सार्कमा कुन देशका नेताले के भने ?

बिजमाण्डू
२०७१ मंसिर १० गते ००:०० | Nov 26, 2014
सार्कमा कुन देशका नेताले के भने ?

काठमाडौं । राजधानीमा १८औं सार्क सम्मेलन सुरु भएको छ । राष्ट्रिय सभागृहमा तामझामका साथ सम्मेलन सुरु भएको हो । विहान ठीक नौ बजे नै सबै सदस्य राष्ट्रका प्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका थिए ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री सूशील कोइरालाले सार्क सम्मेलनको विधिवत उद्घाटन गरेका हुन् । उनले लामो उद्घाटन मन्तव्य दिदै सार्क मुलुकको समृद्धिका विषयमा बताए । नेपालको राजनीतिक अवस्था र लोकतान्त्रिक पद्दतिका विषयमा उनले चर्चा गरे ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले प्रधानमन्त्री कोइरालालाई सार्कको अध्यक्षता हस्तान्तरण गरे । सम्मेलनको अध्यक्षता प्रधानमन्त्री कोइरालाले गरेका थिए ।
सम्वाेधनका क्रममा सार्कका सरकार प्रमुखले गरिवी निवारण, अार्थिक वृद्धि, शान्ति लगायतका मुद्दा उठाए । सम्मेलनमा सबैले उस्तै एजेण्डामा सम्बोधन गरिरहँदा सबैको नजर भने सार्कका दुर्इ 'बिग ब्रदर'  भारत र पाकिस्तानका प्रधानमन्त्रीमा थियो । 
तर दुर्इ देशका प्रधानमन्त्रीकाे उस्तै एजेण्डा भाषण गरे पनि एक अर्का प्रति चासो देखाएनन् । 

नवाज सरिफ. प्रधानमन्त्री पाकिस्ताना

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा गरेका छन्।

सार्क शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री सरिफले शान्ति र समृद्धिका लागि गहन एकता नारा दिइएकाले यस सम्मेलनमार्फत नै दक्षिण एसियालाई यसै नाराबमोजिम अगुवाइ गर्न सबैलाई आह्वान पनि गरे।

सरिफले आपसमा रहेका विगतका सबै खालका आपसी तिक्ततालाई मेटाउँदै आपसी सहयोग र समृद्धिका लागि सबैको साझा समस्याका रुपमा रहेको आतङ्कवाद र गरिबी निवारणको मुद्दामा ऐक्यबद्धरुपमा लाग्न पनि आह्वान गरे। प्रधानमन्त्री सरिफले दक्षिण एसियाली क्षेत्रमा सामाजिक एवम् आर्थिक रुपान्तरणका लागि महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षामा पहुँच एवम् सुधार गर्नेतर्फ सार्कका आगामी कार्यक्रमलाई लक्षित गर्नुपर्नेमा जोड दिए।

दक्षिण एसियाली क्षेत्र विश्वको कम्तीमा पनि पाँच भागको एकभाग जनसङ्ख्या रहेको क्षेत्र हो भन्दै सरिफले यहाँ १५ देखि २४ वर्षको युवा शक्ति करिब पाँच भागको एक भाग बसोवास गर्ने हुँदा आगामी दिनमा यो शक्तिलाई सम्बोधन गरी उनीहरुको भविष्यलाई उज्ज्वल बनाउनेतर्फ हाम्रा कार्यक्रम लक्षित हुनुपर्नेमा जोड दिए।

विश्वको यतिधेरै जनशक्ति तथा युवा जनशक्तिको बसोवास रहेको यस क्षेत्रको आर्थिक विकासको दर सरदर ६ प्रतिशत मात्र रहेको र विश्व व्यापारकै जम्मा चार प्रतिशतमात्र यस क्षेत्रले ओगटेकाले आर्थिक र सामाजिक विकासका एजेन्डालाई थप विस्तार गरिनुपर्नेमा उनको जोड थियो ।

