हसिना विना नै सार्क राष्ट्राध्यक्षको धुलिखेलमा ‘रिट्रिट’

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014
हसिना विना नै सार्क राष्ट्राध्यक्षको धुलिखेलमा ‘रिट्रिट’
अपडेट: हिजो एक अर्काको मुखसमेत नहेरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आज धुलिखेलमा सँगै फोटो खिचाएका छन्। सार्क मुलुकका प्रमुखहरु अहिले धुलिखेलमा जारी रिट्रिटमा सहभागी छन्।

Tata
GBIME
Nepal Life


काठमाडौं । सार्क राष्ट्रका प्रमुखहरु रिट्रिटका लागि धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा पुगेका छन् । उनीहरु त्यहाँ नेपाली सेनाको हेलिकप्टरबाट पुगेका थिए । धुलिखेल रिट्रिटमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने गएकी छैनन् । उनी स्वास्थ्य सम्वन्धि सामान्य समस्याका कारण नगएको स्रोतहरुले बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इण्डियन एयरफोर्सको हेलिकोप्टर लिएर द्वारिकाज पुगेका छन् । उनीसँगैको हेलिकोप्टरलाई अर्को हेलिकोप्टरले रेकी गरेको थियो । बाँकी सरकार प्रमुख भने नेपाली सेनाको हेलिकोप्टरमा द्वारिकाज पुगेका हुन् ।
हेलिप्याड केही अग्लो भूमीमा छ भने रिसोर्ट केही तल छ । रिसोर्ट र हेलिप्याड नजिक पत्रकारलाई प्रवेश गर्न नदिइएको पहिलोपोष्ट सहकर्मी रविराज बरालले जानकारी दिए । 
रिसोर्ट नजिक भारतीय मिडियाको घुइँचो छ भने नेपाली मिडियाले पनि पछ्याइरहेका छन् । यहाँ भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीवीच अनौपचारिक वार्ता हुने सम्भावना छ ।

सार्क देशका राष्ट्रप्रमुखलाई विमानस्थलबाट धुलिखेल पुर्याइएको हो । त्यसका लागि विमानस्थल बिहान आठदेखि दश बजेसम्म बन्द गरिएको छ । उनीहरु दिउँसो एक बजेसम्म धुलिखेलमा रहनेछन् । धुलिखेलबाट एक बजे सार्क राष्ट्रप्रमुखहरु फर्कने कार्यक्रम छ ।
उनीहरु फर्कने समयमा पनि दिउँसो एक बजेदेखि १.४५ बजेसम्म पनि विमानस्थल बन्द गरिएको छ । धुलिखेलबाट फर्किएपछि सार्कको अर्को सेसन सुरु हुनेछ । यो सेसनले काठमाडौं घोषणापत्र जारी गर्नेछ । साँझ राष्ट्रपति रामवरण यादवले सार्क देशका प्रमुखहरुलाई ‘डिनर’ दिने कार्यक्रम छ ।