होला त मोदी र सरिफको विमानस्थलमै भेट? सार्कका लागि भोलीबाट भिअाइपी धमाधम नेपाल

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
होला त मोदी र सरिफको विमानस्थलमै भेट? सार्कका लागि भोलीबाट भिअाइपी धमाधम नेपाल
काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनमा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच भेट हुने या नहुने भन्ने विषयले अन्तर्राष्ट्रिय चर्चा पाइरहेको बेला दुईको त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलमै भेट हुनसक्ने संभावना देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ ५ मिनेटको अन्तरालमा नेपालमा भित्रिँदैछन्।
 

परराष्ट्र मन्त्रालयका उपसचिव कालीप्रसाद पोखरेलका अनुसार मोदी दिउँसो ३ देखि ३:३० भित्र त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्। पाकिस्तानका सरकार प्रमुख सरिफ ३:३५ बजे आइपुग्नेछन्।

पाकिस्तानी प्रधानमन्त्रीले आफूसँगै आफ्नो लागि बुलेट प्रूफ कार पनि लिएर आउँदै छन्। सार्कमा सहभागी हुने राष्ट्र प्रमुख वा सरकार प्रमुखका लागि भारतले नेपाल सरकारलाई फिर्ता लाने गरी छ वटा बुलेट प्रुफ कार दिने समाचार आएपछि पाकिस्तानी प्रमले आफ्नै गाडी ल्याउने समाचार आएको हो। 

पछि पाकिस्तानी विदेश मन्त्रालयले भारतको गाडी अस्वीकार नगरिएको स्पष्ट पारेको थियो। 

भारत-पाकिस्तान सीमामा भएको गोलीबारीपछि भारत र पाकिस्तानबीच औपचारिक संवाद टुटेको छ।
 
भारतीय टेलिभिजन च्यानल एबीपीन्युजको अनलाइन एडिसनले जनाएअनुसार मोदी पाकिस्तानी समकक्षी सरिफसँग छलफल गर्ने 'मुड'मा छन्। केही साताअघिमात्रै दुवै मुलुकका विदेश मन्त्रालयका अधिकारीले भारत-पाकिस्तानबीच कुनै छलफलको विषय नभएको जानकारी दिएका थिए।

मोदी प्रधानमन्त्रीको सपथ लिँदा निम्तालु बनेर सरिफ भारत आएपछि सम्वन्ध सुधारको संदेश प्रवाह भएको थियो। तर, सीमामा गोली चलेपछि दुई देशका विदेश सचिवबीच तय बैठकसमेत अवरुद्ध बनेको थियो।
 
सार्क सम्मेलनका लागि श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्ष बिहान ९:३० बजे नेपाल आइपुग्नेछन्। अफगानिस्तानका राष्ट्रपति प्रो असरफ घानी १०:४५ बजे नेपाल आउने कार्यक्रम छ। भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे ११:४५ मा नेपाल भित्रने छन्। मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन १२:०५ बजे आउने छन्। बंगलादेशका प्रधानमन्त्री शेख हसिना अपरान्ह ४:१५ आइपुग्ने कार्यक्रम छ।
 
सार्क शिखर सम्मेलनमा जहिले पनि भारत र पाकिस्तान मुद्दा केन्द्रमा रहँदै आएको छ। नेपालै भएको यसअघिको सार्क सम्मेलनमा भारतका अटलबिहारी बाजपेयी र पाकिस्तानका परवेज मुसर्रफबीच भेट भएको थियो। सीमा तनावकै कारण दुई देशबीच कुटनीतिक विवाद चर्को अवस्थामा पुगेको थियो। यतिसम्म कि नेपाल आउँदा मुसर्रफले भारतीय आकास नछोई चीनको मार्ग प्रयोग गरेका थिए।

Tata
GBIME
Nepal Life