सरिफले ग्रामीण क्षेत्र, मानव संशाधन एवम् स्रोतका साथै विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान दिँदै सीमा क्षेत्रमा हुने विविध क्रियाकलापको आपसी सूचना आदानप्रदानका लागि पनि ध्यानाकर्षण गराए। साथै दक्षिण एसिया बाढीपहिरो र प्राकृतिक प्रकोपको चपेटामा सधैँ पर्ने भएकाले यस क्षेत्रमा बाढीपहिरो र मौसमका पूर्व सूचना आदानप्रदान गर्नका लागि पूर्व सूचना सम्प्रेषण प्रणाली स्थापनामा जोड उनले दिए।

स्वास्थ्य एवम् रोग निवारणका क्षेत्रमा काम गर्न आग्रह गर्दै उनले स्वास्थ्यमा थप सामूहिक लगानी र सर्ने खालका रोगको निवारणमा सामूहिक पहलको जरुरी रहेको औँल्याए। सरिफले गरिबी निवारण र आतङ्कवाद यस क्षेत्रका साझा समस्या रहेको स्मरण गर्दै यसका लागि सबैको सहकार्य रहनुपर्ने र शान्त, समृद्ध तथा प्रगति हासिल गर्नसक्ने दक्षिण एसियाको निर्माणमा लाग्नुपर्नेमा बताए।

सार्कले दक्षिण एसियाका नागरिकको भावना र चाहनाको प्रतिनिधित्व गर्नुपर्छ भन्दै सरिफले त्यसका लागि हाम्रा कार्यक्रम पनि लक्षित हुनुपर्नेमा जोड दिए। दक्षिण एसियाको आर्थिक विकास केही हदसम्म यहाँ ऊर्जा क्षेत्रको विकास र यसको आपसी उपलब्धतामा सहजीकरण तथा खरिद गर्नसक्ने मूल्यमा पनि भरपर्ने भएकाले ऊर्जाको उत्पादन र वितरणमा सामूहिक प्रयासतर्फ सार्कका आगामी कार्यक्रम केन्द्रित गर्न उनले आग्रह गरे।

साथै ऊर्जाको समस्या समाधानका लागि भौगोलिक अवस्था र त्यसको सम्भावनाका आधारमा अन्तरदेशीय ग्यास पाइप लाइनको अवधारणालाई पनि अब अघि बढाउनुपर्नेमा पनि उनको जोड थियो। सरिफले १८ औँ शिखर सम्मेलनको आयोजना र विशेष आतिथ्यताका लागि नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई विशेष धन्यवाद एवम् बधाई ज्ञापन गर्दै तथा यसअघिको १७ औँ सम्मेलनको आयोजना र आजसम्मको अध्यक्षताका लागि पनि माल्दिभ्सलाई पनि धन्यवाद ज्ञापन गरे । रासस

महिन्दा राजापाक्ष, राष्‍ट्रपति श्रीलंका
सार्क सम्मेलनलाई सम्बोधन गर्दै श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेले गरीबी निवारण र समावेशितामा जोड दिए। दक्षिण एसियाली क्षेत्रमा आर्थिक साझेदारिता बढाउनु पर्ने भन्दै राजापाक्षेले क्षेत्रीय एकताका लागि श्रीलंका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

सार्कका अबका गतिविधि गरीबी निवारण, रोजगारी सर्जना र दीगो विकासमा हुनुपर्नेमा राजापक्षले जोड दिए।


सार्क सम्मेलनको अवसर पारेर गौतम बुद्धको जन्मथलोमा आउन पाउनुलाई आफूले ठुलो उपलब्धि ठानेको पनि राजापाक्षेले बताए। मानवअधिकारलाई राजनीति हतियार बनाउने गरेको भन्दै उनले असन्तुष्टी पनि जनाए।

असरफ घानी, राष्ट्रपति अफगानिस्तान

यस्तै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्क क्षेत्रको एकीकृत विकासका लागि आफूहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए। विश्वका अरु यस्तै संगठनहरु ठुलो लगानी र एकीकृत विकासमार्फत नै अघि बढेको भन्दै राष्ट्रपति घानीले सार्क पनि अब त्यै दिशामा अघि बढ्नुपर्ने बताए।


सम्मृद्धि र दीगोपना नै अबको विश्वको आवश्यकता भएको भन्दै घानीले ग्लोबल नेटवर्कमा जोड दिए।

