सार्क सम्मेलन समापनमा मिले मोदी र सरिफको हात, सार्क सम्मेलन समापन, काठमाडाैं घोषणापत्र जारी

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014

काठमाडौं । सार्क सम्मेलनको समापन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएका छन् । उनीहरुले हँसिलो अनुहारमा हात मिलाउँदै र केही सेकेन्ड कुराकानी गरे ।  उद्घाटनसत्रमा हात समेत नमिलाएको भन्दै निकै आलोचना भएको थियो ।

हेर्नुहोस् भिडियो

Tata
GBIME
Nepal Life

समापन समारोहमा क्षेत्रीय स्तरमा प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा सार्क सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुले हस्ताक्षर गरेका छन्।

सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरुको बैठकले सम्झौतालाई पारित गरेको थियो । यो सम्झौतासँगै सार्क राष्ट्रबीच साझा ग्रीडमार्फत विद्युत आदान प्रदान हुनेछ।
सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले, अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बंगलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतकी विदेश मन्त्री सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका विदेश मन्त्री मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिसले हस्ताक्षर गरे ।

यो सम्झौता भएपछि सार्कका आठ देशबीच विद्युतीय प्रसारण लाइन निर्माणको बाटो खुलेको छ भने एक देशबाट अर्को देशमा विद्युत आपुर्तिको बाटो पनि खुलेको छ।

दुई वर्षपछि पाकिस्तानमा भेट्ने बाचा गर्दै छुट्टिएका दक्षिण एसियाली मुलुकका नेताहरु अरु दुई आर्थिक सम्झौता गर्न भने असफल भए।

यसअघि सार्क राष्ट्रबीच सडक सञ्जाल विस्तार गर्ने र रेलवे च्यानल विस्तार गर्ने भनिएपनि यो विषयमा भने सहमति हुन सकेन। यी विषयमा सार्क राष्ट्रका यातायातमन्त्रीबीच तीन महिनिभत्रमा बैठक गरी सहमति गर्ने निर्णय भएको प्रधानमन्त्री सुशील कोइरालाले बताए।

समापन समारोहलाई सम्बोधन गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कोइरालाले सार्कले गरेका प्रतबद्धता कार्यान्वयनको समय आएको बताए। दक्षिण एसियाको सामाजिक र आर्थिक एजेण्डालाई अघि बढाउन र यसको विकासमा सार्क सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री कोइरालाले संयुक्त पहल भए यो क्षेत्रले ठुलो उपलब्धी हासिल गर्ने बताए।

शान्ति र समृद्धिको नारालाई कार्यान्वयन गर्न यो सम्मेलन महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्री कोइरालाले सार्क राष्ट्रका नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

दक्षिण एसियाको मानव संशाधनको विकास अझै कमजोर रहेको भन्दै प्रधानमन्त्री कोइरालाले सबै मिलेर यो क्षेत्रको गरीबी निवारणमा लाग्नुपर्ने बेला आएको बताए ।
समापन समारोहमा आगामी सार्क सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने निर्णय भएको छ।

१९औं सम्मेलनको आयोजक राष्ट्रका हैसियतमा समापन भाषण गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपालले गरेको स्वागतको उच्च प्रशंसा गरे । कोअपरेसनको नयाँ च्यालेन्ज सुरु भएको बताए ।


 

हेर्नुहोस् सार्क सम्मेलन समापनको भिडियो