विवाहकै सिजनमा सुनको कारोबारमा मन्दी, पोहोरको तुलनामा २५% ले माग घट्यो, सार्कको असर बजारमा

बिजमाण्डू
२०७१ मंसिर १० गते ००:०० | Nov 26, 2014
विवाहकै सिजनमा सुनको कारोबारमा मन्दी, पोहोरको तुलनामा २५% ले माग घट्यो, सार्कको असर बजारमा

काठमाडौं। हिन्दू संस्कार अनुसार विवाहको सबैभन्दा धेरै चाप मंसिरमा हुन्छ र यही मंसिरमा सुनचाँहीको कारोबार पनि उच्च हुने गर्छ। तर यसपाली भने मंसिरमा सुनचाँदीको कारोबारमा मन्दी छाएको छ।

Tata
GBIME
Nepal Life

गएको वर्ष मंसिरमा दैनिक ४० किलोसम्म सुनको माग भएकोमा यसपाली दैनिक २५ देखि ३० किलो सुनको मात्रै भएका भएको व्यवसायी तेजरत्न शाक्यले बताए। 'विवाहको सिजन भए पनि यसपाली सुनको माग बढ्न सकेन,' शाक्यले भने, 'पोहोरको तुलानमा २५ प्रतिशतले माग घटेको छ।' यसपाली पोहोरको तुलनामा सुनको भाउ पनि सस्तो भएको छ।

सार्कले पनि व्यापार घटायो

मंसिरको सुरुमै सार्क सम्मेलन आयोजना हुँदा मानिसहरुको चहलपहलमा असर पर्‍यो। सरकारले पूर्ण रुपमा गाडी सञ्चालनमा रोक लगाउँदा बजारसम्म पुग्न मानिसलाई पुग्न निकै कठिनाइ भयो र अत्यावश्यक पर्दा बाहेक मानिसहरु बजार निस्किएनन्। यसको असर सुन बजारमा पनि परेको बताउँछन् शाक्य।

'सार्कका कारण पनि बजारमा मान्छे आउन सकेनन् र व्यापारमा असर गर्‍यो,' शाक्यले भने, 'मंसिर भएपनि बजारसम्म ग्राहक पुग्न कठिनाई हुँदा सुनको कारोबारमा मन्दी छायो।'

भाउ घट्ने हल्लाले सुनको कारोबारमा असर

यो वर्ष सुनको भाउमा निकै उतारचढाव आइरहेको छ। केही दिन अघि सुनको भाउ ४८ हजार रुपैयाँसम्म आइपुगेको थियो भने अहिले ५० हजार छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउमा उतारचढाव भइरहेकाले नेपाली ग्राहक पनि भाउ घट्ने अनुमानका साथ सुन किन्न डराइरहेको बताउँछन् शाक्य।

'सुनको भाउ घटबढ भइरहेको छ,' उनले भने, 'भाउ अझै घट्ने आशामा मान्छेले सुन किनिहालेको छैन।' यो पटक मंसिरमा एक दिन मात्रै विवाहको लगन परेकाले पनि सुन कारोबार प्रभावित भएको उनले बताए। यसपाली हिन्दू संस्कार मंसिर २० गते एक दिन मात्रै विवाहको लगन छ।

यसैबीच  बुधबार सुनको भाउ स्थिर छ। मंगलबार जस्तै बुधबार पनि सुन तोलामा ५१ हजार दुई सय र चाँदी सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।