आततंकारीका लागि अब अफगान भूमी प्रयोग हुन दिने छैन।


पूर्वाधारको विकास नै सार्क भित्रको सहकार्यताको पहिलो आधार हुन सक्छ। शान्ति र सम्मृद्धिका लागि अफगानिस्तान जस्तोकुकै सहयोग गर्न तयार छ।

शेख हसिना वाजेद, प्रधानमन्त्री बंगलादेश

सुन्दर काठमाडौंमा आउन पाउँदा म निकै हर्षित छु गरीबी निवारण यो क्षेत्रमा विकासको पहिलो बाधक बनेको छ। खाद्य र पोषण सुरक्षा पनि हाम्रो लागि चुनौती हो। बंगलादेशको पछिल्लो पाँच वर्षको औषत आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा धेरै छ।

हामीले विश्वव्यापी मान्यता अनुसार पोषण र सरसफाइमा काम गर्दै आएका छौं। सहकार्यले नै हामीलाई अघि बढ्न सक्छ। हामी पोषण सुरक्षा र गरीबी निवारणका लागि सहकार्य गर्न सक्छौं। यसका लागि हामी सबैले गर्न सक्ने भनेको कृषिको विकास हो ।


हामीले ३२० मिलियन किताब माविसम्म निशुल्क वितरण गर्दै आएका छौं। हामीले हाम्रा विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन ठुलो खर्च गरिरहेका छौं। हामीले महिलाका लागि सीपमूलक शिक्षा दिँदै आएका छौं।



हामी २०२१ सम्ममा डिजिटल बंगलादेश बनाउने अभियानमा छौं। यसका लागि हामीले थुप्रै सेवा विस्तार गरिसकेका छौं। हामीले तीन मिलियन सोलार होम स्थापना गरेका छौं। हामीले गएको पाँचवर्षमा २ प्रतिशतबाट प्रविधि प्रयोग गर्नेको अनुपात २७ प्रतिशत पुर्या्एका छौं। बंगलादेश यसका लागि सार्क क्षेत्रमा गहीरो सहकार्यका लागि तयार छ।


प्राकृतिक प्रकोप, वातावरण परिवर्तन जस्ता समस्याले हामीलाई समस्या पारेको छ। हामीले नेशनल क्लाइमेट चेन्ज स्ट्रटेजी बनाएर कार्यान्वयनमा गइसकेका छौं। हाइड्रोपावरलगायतका क्षेत्रमा दीगो विकासका लागि हामीले चरणबद्ध काम गर्दै आएका छौं।


हामीले क्षेत्रीय, उपक्षेत्रीय र द्वीदेशीय रुपमा सहकार्य गर्दै ऊर्जा विकासमा जोड दिएका छौं। स्रोत साधनको उचित प्रयोग नै अहिलेको प्रमुख आवश्यकता हो। फिजिलक कनेक्टिभिटी दक्षिण एसियाको विकासका लागि आवश्यक छ। हामीले रिजल्ट ओरिएन्टेड काम गर्न जरुरी छ र यसैका लागि सहकार्य पनि आवश्यक छ ।

छिरिङ तोग्बे, प्रधानमन्त्री भुटान
अध्यात्मिक राजधानी नेपाल र बुद्ध भूमिमा आउन पाउनु मेरा लागि भाग्यको कुरा हो। सहकार्यका लागि भुटान सरकारको पूर्ण साथ रहनेछ। सीमा क्षेत्रमा हुने आतंकवाद, गरीबी निवार र मानव बेचबिखन समस्याको रुपमा रहेको छ। यसलागि समाधान गर्न हामी लाग्नुपर्छ।


वातावरण परिवर्तन हाम्रा लागि समस्याको विषय बनेको छ। बाढी पहिरो जस्ता समस्याले हामी आक्रान्त छौं। वातावरणीय असन्तुलनबाट हुने समस्याबाट हामी ग्रस्त छौं।

गरीबी निवारण हाम्रो क्षेत्रको कहिल्यै समाधान नहुने समस्या बनेको छ। धेरै नागरिक भोकमरीको शिकार बनेका छन्। हाम्रो गरीबी निवारण योजना दृढ प्रतिबद्धताका साथ अघि बढाउनुपर्छ।


