स्टारवुड ब्रान्डको अलफ्ट काठमाडौं होटेल २०१७ बाट सञ्चालनमा आउने, ७५ प्रतिशत काम पुरा

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
स्टारवुड ब्रान्डको अलफ्ट काठमाडौं होटेल २०१७ बाट सञ्चालनमा आउने, ७५ प्रतिशत काम पुरा


काठमाडौं । काठमाडौंको ठमेलमा बनिरहेको अलोफ्ट काठमाडौं ठमेल होटल सन् २०१७ बाट सञ्चालनमा आउने भएको छ। गत वर्षदेखि निर्माण कार्य थालिएको होटल अबको २०१७ बाट सञ्चालनमा आउने होटल अमेरिकी स्टारवुडको अलफ्ट ब्रान्डमा संचालन हुने जानकारी दिइएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको ठमेलमा रहेको छाँयादेवी कम्प्लेक्समा रहेको छाँया सेन्टरमा सञ्चालन हुने होटलको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। छाँया सेन्टरमा काठमाडौं अलफ्ट होटल निर्माणका लागि स्टारवुड समूहसँग गएको सेप्टेम्बरमा सम्झौता भएको थियो।

पाँच अर्ब रुपैयाँ लागतमा बन्ने होटल १४ रोपनी क्षेत्रफलमा रहनेछ। छाँयादेवी कम्प्लेक्सका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले १४ तले होटलमा दुई तला अण्डरग्राउण्ड पार्किङ हुने जानकारी दिए। यसैगरी कम्प्लेक्समा तीनवटा सिनेमा हल पनि हुने छ भने एकहजार दर्शक क्षमताको हल र फुड कोर्ट समेत रहने पाण्डेले बताए।

विश्वप्रसिद्ध स्टारवुड ग्रुपसँगको सहकार्यपछि होटलले पर्यटन प्रवर्द्धनमा अझै सहयोग गर्ने विश्वास पाण्डेले व्यक्त गरे। सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा गर्न पनि होटलले सहयोग पुर्‍याउने पाण्डेको विश्वास छ।

छाँयादेवी कम्प्लेक्सले राजधानीमा सोमबार साँझ आयोजना गरेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले प्रसिद्ध अमेरिकी समूह नेपाली होटलमा प्रवेश गर्नु नेपालका लागि सकारात्मक भएको भन्दै यसले नेपालमा पर्यटन भित्र्याउन सहयोग पुग्ने बताए।

होटलमा भएको यो लगानीले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको भन्दै राजदूत बोडेले लगानीसँगै रोजगारी वृद्धि पनि हुँदै जाने बताए।
स्टारवुड एसिया प्यासिफिक हझटल एन्ड रिसोर्टका उपाध्यक्ष सुदीप जैनले अलोफ्ट काठमाडौं होटल विदेशी पर्यटकको आकर्षणको पहिलो केन्द्र बन्ने बताए। उनले यो होटलले विश्वस्तरीय सुविधा दिने भन्दै पर्यटकको रोजाइ यही होटल बन्ने विश्वास व्यक्त गरे।

यस्तै छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले होटल निर्माण गर्दै जाँदा आफूहरुले ठुलो कठिनाइ भोगेको भन्दै अबका दिनमा सहज निर्माण हुने आशा व्यक्त गरे।

यस्तै छाँया सेन्टरका बजार निर्देशक सुमन पाण्डेले होटल निर्माण भएपछि अन्तर्राष्ट्रिय मार्केटिङ गरी गुणस्तरीय पर्यटक भित्र्याउने बताए।

स्टारउडले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटलहरू सञ्चालन गर्दै आइरहेको छ । जसमा अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेष्ट रहेका छन् ।

छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठको लगानी छ ।