सडकबाट के पाए मुगालीले? बजारदेखि घरका छानासम्म फेरिए

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
सडकबाट के पाए मुगालीले? बजारदेखि घरका छानासम्म फेरिए
सरोज काफ्ले/बिजमाण्डू
मुगु। सबैभन्दा पछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको मुगुमा हालसम्म पनि सजिलै गाडी गुडाउन कठिन छ। धुले सडकमा बल्लतल्ल दैनिक दुईचार वटासम्म ट्रक र ट्याक्टर गुडेपनि सदरमुकाम आसपासका मुगालीको जीवन पद्दतीमा भने सकारात्मक प्रभाव देखिन थालेको छ। 
 
मुुगु जिल्ला भरीमा जम्मा ६३ किलोमिटर सडक छ। ती पनि सबै धुले। यसमध्ये आधामा मात्रै जेनतेन ट्रक र ट्याक्टर गुड्छन्। जुम्लाबाट सडक सञ्जालले सदरमुकाम गमगढी र रारा ताललाई जोडेको छ। अन्य टुक्रा सडकमा गाडी गुड्दैनन। 


 
सडक पुगेपछि के भयो?
सडक बनेपछि हामी दुई दिनमै सुर्खेत बजारसम्म पुग्न सक्ने भयौ, श्रीनगर गाविसका स्थानीय वासिन्दा श्रीचन्द्र रावल भन्छन, सात दिनको बाटो दुई दिनमात्र लाग्ने भयो। बजार पुग्न लाग्ने समयमात्रै छोटिएको छैन, सामान सस्तो भएको छ, बजारमा प्रतिस्पर्धा बढेको छ, सामानको उपलब्धता पनि बढेको छ। 

Tata
GBIME
Nepal Life

यहाँको सिमी, मुला, फापर, स्याउ बेच्न थाल्यौ, भाउ पनि राम्रै पाएका छौं, उनले भने यही गाउँबाट मात्रै यस वर्ष ४० क्विन्टल सिमी बजारमा पठायौं। मुगुमा सिमि, स्याउ, ओखरलगायतको उत्पादन राम्रो हुन्छ। बजार पहुँच नहुँदा यस्ता वस्तुको उत्पादनमा किसानलाई चासो थिएन। अहिले किसानहरु सिमिसहित तरकारी खेतिमा पनि आकर्षित छन्। 

 
एशियाली विकास बैंकको सहयोगमा विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन आयोजना (ड्रिल्प) मार्फत जिल्लामा ३२ किलोमिटर सडक निर्माण भयो। यो आयोजनामा स्थानीय बासिन्दालाई रोजगारी दिइयो भने र तार बाहेक अन्य सबै स्थानीय कच्चा पदार्थको प्रयोग भयो। यसले गर्दा स्थानीयको आम्दानी बढ्यो। 


 

'आयोजनाको काम सुरु भएपछि हामीले गाउँमै पैसा कमायौं, कार्कीबाडा गाविसका स्थानीय प्रेम बहादुर शाही भन्छन्, आम्दानी भएपछि घर बनाउने, भैसी, बाख्रा किन्यौ। राम्रो लुगा लगायौं।' सडक निर्माणमा कमाएको पैसा केहीले छोराछोरीको अध्ययनमा पनि खर्च गरिरहेका छन्,  नेपालगञ्जका निजी विद्यालयमा लगेर बच्चाहरु भर्ना गरिएका छन्। सडक निर्माणमा कमाएको पैसाले मेरा नातीहरु नेपालगञ्जमा पढीरहेका छन्, श्रीचन्द्रले भने।
 
'सडकले मुगालीको जीवनस्तरमै परिवर्तन ल्याउँदै छ, निमित्त स्थानीय विकास अधिकारी एवं जिल्ला प्राविधिक कार्यालय प्रमुख बीरवहादुर रावल भन्छन्, सडकले बजारसम्मको पहुँच बढायो, बजारको सम्पर्कले सामान सस्तो हुनेदेखि रहनसनमै परिवर्तन देखिएको छ।' उनी मुगुकै स्थानीय वासिन्दा हुन्। त्यसैले उनले सडक निर्माण पछिको परिवर्तनलाई राम्रोसँग नियालेका छन्। 
 
सडकमा पहुँच भएपछि परेको साकारात्मक प्रभाव मुल्य, उत्पादित सामान विक्री जस्ता पक्षसँग मात्र सीमित छैन।

 