९० प्रतिशत प्राथमिक स्वास्थ्य सेवा हामीले पुर्यापएका छौं। हाम्रा १२ प्रतिशत जनसंख्या अझै गरिबीको रेखा मुनी छन्। यो संख्या हाम्रो सम्मृद्धिको बाधक हो। हामी यसलाई घटाउन लागि परेका छौं।


हाम्रो क्षेत्रमा साझेदारी बढाएर हामीले अघि बढ्नुपर्छ। क्षेत्रीय रेलवेको विकास गर्ने गरी हामीले काम गर्नुपर्छ। आतंकवाद हामी सबैको साझा समस्या हो।


सार्कको प्रतिबद्धता आतंकवाद निर्मूल गर्नेमा हुनुपर्छ। हामी शान्तिका पक्षधर हौं। त्यसैले हामीले शान्तिस्थापनामा जोड दिनुपर्छ। हाम्रो नागरिकको सुरक्षा नै हाम्रो प्राथमिकता हो।


दक्षिण एसिया संभावनाको खानी हो। हामीले सम्मृद्धि र आर्थिक सहयोगका बाधकलाई हटाउने प्रतिबद्धता जनाउनुपर्छ। यो क्षेत्रका मानिसको जीवनस्तर उकास्नेमा हाम्रो जोड हुनुपर्छ।

नरेन्द्र मोदी, प्रधानमन्त्री भारत
म दोस्रो पटक तपाईंहरु सबैलाई यसरी एकैसाथ भेट्दैछु।

अघिल्लो सम्मेलनमा यहाँ भएका मध्ये दुई जना मात्रै थियौं। म तपाईंहरु सबैलाई यहाँ फेरि पनि हार्दिक स्वागत गर्दछु। 
 

पछिल्ला केही महिनामा मैले विश्वका धेरै देश घुमें। प्रगतिका लागि विभिन्न देशसँग आर्थिक साझेदारी धेरै सहमतिहरु पनि भएका छन्। 
 
हाम्रो सहकार्य दक्षिण एसियाका लागि अत्यावश्यक भइसकेको छ। हाम्रो असिमीत सम्भावना प्रयोग गर्नुपर्छ। हामीले एक अर्काबाट पनि धेरै कुराहरु सिक्न सक्छौं। 
 
हामीले सार्कमार्फत लामो इतिहास पार गरिसकेका छौं। हामीले सहकार्य र सहयोगबाट धेरै सफलता हात पार्न सक्छौं। हामीबीच ५ प्रतिशत भन्दा कम मात्रै ट्रेड भइरहेको छ। साफ्टा अन्तर्गत पनि १० प्रतिशत भन्दा धेरै व्यापार बढ्न सकेको छैन।
 
नेपाल र भारतबी ऊर्जाको विकासमा सहयोगको नयाँ इरा सुरु भएको छ। श्रीलंकासँग पनि फ्रिट्रड एग्रिमेन्टमार्फत व्यापार भइरहेको छ। माल्दिभ्ससँग पनि इन्धनको सहकार्यका लागि हामी तयार छौं। भारत र भुटानबीच यस अघि नै यस्तो सहकार्य भइसकेको छ। 
 
हामी सार्कमार्फत हाम्रा जनताको इच्छा र आकांक्षा पुरा गर्न त सफल भएका छैनौं। तर हामीले केही गर्ने हो भने यो क्षेत्रको भविष्य उज्वल छ र हामी केही गर्न सक्छौं। 
 
यो क्षेत्रको विकासका लागि भारतले लिड गर्न सक्छ र हामी आवश्यक काम गर्नेछौं। भारतको सार्क क्षेत्रका देशसँग अहिले ट्रेड सर्प्लस छ। म तपाईंहरुलाई भारतीय लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गर्छु। जसले तपाईंका युवाले प्रत्यक्ष रोजगारी पाउनेछन। 
 
हामीले हाम्रा गाउँ तथा शहरको विकास गर्ने हो भने हाम्रो भविष्य पनि राम्रो बनाउन सक्छ।  सार्क क्षेत्रको विकास र व्यापारका लागि भारत सहयोग गर्न तयार छ। 
 
