भारतको चेन्नाईमा रहेको नोकियाको ह्यान्डसेट फ्याक्ट्री लाभाले किन्ने, कम्पनीबीच गोप्य सम्झौता

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014
भारतको चेन्नाईमा रहेको नोकियाको ह्यान्डसेट फ्याक्ट्री लाभाले किन्ने, कम्पनीबीच गोप्य सम्झौता


नयाँ दिल्ली। मोबाइलको बजारमा द्रुत गतिमा आफ्नो बजार बढाउँदै गएको लाभाले नोकियाको चेन्नइमा रहेको फ्याक्ट्री खरिदको लागि कुरा गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

केही वर्षअघिसम्म संसारकै नम्बर एक ह्यान्डसेट निर्माता नोकियाको ठूलो फ्याक्ट्री अहिले भने सञ्चालनमा छैन। कन्ट्रयाक म्यानुफ्याक्चर (उत्पादक) को रुपमा रहेको माइक्रोसफ्टले पनि गत कात्तिक १५ (नोभेम्वर १) गतेदेखि फ्याक्ट्री बन्द गरेको थियो ।

यदि लाभाले नोकियाको फ्याक्ट्री किन्ने सम्झौता गरेमा फ्याक्ट्रीमा काम गरेका पूर्व कामदारहरुले फेरी काम पाउने थिए भने उत्पादन सार्मथ्यको आधारमा यो भारतकै नमूना बन्ने थियो। सो फ्याक्ट्रीमा करिब छ हजार छ सय मानिसले रोजगारी पाएका थिए ।

दुई कम्पनीबीच गोप्य सम्झौता भएको छलफलमा सहभागीहरुले जानकारी दिएको दि इकोनोमिक टाइम्स्‌ले जनाएको छ । लाभाका प्रतिनिधिहरुले फ्याक्ट्रीको अनुगमन र मूल्यांकन गरिसकेका छन्।

'नोकियालाई लाभाले डिसेम्बर मध्यसम्ममा प्रस्ताव पठाउने छ,' स्रोतलाई उद्धृत गर्दै टाइम्स्‌ले लेखेको छ । अन्तिम सम्झौताअघि करको विषयमा कुरा मिल्न बाँकी रहेको बताइएको छ।

गत वर्ष नोकियाले माइक्रोसफ्टलाई प्लान्ट बेचेको थियो । माइक्रोसफ्टले आगामी दिनको लागि सेट तथा उपकरण माग नभएको जनाएपछि नोकियाले श्रीपेरुमबुदुरबाट उत्पादन गर्दै आएको सबै उपकरणहरुको उत्पादन बन्द गरेको थियो ।

नोकियाले सन् २००६ देखि चेन्नाईमा मोबाईल सेट उत्पादन सुरु गरेको थियो ।  यहाँबाट नोकियाले माइक्रोसफ्टको लागि सामान उत्पादन गर्दै आएको थियो । तर माइक्रोसफ्टले उत्पादनहरु गत अप्रिलदेखि नै खरिद गर्न छाडेको थियो । त्यसैले तत्काल उत्पादन आवश्यकता पूरा गर्न र कारखाना सञ्चालनको लागि नोकियाले माइक्रोसफ्टसँग सङ्क्रमणकालीन सेवा सम्झौता गरेको थियो ।

बजारमा एन्ड्रोइड र आईफोन जस्ता स्मार्टफोन आउनथालेपछि सन् २००७ देखि नै नोकियाले बजार हिस्सा गुमाउँदै गएको छ । अहिले बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा स्मार्टफोनको छ भने नोकिया पाँचवटा सबैभन्दा बढी बिक्री हुने मोबाइल ब्राण्डबाट बाहिर निस्किसकेको छ । यसको बजारमा तीन प्रतिशत मात्र सेयर छ ।

नोकिया र सरकारबीच करको विषयमा विवाद छ। यही विवादको कारण फिनल्याण्डको स्वामित्वमा रहेको  कम्पनीले यो फ्याक्ट्रि माइक्रोसफ्टलाई बिक्री गर्न पाएको थिएन। माइक्रोसफ्टसँग नोकियाले आफ्ना विभिन्न व्यवसायिक प्लान्ट लगायत सात दशमलव २ अर्ब डलरमा बिक्री गर्ने सम्झौता गरेको थियो।

यो उद्योगको बिक्री पनि त्यही सम्झौताको एक हिस्सा थियो। अदालतमा करको मुद्दा चलिरहेको छ। अर्को स्रोतका अनुसार नोकियाको फिनल्याण्डको एम एण्ड ए टिमका उच्च पदथ्य कार्यकारी हाल लाभासंगको सम्झौताको लागि भारत आएका छन्।

मूल्यांकनको क्रममा १० देखि १२ प्रतिशत ह्रासकट्टी गरिने सम्भावना छ। यस फ्याक्ट्रीको उत्पादन उच्च रहेको समयमा एक महिनामा एक करोड ५० लाख फोन उत्पादन हुने गर्दथ्यो भने यसमा आठ हजार स्थायी कर्मचारी थिए। नोकियाले हालै यस फ्याक्ट्रीको लाइसेन्स नविकरण समेत गरेको थियो।

लाभाले पनि यसअघि चाइनिज ओरिजनल इक्विपमेन्ट म्यानुफ्याक्चरर भिभोसँग उत्पादन युनिट स्थापनाको लागि कुरा अगाडी बढाएको थियो। तर यो योजना पनि बीचैमा टुंगिएको थियो। नोकियासँगको सम्झौता हुनेमा लाभा आशावादी छ, तर यदि यस्तो नभएमा पनि नयाँ प्लान्ट बनाउने र यसको लागि जग्गाको समेत छनौट गरिसकिएको दि इकोनोमिक टाइम्स्‌ले उल्लेख गरेको छ ।

भारतमा लाभा स्मार्टफोनको बिक्रेताको श्रेणीमा तेस्रो स्थानमा छ। नोयडामा मुख्य कार्यालय रहेको लाभाको अध्यक्ष र प्रबन्ध निर्देशक हरीओम राई हुन् ।

कम्पनीले सन् २००९ देखि जोलो र लाभा ब्रान्डका मोबाइल उत्पादन गरिरहेको छ। लाभाले चालु आवको अन्त्यसम्ममा ६० अर्ब भारु बराबरको उत्पादन गर्ने लक्ष्य लिएको छ। गत वर्ष भने लाभाले २९ अर्ब नौं करोड भारुबराबरको उत्पादन गरेको थियो।