काठमाडौं। ओरालो लागेको बजारमा कम्पनीहरुको सेयर मूल्य सस्तो दरमा पाइन थालेपछि ठुला संस्थागत लगानीकर्ताले किन्न थालेका छन्।
बजार लगातार ओरालो लागेको मौका छोपेर सस्थागत लगानीकर्ता सेयर किन्न लागेका हुन्। लगानीको पर्याप्त क्षेत्र नभएको र मुद्दती बचतमा व्याज थोरै कारण बीमा कम्पनीहरुले सेयरमा लगानी बढाइरहेको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका कामु महाप्रबन्धक मनोज कुमार लाल कर्ण बताउँछन्।
.jpg)
सेयरमा लगानी जोखिमकै रुपमा नै हेरिन्छ। तर बीमा कम्पनीहरु दीर्घकालिन लगानीकर्ता भएकोले सेयरमा यति जोखिम छैन। 'हामीले दैनिक सेयर किनबेच गर्ने टे्रडर होइनौं, त्यसैले डराउनु पर्ने अवस्था छैन, कर्णले भने, अहिले बजार घटिरहेकोले पनि हामीलाई यो लगानीको अवसर बनेको छ।'
बीमा कम्पनीले सेयरमा लगानी गर्न पाउँने सीमा बढेकोले पनि कम्पनीहरुलाई लगानी थप्न सजिलो भएको छ।
बीमा समितिले गत असोजमा बीमा कम्पनीहरुले सेयरमा लगानी गर्न पाउँने सीमा बढाएको थियो। अहिले बीमा कम्पनीहरुले साधारण सेयरमा कुल लगानी रकमको १० प्रतिशत रकम लगानी गर्न पाएका छन्। यसअघि कुल लगानीको पाँच प्रतिशत साधारण सेयरमा लगानी गर्न पाँउने व्यवस्था थियो।
सेयर ब्रोकर प्रियराज रेग्मी अहिले नियमित लगानीकर्ताहरुले नै सेयर खरिद गरिरहेको बताउँछन्। केही सामूहिक लगानी कोषले पनि सेयर खरिद बढाइरहेका छन्। 'नयाँ आएका सामूहिक कोषका योजनालाई घटेको बजार लगानीको अवसर बनेको छ, उनीहरुले पनि केही लगानी बढाइरहेका छन', रेग्मीले बिजमाण्डूसँग भने।
नयाँ आएका योजनाहरुले समेत आफ्नो लगानीको करिब ४० प्रतिशत रकम सेयरमा लगानी गरेकोे कात्तिकसम्मको वित्तीय विवरणमा देखिन्छ। ठुला लगानीकर्ताले पनि उचित समय हेर्दै लगानी गरिरहेका छन्, मूल्य घटबढ भइरहेकोले बजार अझै केही घटेमा लगानी थप बढाउने सोचमा ठुला लगानीकर्ताहरु समय कुरिरहेको ब्रोकरहरुको अनुमान छ। कतिपयले थोरैथारै परिमाणमा सेयर किनिरहेका पनि छन्, ती ब्रोकरले भने।
व्यक्तिगत लगानीकर्ताहरुमध्ये धेरैले अहिले पर्ख र हेरकै रणनीति अपनाइरहेका छन्। यही कारण बजारमा कारोबार रकम भने बढ्न सकेन। धेरै लगानीकर्ताले सेयर नामसारीमा पठाएकाले उनीहरुलाई लगानी अभाव पनि देखिएको छ र थप पूँजी लगाउन भने समय कुरिरहेका देखिन्छन ब्रोकरहरुले भने। व्यक्तिगत लगानीकर्तासँग पुँजीको अभाव र बजारको दिशा स्पष्ट नहुँदा धेरै रकमको कारोबार हुन सकेको छैन।
मूल्य घट्ने क्रममा रहेपछि लगानीकर्ताको सम्पत्तीमा बुधवारसम्म दुई खर्ब ३७ अर्ब रुपैयाँ कमि आएको छ। गत साउन पाँच गते नेप्से परिसूचक १०८३ विन्दुमा पुग्दा११ खर्ब छ अर्ब रुपैयाँको कुल बजार पूँजीकरण रहेकोमा बुधवार यो रकम आठ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित भयो। कम्पनीहरुको अन्तिम मूल्यको आधारमा सुचीकृत सबै सेयरको मूल्यांकन गरेर त्यस दिनको लागि कुल बजार पूँजीकरण निकालिन्छ।
उचाईको तुलनामा कुल बजार पूँजीकरण २२ प्रतिशतले घटेको छ। यसले सुचीकृत कम्पनीहरुको सेयर मूल्यमा पनि सरदर २२ प्रतिशतले कमि आएको संकेत गर्छ।











