नेपालमा भारु पाँच सय र हजारका नोट चलाउने मोदीको घोषणा, प्रति ब्यक्ति २५ हजार रुपैयाँ सीमा

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
नेपालमा भारु पाँच सय र हजारका नोट चलाउने मोदीको घोषणा, प्रति ब्यक्ति २५ हजार रुपैयाँ सीमा
काठमाडौं। नेपालमा अबदेखि भारतीय ५ सय र एक हजार रुपैयाँ दरका नोटहरु चल्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार काठमाडौंमा नेपालमा भारतीय ठूला नोट चलाउने व्यवस्था आफ्नो तर्फबाट गर्ने बताएका छन्। 
 
नेपालमा १४ बर्षदेखि भारु ५ सयभन्दा बढी दरका नोटहरु चलाउन प्रतिबन्ध लगाइएको थियो। 
 

Tata
GBIME
Nepal Life

नेपाल र भारतबीच गत पुसमा भएको वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) को बैठकले नै ठूला दरका भारु नोट चलाउन सहमति गरिसकेको थियो। सहमति भएपनि त्यसको कार्यान्वयन भइरहेको थिएन। 

मोदीको औपचारिक घोषणापछि ५ सय र एक हजार दरका नोटहरु चल्ने निश्चित भएको हो। पहिले भएको सहमति अनुसार नै प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल वोकेर ल्याउन पाउने घोषणा मोदीले गरेका छन्।
भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुन्छ।  
 
नोट सटही गर्न सजिलो होस् भनेर सीमा क्षेत्रमा दुवै देशले पैसा साट्ने काउन्टर खोल्ने सहमति भएको थियो। सहमति अनुसार भारतबाट नेपाल जाने वा नेपालबाट भारत जानेले आफ्नो सुविधा अनुसार भारु साटेर लैजान पाउने सहमतिमा उल्लेख थियो। 
 
भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएन। 
 
यो ऐन अन्तर्गत बनेका चार नियमावलीमध्ये एउटामा …नेपाल र भुटानमा ५ सय रुपैयाँभन्दा ठूला नोटहरु लैजान वा पठाउन प्रतिवन्ध गरिएको छ' भन्ने वाक्यांश परेपछि भारु ठूला नोटको कारोबार बन्द भएको थियो। 
 
ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि नेपालमा पाँच सयमाथिका नोट लैजान प्रतिबन्ध लगाएको थियो। भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो। 
 
भारतले नेपालमा पाँच सय माथिका भारु लैजान नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंकले पनि नेपालमा ठूला नोटको कारोबार नगर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकले आफूले संकलन गरेका ठूला नोटहरु भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) मा नसाटिने भएपछि नेपालभित्रको कारोबार अवैध भएको भन्दै सार्वजनिक सुचना जारी गरेको थियो। 
 
नेपालमा ठूला दरका भारुका नोटहरु अवैधानिक भएपनि चलचल्तीमा भने छँदैछ। नेपालका सीमावर्ति शहरहरुमा ठूला दरका भारु नोटहरु चल्दै आएका छन्। भारतीय पर्यटकहरु बढी आउने विराटनगर, वीरगञ्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलहरुमा भारु ५ सयमाथिका नोटहरु चल्दै आएको छ। औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचल्ने भएकाले यसबाट भारतमा रहेका नेपाली कामदारहरुलाई अप्ठेरो पर्ने गरेको थियो।
 
'पाँच सय र हजार दरका भारु नोटहरु चल्दा यसको व्यवस्थापन गर्न हामीलाई निकै सहज हुन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'साना दरका नोटहरुको आधिकारिकता छुट्याउनभन्दा ठूला दरको छुट्याउन सजिलो पनि हुन्छ।' 
 
नेपालमा अवैध छ भन्ने थाहा नपाइ पाँच सयभन्दा माथिका भारुहरु बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) हरु अवैध भारु कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए। कतिपय नेपालीहरुले सीमा क्षेत्रमा नोट साट्न बसेका दलालहरुलाई प्रचलित विनिमय दर (भारु १०० बराबर नेपाली १६० रुपैयाँ) भन्दा कममा बिक्री गर्नु पर्ने वाध्यता पनि थियो।
 
नेपाल राष्ट्र बैंकले निकै बर्षदेखि ठूला दरका भारु नेपालमा चलाउन दिन भारतसँग आग्रह गर्दै आएको थियो। राष्ट्र बैंकले पछिल्लो पटक भारतीय राजदुत, आरबिआइका गभर्नर, डेपुटी गभर्नरलाई आग्रह गरेको थियो। सरकारले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुलाई ठूला दरका भारु चलाउन दिन आग्रह गर्दै आएको थियो।