अपि हाइड्रोपावरको आइपीओले पायो ग्रेड थ्री रेटिङ, चैतसम्ममा ४० लाख कित्ता सेयर जारी गर्दै

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
काठमाडौं। अपि हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको प्राथमिक सेयर निष्कासन (आइपीओ) ले ग्रेड थ्री रेटिङ पाएको छ। यसले आधारभुत पक्ष औसत रहेको संकेत गर्छ। 
 
कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणलाई ४० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा १० करोड रुपैयाँको (१० लाख कित्ता) सेयर स्थानीय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि जारी गर्ने छ । 

जलविद्युत् क्षेत्रमा राम्रो अनुभव भएका संस्थापकहरु हुनु, निर्माण कार्यको ६५ प्रतिशत काम सम्पन्न हुनु, जारी पुँजी मध्ये हाल ६० करोड रुपैयाँको चुक्तापूँजी संस्थापकहरुले हाली सकेकाले व्याज खर्चको भार नपर्नु सकारात्मक पक्षको रुपमा लिइएको छ।  
 
आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणले १३२ केभी लाइन बिस्तार गरिरहेको छ। यद्यपी प्रसारण लाइन समयमा निर्माण नभएमा पनि ३२ केभी लाइनको बालान्च सबस्टेसन बैकल्पिक प्रसारण लाइनको रुपमा प्रयोग गर्न सकिने देखिएको रिपोर्टमा उल्लेख छ। 
 
यदी आगामी चैतसम्ममा विद्युत् उत्पादन सम्भव भएमा सुख्खायामको लागि प्रति युनिट बिजुली ८.४ रुपैयाँ र बर्षात्को समयको लागि प्रति युनिट बिजुली ४.८ रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ। तोकिएको बिद्युत् खरिद दर उच्च रहेको पनि उल्लेख छ। 
 
पहिलो चरणमा कम्पनीले स्थानिय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि सेयर जारी गर्ने भएको हो । स्थानिय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि छुट्याइएको मध्ये दुई लाख कित्ता सेयर दार्चुला जिल्लाको बेथला, धुलिगडा, रानी शिखर तथा शिखर गाविसका सबै वडा र बैतडी जिल्लाका रुदे्रश्वर गाविसका सबै वडाका बासिन्दाको लागि जारी हुने छ । बाँकी आठ लाख कित्ता सेयर दार्चुला र वैतडीका अन्य गाविस र सेती अञ्चलका पाँच जिल्लाका बासिन्दाको लागी जारी गरिने छ । 
 
कम्पनीको हाल अधिकृत पुँजी एक अर्ब २० करोड रुपैयाँ, जारी पूँजी एक अर्ब रुपैयाँ रहेको छ ।  स्थानिय र सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्तपूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।  
 
हाल कम्पनीले दार्चुला र बैतडी जिल्लाको सिमानामा रहको नौगढ गाँड आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको पूर्ण क्षमता ८.५ मेगावाट रहेको छ ।  यो आयोजनापछि अपर नौगढ गाँड आयोजना पनि निर्माण गरिने भएको छ । दोस्रो आयोजनाको भने आठ मेगावाट क्षमता रहने छ । 
 
अपि पावरको संस्थापकमा साउथ एसिया इन्जिनियरिङ कम्पनी, अरुणभ्याली हाइड्रोपावर र न्यौपाने समूह रहेको छ । कम्पनीले धितोपत्रमा सेयर निष्कासनको लागि अनुमति माग्दै आवेदन दिइसकेको छ। कम्पनीले चैतसम्ममा स्थानियलाई सेयर जारी गर्ने लक्ष्य लिएको छ। 

Tata
GBIME
Nepal Life