गर्ने विषयहरुमा धमाधम डाटाहरु संकलन गरिरहेको बताए । अहिले इन्टरनेट ब्राउजरमा मात्रै सर्च गर्न पाइने यस्तो सुविधा एक महिनाभित्र एनलोकेट एप्समा पनि अपडेट भइसक्ने उनले बताए ।

उनका अनुसार अहिले सिनेमा, बैंकिङ, स्वास्थ्य र स्पा क्षेत्रको जानकारीहरु संकलन गर्ने काम भइरहेको छ । त्यसपछि विस्तारै रेष्टुरेन्ट, शिक्षा, विभिन्न व्यापारिक संस्थाहरुको डाटा संकलन गरेर मानिसलाई खोजी गर्न सजिलो बनाइने उनले बताए । उनले भने, 'मानिसले बढी के खोज्छन् ? त्यही कुरा हामी सजिलै उपलब्ध गराउँछौँ ।'

कसरी खोज्ने?
तपाइँलाई कुनै समयमा केही कुरा आवश्यकता पर्‍यो । मोबाइल वा कम्प्युटरको इन्टरनेट ब्राउजर खोल्नुस् र एनलोकेट डटकम क्लिक गर्नुहोस् । साइट खुलेपछि आफूलाई आवश्यक परेको कुरा सर्च बारमा गइ टाइप गर्नुहोस् । तपाइँले आवश्यक परेको जानकारी तुरुन्तै पाउनुहुन्छ । तपाइँले आफूले खोज्न चाहेको शब्द टाइप गर्नु भए पुग्छ । पुरै वाक्य नै टाइप गरिरहनु पर्दैन ।

जस्तै कि तपाइँलाई अहिले टलकजंग भर्सेज टुल्के फिल्म कुनकुन फिल्महलमा चलेको छ । कुन समयमा चल्छ । टिकटको मूल्य कति छ भन्ने जानकारी चाहियो भने इन्टरनेट ब्राउजरमा गएर 'टुल्के' मात्रै टाइप गर्नु भयो भने सबै जानकारी पाउन सक्नुहुनेछ ।

यसरी सर्च गर्दा सबैभन्दा माथि तपाइँ रहनुभएको ठाउँबाट नजिकको फिल्म हल र अरु जानकारी पाउनु हुनेछ । यसरी सर्च गर्दा तपाइँले इन्टरनेटको रकम तिरे पुग्‍छ बाँकी अरु सबै निशुल्क जानकारी लिन सिकनेछ । घिमिरे भन्छन्, 'प्रयोगकर्तालाई हामीले दिने सबै सुविधा निशुल्क हो। केही पैसा तिर्नुपर्दैन ।'

यसैगरी अस्पतालबारे पनि जानकारी लिन यसैगरी सर्च गर्न सकिन्छ । 'तपाइँले बैंकिङसँग केही शब्द टाइप गरेर सर्च गर्नुभयो भने त्यसको लोकेसन थाहा पाइहाल्नुहुनेछ,' घिमिरेले भने, 'हेल्थसम्बन्धी कुनै शब्द, जस्तै कार्डियो भन्ने टाइप गर्नु भयो भने डाक्टरको नाम सहित उनले जाँच गर्ने समय, बार, लाग्ने शुल्क सबै थाहा पाउनसकिने छ ।'

अहिलेसम्म एनलोकेटले १८ हजार भन्दा बढी यस्ता डाटा संकलन गरिसकेको छ भने अरु डाटा संकलन गर्ने काम तीब्र पारेको छ ।

कम्पनीले अहिले वेवसाइटमा मात्रै यस्तो सुविधा दिएको भएपनि आगामी एक महिनाभित्रमा मोबाइल एप्लिकसेनमा पनि सबै डाटा अपडेट गरिसक्ने बताएको छ ।

घिमिरेले भने, 'अहिले कम्प्युटरबाट मात्रै सर्च गर्न सकिन्छ । तर एक महिनापछि एन्ट्रोइड र आइओएस दुबै स्मार्टफोनमा एप्स इन्स्टल गरेपछि सर्च गर्न सकिन्छ ।'

एन्ड्रोइड, एप्पल अपरेडिङ सिस्टममा चल्ने ट्यावका साथै कम्प्युटरमार्फत पनि यसको प्रयोग गर्न सकिन्छ।

डाटा इन्ट्रि कसरी गर्ने ?
त्यसो त एनलोकेटमा कसैले आफ्नो कार्यालय वा व्यापारबारे डाटा इन्ट्री गराउन चाह्यो भने उसले एनलोकेटको अफिससम्म धाउनुपर्ने छैन।

तपाईंले आफ्नोबारे डाटा आफैं इन्ट्री गर्न सक्नुहुन्छ तर त्यसका लागि पब्लिक भेरिफिकेसन भने चाहिन्छ। यसको लागि विजनेसडटएनलोकेटडटकममा गएर आफ्नो बारे त्यहाँ जानकारी छ कि छैन हेर्न सकिनेछ ।

इन्ट्री भएको डाटा गलत हुन सक्ने भएकोले पब्लिक भेरिफिकेसनको आधारमा यसलाई इन्ट्री गर्ने गरेको घिमिरेले बताए । साइटमा गएर रजिष्टर गर्न कुनै शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ ।

वेबसाइटमा दैनिक एकसमयमा ‌औसत तीनसय भिजिटर हुने उनले बताए । सबैभन्दा बढी बिहान छ बजे, नौ बजे र बेलुकी ५ बजे बढी प्रयोगकर्ताले खोजी गर्ने गरेका उनले बताए ।

बिहान छ बजे नै के सर्च गर्छन्? जिज्ञासामा उनले भने, 'बिहान कलेज जाने विद्यार्थीले कुन हलमा कुन फिल्म चलेको रहेछ भनेर सर्च गर्ने गरेको पाइयो।' उनका अनुसार एनलोकेटमा सर्च गरेर फिल्मबारे जानकारी लिएपछि उनीहरु कलेज बङ्क गरेर फिल्म हेर्न जाने गरेको पाइएयो ।

यस्तै बिहान नौबजेपछि चाहिँ अफिस समय सुरुहुने भएकोले अफिसमा गएर इन्६रनेट चलाउनेहरुले बढी नौदेखि १० बजेको समयमा केही सर्च गर्ने गरेको घिमिरेको अनुभव छ भने दिउँसो एकबजेदेखि दुई बजे भित्र रेष्टुरेन्टहरुबारे सर्च गर्ने गर्छन् ।

समस्या पनि छ
नेपालमा इन्टरनेटको पहुँच भएको ठाउँमा पनि नेट स्पिडले प्रयोगकर्तालाई सताएको उनको भनाइ छ । तर यो समस्यालाई न्यूनिकरण गर्न एनलोकेटले कम स्पिडको इन्टरनेटमा र कम खर्चिलो डाटामा पनि सर्च गर्न सक्ने गरि तयारी गरिरहेको छ ।

घिमिरे भन्छन्, 'कम्तीमा एकदिनमा १० रुपैयाँ बराबरको डाटाले दिनभरी मानिसहरुले चाहेको कुरा खोज्न पाउन भन्नेतिर हामी लागिरहेका छौँ । अहिले कम्पनीमा १२ जनाले मार्केटिङ गरिरहेका छन् ।