वर्ल्ड ट्रेड सेन्टरमा पनि भाडा विवाद, एक साता भित्रै चुक्ता गर्न निर्देशन, काठमाडौं मलमा मिल्दै

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
वर्ल्ड ट्रेड सेन्टरमा पनि भाडा विवाद, एक साता भित्रै चुक्ता गर्न निर्देशन, काठमाडौं मलमा मिल्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु)ले काठमाडौंको त्रिपुरेश्वरमा रहेको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको भाडा एक हप्ता भित्र चुक्ता गर्न संचालक युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक सूचना निकालेर विश्वविद्यालयले सम्झौता बमोजिमको भाडा रकम एक हप्ता भित्र चुक्ता नगरे कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

टियुले यस भवनको भाडा वापतको रकम चुक्ता गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेपनि कम्पनीले वेवास्ता गरेको भन्दै समयमै भाडा चुक्ता गर्न आग्रह गरेको हो । तोकिएको समयमा भाडा चुक्ता नगरे २०५९ माघ २ गतेको सम्झौताको दफा १३ को १ बमोजिम कानुनी कारबाहीमा जाने विश्वविद्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिले निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) कानुन अनुसार यो भवन निर्माण गरेको हो । २०५९ माघ दुई गतेदेखि युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिले लिजमा लिएको हो । उसले ३२ वर्षका लागि लिजमा लिएको हो । जसमा दुई वर्ष निर्माण अवधि समावेश गरिएको छ । यो भवन १० रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ ।

काठमाडौं मलको भाडा विवाद समाधानतर्फ

यसैबीच कर्मचारी संचय कोषको स्वामित्वमा रहेको काठमाडौं मलको भाडा विवाद समाधानतर्फ अघि बढेको छ । काठमाडौं मलमा पसल संचालन गरिरहेका व्यवसायीले एक वर्षको बैंक ग्यारेन्टी र तीन महिनाको अग्रिम भाडा तिर्न सहमति जनाएपछि तत्कालका लागि समस्या समाधान हुने भएको हो ।
व्यवसायीले बैंक ग्यारेन्टीका लागि कुमारी बैंकसँग प्रकृया अघि बढाएको र समस्या समाधान गर्न लागेको काठमाडौं मल ब्यापार संघका महासचिव खिमविक्रम सेनले जानकारी दिए। भाडा तिर्न आफूहरु तयार भएपनि समस्या नदोहोरिने गरी समाधान निकाल्नु पर्नेमा उनले जोड दिए।

संचय कोषले २२ दिन सूचना निकालेर एक महिना भित्र भाडा तिर्न वा त्यो नसके भवन खाली गर्न भनेको थियो। संचयकोषसँग यो भवन भाडामा लिएका प्रवीर शम्सेर राणाले समयमै भाडा नतिरेको भन्दै कोषले भवन खाली गर्न भनेको हो । राणाले अहिले कोषलाई ६ करोड ७२ लाख रुपैयाँ तिर्न बाँकी छ ।  
राणाले भने आफूले मलमा लिफ्ट जडान गरेको, पानीका लागि खर्च गरेको लगायतका कामका लागि झण्डै २० करोड खर्च गरेको भन्दै उक्त रकम कोषले दिनुपर्ने दावी गर्दै आएका छन् ।

राणा र कोषबीचको विवादको चेपुवामा परेका व्यवसायीले भने आफ्नो लगानीको सुरक्षा हुनुपर्ने माग गर्दै आएका थिए ।

काठमाडौं मलमा अहिले दुईसय ९८ पसल संचालनमा छन् । एउटा सटरको दुईलाखसम्म मासिक भाडा तिर्दै आएका व्यवसायीले त्यहाँ झण्डै चार अर्ब रुपैयाँ लगानी गरेका छन् ।