गोर्खाको चुक्ता पूँजी १९ करोड ८२ लाख, सय कित्ता सेयर हुनेले ३० कित्ता पाउने, मर्जको विकल्प बाँकी

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
गोर्खाको चुक्ता पूँजी १९ करोड ८२ लाख, सय कित्ता सेयर हुनेले ३० कित्ता पाउने, मर्जको विकल्प बाँकी

काठमाडौं । समस्याग्रस्त गोर्खा डेभलपमेन्ट बैंकको चुक्ता पुजी घट्ने भएको छ । डिडिएको आधारमा बैंकको चुक्ता पूँजी घटाउन लागिएको हो ।

Tata
GBIME
Nepal Life

यो बैंकको चुक्ता पूँजी ६६ करोड आठ लाख १८ हजार छ सय रुपैयाँ छ । तर, बैंकको यो पूँजी घटेर प्रति सेयर ३० रुपैयाँमा सीमिति भएको डिडिए रिपोर्टमा उल्लेख छ । यही रिपोर्टका आधारमा बैंकले चुक्ता पूँजी घटाउने तयारी गरेको हो ।


प्रतिकित्ता सय रुपैयाँ अंकित ६६ लाख आठ हजार कित्ता सेयरलाई नयाँ चुक्ता पूँजी अनुसार समायोजन हुनेछ । नेपाल राष्ट्र बैंकले हालको चुक्ता पूँजीलाई ३० प्रतिसतमा झार्ने निर्णय गरिसेकेको छ । हाल यो डेभलपेन्ट बैंक राष्ट्र बैंकको नियन्त्रणमा छ ।

हालसम्म कायम ६६ करोड चुक्ता पूँजीलाई ३० प्रतिसतमा झार्दा १९ करोड ८२ लाख ४५ हजा पाँच सय ८० रुपैयाँ हुन्छ । यो पूँजीलाई प्रतिकित्ता सय रुपैयाँमा विभाजन गर्दा बैंकको सेयर कित्ता १९ लाख ८२ हजार चार सय ५६ कायम हुन्छ ।

‘कायम हुने नयाँ पूँजी अनुसार सेयर धनीलाई सामानुपाति रुपमा वितरण गर्छौ, गोर्खा विकास बैंकका संयोजक मुक्ति सापकोटाले बिजमाण्डूसँग भने, डिडिए रिपोर्टकै आधारमा हामीले चुक्ता पूँजी समायोजन गर्न लागेका हौं । यसले बैंक सञ्चालनका अन्य विकल्पमा जान पनि सहयोग पुग्छ ।’ यो आधारमा एक सय कित्ता सेयर हुने लगानीकर्ताले ३० कित्ता पाउने छन् । बैंकमा पूँजी थप्ने प्रयास सफल नभएपछि चुक्ता पूँजी समायोजनको विकल्प रोजिएको हो ।

चालु वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको पूँजी २६ प्रतिसतले नकारात्मक छ । तर बैंकको सम्पत्ति विक्रीसमेत गर्दा हाल कायम रहेको चुक्ता पूँजीको ३० प्रतिसत मुल्य प्राप्त हुने अनुमान छ । यही आधारमा ३० प्रतिसतमा पूँजी समायोजन गर्न लागिएको हो ।

चुक्ता पूँजी समायोजन पछि मर्ज वा एक्विजिसनको विकल्पमा जान सहज हुने बैंकको विश्लेषण छ । नयाँ चुक्ता पूँजीमा मर्ज गर्न सजिलो हुनसक्छ, संयोजक सापकोटाले भने, मर्जमा आउने अर्को सस्थाले पनि आफ्नो नाफा हेर्छ । पुरानै चुक्ता पूँजीमा नाफा देखिदैन, त्यसैले समायोजन पछि कायम हुने पूँजीमा अन्य सस्था पनि आकर्षित हुन सक्छन् ।

आगामी पुस मसान्तसम्म मर्ज वा अन्य विकल्पमा टुंगो लाग्ने जानकारी बैंक व्यवस्थापनले दिएको छ । मर्ज हुन नसके अन्तर्राष्ट्रिय प्रचलन अनुसार अन्य विकल्पमा जान राष्ट्र बैंकलाई सुझाव दिने संयोजक सापकोटाले बताए ।

यो बैंकमा सर्वसाधारणको करिब नौ करोड निक्षेप बाँकी छ । यो निक्षेप तत्कालै फिर्ता गर्न सक्ने अवस्थामा बैंक छ । त्यस्तै सस्थागत निक्षेपकर्ताको करिब एक अर्ब ३५ करोडको हाराहारीमा छ । नियमित तालिका बनाएर बैंकले सस्थागत निक्षेपकर्ताको रकम पनि फिर्ता गरिरहेको छ ।