हुण्डाइ र कियाले बढाए ब्यापार लक्ष्य, यो वर्ष ८० लाख कार बेच्ने लक्ष्य, ६ प्रतिशतले व्यापार बढ्ने

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
हुण्डाइ र कियाले बढाए ब्यापार लक्ष्य, यो वर्ष ८० लाख कार बेच्ने लक्ष्य, ६ प्रतिशतले व्यापार बढ्ने

काठमाडौं। विश्वब्यापी रुपमा व्यापार बढेसँगै मोटर उत्पादक कम्पनी हुन्डाइ र कियाले आफ्नो विक्री लक्ष्य वृद्धि गरेका छन्। यस अघि यो वर्ष ७८ लाख ६० हजार युनिट कार बेच्ने लक्ष्य राखेका यी दुई कम्पनीले अहिले यसलाई बढाए ८० लाख पुर्‍याएका हुन्।

Tata
GBIME
Nepal Life

चिनियाँ बजारमा बढ्दो ब्यापार तथा अमेरिका र युरोपका महत्वपूर्ण बजारमा गाडीको माग बढेकाले ब्यापार लक्ष्य परिवर्तन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यो वर्षको व्यापार गत वर्षको तुलनामा ६ प्रतिशतले बढ्ने अनुमान गरेका छन्। दुवै दक्षिण कोरियाली कम्पनी व्यापारको आधारमा विश्वव्यापी रुपमा पाचौं स्थानमा छन्।

भारत, रुस तथा ब्राजिल जस्ता नयाँ अटो बजारमा हुण्डाइको कारको माग उच्च भएकाले व्यापार बढाएको कम्पनीको भनाइ छ। पछिल्लो समयमा ब्रिक्स बजारमा हुण्डाइले आफ्नो ब्यापार बढाउँदै लगेको छ।

चीनमा स्थानीय म्यानुफ्याक्चरिङ कम्पनी खोलेर ब्यापार अघि बढाएसँगै हुण्डाइको बजार बढेको छ। अहिले किया र हुण्डाइको प्रमुख बजारको रुपमा चीन रहेको छ। 'हुण्डाइ र कियाको प्रमुख बजारको रुपमा यो वर्ष चीन अगाडि आएका छन्,' कोरिया इन्भेष्टमेन्ट सेक्युरिटिजका विश्लेषक सुह सुङ मुनले बताएका छन्।

उनले अमेरिकी बजारमा भने हुण्डाइको व्यापार लक्ष्य पुरा हुनेमा आशंका गरे। हुण्डाईको सोनाटा गाडीको चीन पछि ठुलो बजार अमेरिका हो। अमेरिकामा यो गाडीको व्यापारमा अपेक्षाकृत सुधार हुन नसकेको उनले बताए।

हुण्डाइको युरोप ब्यापार भने आउँदो महिना बढ्ने अपेक्षा गरिएको छ। हुण्डाइले यो महिना युरोपेली बजारमा आइ ट्वान्टी मोडलको गाडी लन्च गर्दैछ। यो गाडी लन्च भएसँगै बजार बुस्ट हुने अपेक्षा कम्पनीले गरेको छ।