बोलकबोलमा बिक्री भएको नबिलको संस्थापक सेयरको बेस रेट राख्ने जिम्मा ब्रोकरलाई, करमा अन्योल

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
बोलकबोलमा बिक्री भएको नबिलको संस्थापक सेयरको बेस रेट राख्ने जिम्मा ब्रोकरलाई, करमा अन्योल

काठमाडौं। बोलकबोल मार्फत् बिक्री भएको नबिल बैंकको संस्थापक सेयरको बानेस सेयर समायोजन पछि कर कट्टिको लागि नेप्सेले बेस रेट निकाल्न नसकेपछि ब्रोकरहरुलाई जिम्मा दिएको छ।

बोलकबोलमा फरक फरक मूल्यमा सेयरको लागि लगानीकर्ताको आवेदन पर्ने भएकोले यस्तो समस्या देखिएको हो। 'बोलकबोलमा लगानीकर्ताले तिरेको मूल्यको रेञ्जको औसत राखेर बोनस समायोजन पछिको बेट रेट निकालिरहेका छौं, एक ब्रोकरले भने, तर हामीलाई यो प्रक्रिया झन्झटिलो भएको छ।'

Tata
GBIME
Nepal Life

बेस रेटभन्दा बढि मूल्यमा सेयर बिक्री गर्दा लगानीकर्ताले पुँजीगत लाभकर तिनुपर्ने हुन्छ। व्यक्तिगत लगानीकर्तालाई पाँच प्रतिशत र संस्थागत लगानीकर्तालाई १० प्रतिशत लाभकर लाग्छ। यो कर कारोबारको क्रममा नै कटौती हुने व्यवस्था छ।  

गत बैशाखमा एनआइडीसी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको १० लाख ७६ हजार दुई सय ८१ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत् बिक्री गरेको थियो। लगानीकर्ताहरुले एक हजार दुई ५० देखि एक हजार तीन सय १५ रुपैयाँसम्म तिरेका थिए।

बोलकबोलमा बिक्री भएको सेयर पनि पुनः नेप्से मार्फत् उही मूल्य र उही लगानीकर्ता बीच कारोबार गरेर अभिलेखिकरण गरिएको हुन्छ। तर नेप्सेको सफ्टवेयर प्रणालीले किन अभिलेखीकरण हुँदाकै मूल्य लिएर त्यस्ता सेयरको बेस रेट निकाल्न सक्दैन? ती ब्रोकरले प्रश्न गरे।

यस्ता समस्याले राज्यले पाँउने राजस्व गुम्ने वा लगानीकर्ताले नपर्ने अवस्थामा पनि कर तिर्नुपर्ने हुनसक्ने ब्रोकरहरु बताउँछन्।

कसरी हुन्छ बोनस समायोजन?
नबिल बैंकले यसपटक २० प्रतिशत बोनस सेयर दिएको थियो। यस अनुसार नेप्सेले कम्पनीको बुक क्लोजको दिनमा बोनस सेयर समायोजन गरेर कारोबारको लागि नयाँ दर तोक्ने गर्छ।

बैंकको संस्थापक सेयर समायोजन अघि प्रतिकित्ता १५७१ रुपैयाँमा कारोबार भएको थियो। यो दरलाई एक अंक र बोनस सेयर (२० प्रतिशत अर्थात् ०.२) को जोडले भाग गरेर नयाँ दर निकालिन्छ। यसअनुसार बैंकको सस्थापक सेयरको नयाँ मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ निर्धारण भएको थियो। बोनस सेयर समायोजनपछि पनि बैंकको पहिलो कारोबार दुई प्रतिशत मूल्य घटेर १२८५ मा भएको थियो। 

यही नयाँ दर र लगानीकर्ताले कम्पनीको सेयरमा बोलकबोल मार्फत् खरिद गरेको मूल्यको जोडलाई दुई अंकले भाग गरेर बेस रेट निकालिन्छ। यो बेस रेटभन्दा बढि मूल्यमा कुनै लगानीकर्ताले सेयर बिक्री गरेमा उसले पूँजीगत लाभकर तिनुपर्दछ।  हालसम्म लगानीकर्ताले बोलकबेलमा हालेको न्युनतम (१२५० रुपैयाँ) र उच्च मूल्य (१३१५ रुपैयाँ) दुवै राखेर बेस रेट निकाल्दा पनि कर तिर्नुपर्ने अवस्था भने देखिएको छैन।