भारत-नेपालबीच उर्जामा नयाँ युग सुरु भएको छ : मोदी, साफ्टा पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने

बिजमाण्डू
२०७१ मंसिर १० गते ००:०० | Nov 26, 2014

काठमाडौँ: भारतका नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकहरुको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशामा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका छन्।

Tata
GBIME
Nepal Life

अठारौँ सार्क शिखर सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सदस्य देशबीचको सहकार्य र सहयोगबाटै ३० वर्ष अगाडि सार्कले निधारण गरेको उद्देश्य र लक्ष्य हासिल गर्न सकिने बताए। उनले भने, 'सँगसँगै भएर मात्र हुँदैन नजिक पनि हुनुपर्छ जसले सार्कका लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्छ ।'

प्रधानमन्त्री मोदीले दक्षिण एसियाको समग्र विकासका निम्ति व्यापार, लगानी, हरेक क्षेत्रमा पारस्परिक सहयोग अपरिहार्य भएको बताउँदै शान्ति र समृद्धिका लागि हातमा हात र काँधमा काँध मिलाएर अग्रसर हुनुपर्ने बताए। समृद्धशाली सार्क क्षेत्रका लागि सुरक्षित दक्षिण एसिया आवश्यक भएको विचार व्यक्त गर्दै उनले एकअर्काका सुरक्षा चिन्ता र चासोलाई समुचित सम्बोधन गर्न सदस्य देशबीच प्रगाढ, गहन एवम् विश्वासपूर्ण मित्रभाव चाहिने बताए।

छिमेकीका सुख र समृद्धिमा रमाउने र दुःख र विपत्तिका बेला सघाउने भारतको चरित्र भएको भन्दै उनले शिक्षा, स्वास्थ्य, दैवीविपत्ति, स्रोत–साधनको व्यवस्थापन, विज्ञान–प्रविधि, सूचना तथा सञ्चारका क्षेत्रमा सदस्य राष्ट्रसँग सहकार्य गर्न भारत सदा तत्पर रहेको बताए।

सदस्य देशका गाउँ र सहर उज्यालो पार्न सकेमात्र दक्षिण एसियाको भविष्य समुज्वल बन्ने भएकाले यस क्षेत्रलाई विश्वको अँध्यारो भागका रुपमा रहन नदिन सौर्य र स्वच्छ ऊर्जाका क्षेत्रमा सामूहिक ढङ्गले काम हुनुपर्ने आवश्यकता प्रधानमन्त्री मोदीले औँल्याए।

व्यापार, वाणिज्य, बौद्ध सर्किट, क्षेत्रीय पर्यटन प्रवर्द्धन, जनता जनताबीचको सम्पर्क विस्तारका लागि जल, स्थल र आकाशमार्गबाट सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले ती क्षेत्रको प्रवर्द्धनका निम्ति भौतिक पूर्वाधार निर्माणमा भारत नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे।

सरल र सहजरुपमा क्षेत्रीय व्यापार विस्तार गर्न प्रक्रियागत काम, गुणस्तर एवम् मापदण्डलाई सरल तुल्याएको जानकारी दिँदै उनले दक्षिण एसियाको साझा समृद्धिका लागि विगतका मतभिन्नता त्यागेर सामूहिक प्रयासको थालनी गर्नुपर्ने अभिमत व्यक्त गरे।

'बैंकक–सिङ्गापुरजस्ता सार्क बाहिरका मुलुकका सहर यात्राका निम्ति सहज र सरल छन् तर हाम्रै कारणले सार्क मुलुकका उत्पादन घुमाउरो र लामो मार्ग भएर एक अर्काका बजारमा पुग्दा उच्च मूल्यले उपभोक्ता मारमा परेका छन्,' दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री मोदीले भने।

सार्कका सबै सदस्य मुलुकहरुको चौतर्फी समृद्धिका निम्ति भारतले विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै उनले भने, 'भारत र नेपालबीच ऊर्जा क्षेत्रको प्रवद्र्धनमा नयाँ युग प्रारम्भ छ।' रासस