विभागले उठायो चार महिनामा ३७ अर्व ६८ करोड राजस्व, लक्ष भन्दा २६ करोड रुपैयाँ बढी राजस्व संकलन

बिजमाण्डू
२०७१ मंसिर १० गते ००:०० | Nov 26, 2014
विभागले उठायो चार महिनामा ३७ अर्व ६८ करोड राजस्व, लक्ष भन्दा २६ करोड रुपैयाँ बढी राजस्व संकलन

काठमाडौं। आन्तरिक राजस्व विभागले कात्तिक मसान्तसम्म ३७ अर्ब ६८ करोड १४ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउन देखि कात्तिकसम्म चार महिनाको अवधिमा विभागले आफ्ना कार्यालयमार्फत लक्ष भन्दा धेरै राजस्व संकलन गरेको हो।

Tata
GBIME
Nepal Life

विभागले आयोजना गरेको समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार चार महिनाका लागि ३७ अर्ब ४१ करोड  ८६ लाख रुपैयाँ लक्ष तोकिएको थियो। विभागले लक्ष भन्दा करिब २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो।

विगत चार महिनामा आयकर १६ अर्व २८ करोड २९  लाख, मूल्य अभिवृद्धि कर (भ्याट) १२ अर्व २७ करोड १७ लाख र अन्तःशुल्क आठ अर्व ८१ करोड ३६ लाख असुली भएको विभागले जनाएको छ। आयकर लक्षभन्दा पाँच प्रतिसत बढी उठ्यो भने भ्याट लक्षको ९८ प्रतिसत र आयकर ९७ प्रतिसत मात्रै असुली भयो।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १३ करोड १७ लाख र १८ करोड चार लाख असुली भएको छ। यी दुबै शीर्षकमा लक्ष भन्दा बढी राजस्व उठ्यो। समिक्षामा उल्लेख गरिए अनुसार गत वर्षको तुलनामा आयकर तर्फको वृद्धिदर २८ प्रतिशत, भ्याटको वृद्धिदर १५ प्रतिशत, अन्तशुल्क १५ प्रतिशत, स्वास्थ्य सेवा कर २६ प्रतिशत र शिक्षा सेवा शुल्क सात प्रतिशतले बढेको छ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले राजस्व असुली सम्बन्धी नियमित कार्य गर्न, बक्यौता असुलीमा जोड दिन निर्देशन दिए। २० अर्व भन्दा बढी वास्तविक असुल गर्नुपर्ने बक्यौता रहेकाले त्यस्तो रकम उठाउनेतर्फ लाग्न र बजारमा गएर बील बिजकको निरीक्षण गर्न उनले निर्देशन दिए। मूल्यअभिवृद्धि कर निर्देशिकालाई संशोधन एवं परिमार्जन सहित जारी गर्न कर प्रशासनका कर्मचारीहरुलाई महानिर्देशकले निर्देशन दिएका छन्।