हाम्रो सम्बन्ध अझ बलियो हुँदै गएको छ। हामीले साधारण मानिसलाई पनि यो सम्बन्धमा जोड्न सक्यौं भने अझ बलियो हुन्छौं। हामी रोड, रेल तथा हवाइ मार्गमार्फत हामीलाई अझ जोड्न सक्छौं। 
 
पर्यटनको विकासमार्फत हामी अझ अगाडि बढ्न सक्छौं। हामी बुद्धिस्ट सर्किट सुरु गर्न सक्छौं। तर हामीले अहिलेसम्म यो गर्न सकेका छैनौं।  हामीले विज्ञान र प्रविधिको प्रयोग गरी हाम्रो भविष्य अझ उज्यालो बनाउन सक्छौं। 
 
यो क्षेत्रलाई पोलियो मुक्त बनाउन भारतले भ्याक्सिन सहयोग गर्न सक्छ। हामी सार्क क्षेत्रमा मेडिकल भिसा दिन सक्छौं।  इन्फरमेशन टेक्नोलोजीले हाम्रो शिक्षाको अध्याँरो हटाउन सक्छ। 
 
हामी दक्षिण एसियाली विद्यार्थीलाई इ लाइब्रेरी र इन्टरनेटमार्फत पढाइ अघि बढाउन सक्ने अवस्थामा छौं। 
भारतले सार्क क्षेत्रका लागि स्याटेलाइट दिन सक्छ। यसले हाम्रा विभिन्न समस्या समाधान हुन्छ; ममानव संशासनको प्रयोग, सूचना प्रविधिको विकास। 
 
हामीले स्याटेलाइट २०१६ मा सार्क क्षेत्रका लागि लन्च गर्ने योजना बनाएका छौं। प्राकृतिक प्रकोप व्यवस्थापनका लागि भारतको अभूतपूर्ण अनुभव दक्षिण एसियाका लागि उपयुक्त हुन सक्छ। हामी हाम्रा जनताको जीवन र उनीहरुको सुरक्षाका लागि अवस्य पनि सचेत हुनैपर्छ। 
 
२००८ को मुम्बई हमलाले हामीलाई धेरै नै दुखित बनायो। यस्ता घटनामा हामी सहकार्य गरेर अघि बढ्नैपर्छ। 
हामीबीच लगानी र विकासमा साझेदारी हुनैपर्छ। यो सोसल मिडियाको समय हो। हामीले नयाँ आइडियाको प्रयोग गर्नुपर्छ।

अब्दुल्ला यमिन, राष्ट्रपति माल्दिभ्स

हामीसँग विशिष्ठिकृत सम्बन्ध छ। हामीले हाम्रो सम्बन्धलाई इनोभेसनमा प्रयोग गर्नसक्नुपर्छ। 
हामीसँग इनोभेटिभ आइडिया भएका युवा शक्ति छ। यसलाई हामीले हामी सबैको हितमा प्रयोग गर्नसक्नुपर्छ। हामीले भने अनुसारको काम गर्न सकेका छैनौं। 
हामीसँग पर्याप्त प्राकृतिक स्रोत र साधन छ तर हामीले त्यसलाई हाम्रो हितमा प्रयोग गर्न सकेनौं। हामीले आपसी व्यापारलाई अझै विस्तार गर्न सक्नुपर्छ। 
हामी यो क्षेत्रको गरीबी निवारणको लागि धेरै काम गर्नुपर्छ। हामीले यसअघि पनि दुई पटक गरीबी निवारणका विषयमा काठमाडौंमा नै छलफल गरिसक्यौं। तर हामीले भने अनुसार अहिलेसम्म उपलब्धि हुन सकेको छैन। हामीले हाम्रो गरिबीलाई सम्मृद्धिमा लैजानुपर्छ। 
सार्क अहिलेको सन्दर्भमा विश्वकै एक महत्वपूर्ण क्षेत्र बन्न सक्छ। हामीले उपलब्धि हासिल गर्नसक्ने धेरै ठाउँहरु छन्। हामीले ती सबैलाई प्रयोग गरेर अघि बढ्न सक्नुपर्छ। 
अहिलेको अवस्थामा आर्थिक रुपमा स्थिरता, शान्ति र आतंकवाद मुक्त सार्क बनाउने अभियान हाम्रो हुनुपर्छ।