केही वर्षअघि केजीको ५० रुपैयाँमा पनि बिक्री नहुने सिमि अहिले मुगुका गाउँमा सजिलै पाँइदैन। सिमिको भाउ केजीको एक सय १० रुपैयाँ छ । बजारमा हरियो तरकारी र फलफूल सहज उपलब्ध हुन थाल्यो, व्यवसायिक खेति सुरु हुदैछ, पर्यटक बढ्न थाले। अहिले सदरमुकाममा खाना पकाउन ग्याँसको प्रयोग हुन थालेको छ।

बीरवहादुर रावल
निमित्त स्थानीय विकास अधिकारी  


'सडकको प्रभाव स्कूलमा शिक्षक नियमित हुने देखि सरकारी कर्मचारीको नियमित उपस्थितिसम्ममा देखियो' प्रमुख रावल भन्छन्, 'अहिले विद्यालयमा शिक्षक नबसेको, कार्यालयहरुमा कर्मचारी नबसेको भन्ने सुनिदैन।' 
 
केही वर्षअघि केजीको ५० रुपैयाँमा पनि बिक्री नहुने सिमि अहिले मुगुका गाउँमा सजिलै पाँइदैन। 'सिमिको भाउ केजीको एक सय १० रुपैयाँ छ, प्रमुख रावलले भने, बजारमा हरियो तरकारी र फलफूल सहज उपलब्ध हुन थाल्यो, व्यवसायिक खेति सुरु हुदैछ, पर्यटक बढ्न थाले।' अहिले सदरमुकाममा खाना पकाउन ग्याँसको प्रयोग हुन थालेको छ। 
 
सदरमुकाम र आसपासमा पक्कि घर बन्न थालेका छन्। यो सडकको प्रभाव हो। सडक पुग्नु अघि पक्कि घर थिएनन। त्यस्तै घरका छाना माटोबाट जस्ता पातामा फेरिदै छन्। सडक पुगेका गाउमा जस्ता पाताको प्रयोग निकै देखिएको प्रमुख रावलले बताए। 
 
'सडक निर्माणको अवधिमा कम्तिमा २० करोड रुपैयाँ गाउँमा गएको छ', सात वर्षदेखि मुगुमा रहेका ड्रिल्पका आयोजना प्रमुख शैलेन्द्र कुमार साह भन्छन, 'रोजगारी सिर्जना भएपछि उनीहरुको खर्च गर्ने क्षमता बढ्यो। लुगा लगाउने देखि शिक्षासम्ममा फरकपन देखिएको छ।' अहिले बनेको सडकले २९ हजार जनसंख्यालाई समेटछ। मुगुमा कुल ५५ हजार जनसंख्या रहेको पछिल्लो तथ्यांकमा उल्लेख छ। 
 
संभावना पनि देख्दैछन् 
रारा तालकै कारण मुगुमा पर्यटनको संभावना धेरै छ। सडक सुविधा राम्रो भए पर्यटक आवागमन निकै बढ्ने अनुमान छ। राराको आसपासमा ठूला होटल निर्माण हुने र त्यसले रोजगारी सिर्जना हुने आशमा छन धेरै मुगाली। होटल बन्लान, हाम्रो व्यवसाय पनि फष्टाउला भन्ने आश छ, प्रेम बहादुर भन्छन्। 


 

बजारमा पहुँच भएपछि व्यवसायिक तरकारी खेतिमा लाग्नेहरु बढेका छन्। सडक आसपासमा ड्रिल्पले सिंचाइ आयोजना पनि बनाइदिए पछि व्यवसायिक तरकारी खेति सुरु हुन थालेको छ। कालाकाडामा आलुको व्यवसायिक खेति सुरु भएको छ, निमित्त स्थानीय विकास अधिकारी रावल भन्छन्, यसले स्थानीयलाई व्यवसायिक बन्न प्रेरणा मिल्छ। 
 
भारतमा गएर छोटो अवधिका लागि काम गर्ने प्रचलन यो क्षेत्रमा छ। गाउमा सडक खन्ने काम पाएपछि धेरै मानिस भारत गएनन्। सडकमा काम गरेर ५० हजार देखि चार लाखसम्म कमाए पछि उनी भारत जान चाहेनन्।
 
राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु विकास आयोजनामा एकजुट छन्। सडक आयोजनाका विषयमा छलफल गर्न जम्मा भएका पाँच प्रमुख राजनीतिक दलका प्रतिनिधिले निर्माण आयोजनामा कुनै व्यवधान नगर्ने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। यसले पनि विकासका काम अघि बढाउन मद्दत पुग्छ।