सोल्टीको भोजमा पनि टिकेनन् सरिफ, मोदीको वर्चश्वले के नेपालमा ‘ह्युमिलियसन’ अनुभव गर्दैछन् नवाज ?

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014

Tata
GBIME
Nepal Life

  पास पास है‌, पर साथ साथ नहि‌

काठमाडौं ।   आयोजक नेपाल भए पनि सार्क शिखर सम्मेलनमा विश्वको ध्यान थियो दुई सरकार प्रमुख भारतीय नरेन्द्र मोदी र पाकिस्तानी नवाज सरिफमाथि। सँधै झै सार्कलाई यी दुई सरकार प्रमुखले नै छायाँमा पारे।


सार्कका एजेन्डाहरुभन्दा धेरै चर्चा रह्यो यी दुईबीचको मनोमालिन्य।  शिखर सम्मेलनको उद्घाटनसत्रमा मोदी र सरिफले दुवै देशको नाम त लिएनन् लिएनन्, कसरी सकिन्छ एकले अर्कालाई 'नजरअन्दाज'मात्र गर्ने प्रयत्न गरेको पहिलोपोष्ट अनलार्इनमा छ।

दुवैले हात मिलाउँछन् या अंकमाल नै गरेर पो सम्बन्ध सुधार्छन् कि भन्ने अपेक्षा उद्घाटन सत्रको व्यवहारले व्यर्थ साबित गर्‍यो।  मिडियासामु एक अर्काप्रति सद्‍भाव नदेखाएका यी दुई नेता मिडिया अनुपस्थित ठाउँमा पनि नजिकिन चाहेनन्।

सार्क सम्मेलनको पहिलो दिन बुधबारको साँझ प्रधानमन्त्री सुशील कोइरालाले होटल सोल्टी क्राउन प्लाजामा रात्री भोज आयोजना गरे। तर, भोज सुरु हुँदा नहुँदै सरिफ त्यहाँबाट बाहिरिए। सोल्टी होटलस्थित सूत्र भन्छ, 'मोदीसँग नजिक हुने सम्भावनासमेत नहुँदै नवाज सरिफ कार्यक्रमबाट बाहिरिए।'  

के असहज महसूस गर्दैछन् सरिफ?

उद्घाटन सत्रमा एकले अर्काको अस्तित्व स्वीकार नगरेका दुवै रात्री भोजमा पनि नजिकिन नचाहेको प्रस्ट देखियो। नेपालमा मात्र होइन मोदीको लहर दक्षिण एसियाली सबै मुलुकमा उत्तिकै देखिएको छ। यसको असर रात्री भोजमा पर्ने अनुमान सरिफमा परेको हुनसक्छ। भोजको केन्द्रमा मोदी रहने भए पछि सरिफले त्यसमा असहज महसुस गरेको हुनुपर्छ।

असहजता त उनले नेपाल आउनु अघि नै महसूस गरिसकेका थिए। सम्मेलन स्थल नेपाल थियो। तर यहाँ सार्कका राष्ट्राध्यक्ष र सरकार प्रमुखका लागि आवश्यक पर्ने सात वटा बुलेट प्रूफ गाडीसम्मको व्यवस्था थिएन। यही मेसोमा भारतले फिर्ता लाने गरी नेपाल सरकारलाई सार्क सम्मेलनकै लागि बुलेट प्रूफ गाडी दिएको समाचार मिडियामा सार्वजनिक भयो। भारतीय गाडीमा चढ्नु भन्दा आफ्नै गाडी चढ्‌नु वेश भन्दै उनले आफूसँगै विशेष विमानमा आफ्ना लागि गाडीसमेत ल्याए। त्यही गाडीमा अहिले उनको सवारी चलाइएको छ। 

मोदी र सरिफबीच नेपालमा वार्ता हुने कि नहुने भन्ने विषय मिडियामा चर्चा चलिरहँदा सरिफले प्रस्टरुपमा भनेका थिए, 'वार्ताका लागि हामी तयार छौं तर पहल भारतले गर्नुपर्छ।'

सरिफले दुई देशबीचको संवादको खेलमा बल मोदीको कोर्टमा फ्याँकेका थिए। भारतीय कोर्टको बल रिभर्स भएर आफ्नो कोर्टमा आउने उनको अपेक्षा त्यतिखेर खण्डित भयो जतिखेर भारतले वार्ताको विषयलाई 'इन्डोर्स' नै गरेन। यतिसम्म कि भारतीय विदेश मन्त्रालयले भन्यो, 'पाकिस्तानसँग वार्ता गर्ने कुनै अजेन्डा नै छैन।'

यस्तो अवस्थामा सार्क मुलुकको केन्द्रमा रहेको भारत र त्यहाँ जबर्जस्त स्थापित भएका मोदी र मोदीको लहरबाट टाढै रहन चाहे सरिफ।

सामरिक हिसाबले सँधै चर्चामा रहने यी दुई देश कास्मिर मुद्दाकै कारण धेरैजसो 'तनाव'मा हुने गर्छ। विश्वले पनि यी दुई देशलाई सन्तुलनमा राखेर नै हेर्ने गर्छ। पछिल्लो पटक मोदीको निम्तोमा भारत आउन तयार भएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले त्यसको जानकारी गराउन पाकिस्तानी प्रधानमन्त्रीलाई फोन गरेका थिए। पश्चिमा मुलुकका लागि रणनीतिक हिसाबले पनि पाकिस्तान र भारत शक्ति सन्तुलनका आधारमा महत्वपूर्ण मुलुक रहँदै आएका छन्।

मुम्बई हमलाको असर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संवादका लागि सहज व्यक्ति हुन्। तर, सार्क सम्मेलनको उद्घाटन त्यही दिन पर्‍यो जुन दिन ६ वर्षअघि मुम्बईमा आतंकवादी हमला भएको थियो। भारतीय पक्षले यसमा पाकिस्तानीको संलग्नतालाई इस्यु बनाउँदै आएको छ। मोदीले यसैकारण पनि भारतीय सेन्टिमेन्टलाई त्याग्न सकेनन्। फलस्वरुप संवाद संवादहीन बन्दै गयो।

यद्यपि बिहीबार मिडियाको अनुपस्थितिमा हुने रिट्रिटमा दुवै बीच अनौपचारिक कुराकानी हुने अपेक्षा गरिएको छ।  १२ वर्षअघि नेपालमै भएको सम्मेलनमा तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीले रिट्रिटमा सहभागी हुन अस्वीकार गरिएको छ। बुधबार साँझसम्म मोदी र सरिफले धुलिखेलमा बिहीबार बिहान हुने रिट्रिटमा सहभागी हुन अस्वीकार गरिसकेका छैनन्। रिट्रिट शिखर बैठकको औपचारिकताहरुबाट टाढा रही अनौपचारिक रुपमा राष्ट्राध्यक्ष र सरकार प्रमुख नजिकिएर भलाकुसारी गर्ने अवसर हो।